काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीको मर्मत तथा सुधारका लागि विभिन्न स्थानमा दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत रत्नपार्क वितरण केन्द्रले विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा मर्मत कार्य गर्न कात्तिक १३ गतेदेखि २० गतेसम्म तोकिएका दिनमा विद्युत् आपूर्ति बन्द गर्ने भएको हो ।
प्राधिकरणका अनुसार सम्बन्धित फिडरअन्तर्गतका विभिन्न स्थानमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । निर्धारित तालिकाअनुसार हरेक दिन फरक–फरक फिडरमा मर्मत कार्य गरिनेछ ।
प्राधिकरणका अनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई हिमन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । कात्तिक १४ गते सिनामङ्गल फिडरअन्तर्गत कन्कोर्ड रिहाउजिङ सबस्टेसन क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
त्यस्तै, कात्तिक १५ गते कलंकी, थानकोट तथा चपेखा फिडरअन्तर्गत कलंकी चोकदेखि बुङ्गेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्वयम्भू सबस्टेसनसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिनायक बनसम्म तथा कात्तिक १८ गते सुन्धारा फिडरअन्तर्गत धोबीगिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
यसैगरी, कात्तिक १९ गते स्वयम्भू–एसएस फिडरअन्तर्गत हाइभा पुल क्षेत्र र कात्तिक २० गते पुनः शंखमूल फिडरअन्तर्गत धोबीगिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने तालिका सार्वजनिक गरिएको छ ।
प्राधिकरणले तोकिएको तालिकाअनुसार मर्मत कार्य सम्पन्न गर्ने जनाएको छ । साथै, निर्धारित समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा तोकिएको समयअघि नै विद्युत् आपूर्ति सुचारु गरिने स्पष्ट पारेको छ ।
विद्युत् आपूर्ति अवरुद्ध हुने क्षेत्रमा रहेका ग्राहकलाई सोहीअनुसार आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ ।