काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) को २४ औ बार्षिक साधारणसभा एवम् आठौ अधिवेशनबाट मोहनकुमार डाँगीको नेतृत्वमा २५ नयाँ कार्यसमिति चयन भएको छ । साधारणसभबाट पारित विधानअनुसार अब ९औँ अधिवेशनबाट निर्वाचित हुने पदाधिकारी तथा कार्यसमिति सदस्यमा खुलारूपमा सबैले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुने भएको छ ।
वार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधानअनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी उपाध्यक्ष सङ्ख्या ७ पुर्याइएको छ । यस्तै, सचिवमा कृष्णप्रसाद घिमिरे र दीपक पोडेललाई थप गरी सचिव पनि ७ पुर्याइएको छ ।
संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागूह हुने गरी स्थायी आमन्त्रित सदस्यको रूपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ । इपानका निवर्तमान अध्यक्ष गणेश कार्कीले इपानभित्र सबै अटाएर सर्वसहमत रूपमा अघि बढ्ने गरी विधान शंसोधन गरी सहमतिको आधारमा दुई उपाध्यक्ष, दुई सचिव र पाँच स्थायी आमन्त्रित सदस्य मनोनयन गर्ने सहमति भएको जानकारी दिए ।
यो पनि पढ्नुहोस्ः इपानमा नयाँ अध्यक्ष डाँगी तथा वरिष्ठ उपाध्यक्ष लामा, कोषाध्यक्षबाहेकका पदमा सर्वसम्मत
इपानले वार्षिक साधारणसभाबाट वरिष्ठ अध्यक्ष हुने इपानको विधान २०७८ लाई संशोधन गरी सबै पदमा चुनाव गराउने गरी व्यवस्था गरेको छ । अध्यक्षको हकमा भने एक कार्यकाल कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
इपानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आवद्ध हुन नहुने र कुनै समयमा भएको भए त्यागेको प्रमाण पेश गर्नुपर्ने पनि संशोधित विधानमा उल्लेख छ ।