काठमाडौँ । सल्यानको सिद्ध कुमाख गाउँपालिका– ४ का चादे, करेंजी र खार्बन गाउँका करिब ३०० घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । ती गाउँहरूमा ३ वटा ट्रान्सफर्मरसहितका वितरण लाइन विस्तार गरी नेपाल विद्युत् प्राधिकरणले बिजुली पुर्याएको हो ।
गाउँपालिकाका अध्यक्ष भरत गरिले एक कार्यक्रमका बीच बत्ती बालेर विद्युत् सेवाको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्राधिकरणको सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलसहित केन्द्रका कर्मचारी, वडा अध्यक्ष खर्कवीर रोका, निर्माण व्यावसायिक कम्पनीका प्रतिनिधि हुकुम बुढाथोकी तथा स्थानीयबासीको उपस्थिति थियो ।
केन्द्र प्रमुख रावलका अनुसार विद्युत्को वितरण संरचना पर्याप्त नभएका कारण अझै पनि सबै घरधुरीमा विद्युत् पुर्याउन सकिएको छैन । यद्यपि, विद्युत् पुगेका घरधुरीका परिवारले मिटर जडान गरी विद्युत् सेवा उपभोग गर्न पाउने भएकाले खसी भएका छन् ।
उनका अनुसार विद्युत् पुगेपछि केही घर परिवारले मिटर जडान गरिसकेको र अधिकांशले जडान प्रक्रिया सुरु गर्ने तयारीमा छन् । विद्युत् पुगेपछि सो क्षेत्रका स्थानीयले ग्रामीण एवम् दुर्गम बस्तीहरू उज्यालोका साथ ग्रामीण उद्योग व्यवसायका लागि समेत विद्युत् प्रयोग गर्न सक्ने भएका छन् । साथै, सुन्तला खेतीका लागि उर्वर मानिएको उक्त क्षेत्रमा अब विद्युतीय मोटर जडान गरी सिँचाइ सुविधा समेत उपभोग गर्न पाइने भएको छ ।
वर्षौँदेखि सोलारजस्ता वैकल्पिक विद्युत् स्रोतको अपर्याप्त विद्युत्बाट जीवन निर्वाह गर्दै आएका यहाँका स्थानीयले अब विद्युतीय उपकरणको प्रयोग समेत भरपुर रूपमा गर्न पाउने भएका छन् ।
गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरूको सहजीकरण, निर्माण व्यवसायीको सक्रियता एवम् कार्यालयको अग्रसरताले विभिन्न बाधाहरू चिर्दै विद्युत् सेवा सुचारु गर्न सफल भएको केन्द्रका प्रमुख रावलले जनकारी दिए ।