काठमाडौँ । नबिल बैंक लिमिटेडले स्थापना भएको ४२ वर्ष पूरा गर्दै बैंकिङ एण्ड बियोन्ड अवधारणामार्फत परम्परागत बैंकिङभन्दा माथि उठेर प्रविधिमैत्री, समावेशी र भविष्यकेन्द्रित वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । सोही अवसरमा बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) लाई आगामी रणनीतिक रूपान्तरणको केन्द्रमा राख्दै ग्राहक अनुभव, जोखिम व्यवस्थापन र वित्तीय समावेशीकरणलाई नयाँ उचाइमा पुर्याउने योजना सार्वजनिक गरेको हो ।
वार्षिकोत्सवका अवसरमा अध्यक्ष निर्वाणकुमार चौधरीले बैंकको सबैभन्दा ठूलो सम्पत्ति ‘विश्वास’ भएको उल्लेख गर्दै विगत चार दशकमा बैंकले परिवर्तनको प्रतीक्षा नगरी त्यसको नेतृत्व गर्दै आएको बताए । उनले नबिलले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा आधुनिक बैंकिङको आधार निर्माण गरेको, डिजिटल बैंकिङ प्लेटफर्म मार्फत नयाँ स्तरमा पुर्याएको तथा अहिले एउटै वित्तीय समूहअन्तर्गत वाणिज्य बैंकिङ, लगानी बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने नेपालको एकमात्र वित्तीय इकोसिस्टमका रूपमा स्थापित भएको दाबी गरे ।
बैंकिङ क्षेत्र अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गरिसकेको छ,' उनले भने, 'एआईले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, सञ्चालन प्रणाली तथा ग्राहकको वित्तीय अनुभवलाई पुनःपरिभाषित गरिरहेको छ ।' एआईलाई केन्द्रमा राखेर द्रुत कर्जा स्वीकृति, स्मार्ट जोखिम व्यवस्थापन, व्यक्तिगत ग्राहक सेवा, वित्तीय पहुँच विस्तार तथा साइबर सुरक्षामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।
यसैगरी, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंक केवल बैंकिङ सेवा प्रदायक संस्था नभई ग्राहकको सपना र सफलताको यात्रामा साझेदार रहेको बताए । ग्राहकको बदलिँदो आवश्यकता र दिगो आर्थिक विकासलाई प्राथमिकतामा राख्दै बैंकले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरेको पनि जानकारी दिए ।
बैंकले अहिलेसम्म कृषि क्षेत्रमा रु. ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा रु. ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्योगमा रु. ४५ अर्ब ९२ करोड, र पर्यटन क्षेत्रमा रु. ११ अर्ब १० करोड कर्जा प्रवाह गरिसकेको छ । ऊर्जा क्षेत्रमा मात्रै भएको यति ठुलो लगानीले जलविद्युत् तथा नवीकरणीय ऊर्जा विकासमा निजी बैंकहरूको भूमिका थप बलियो बन्दै गएको देखिन्छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०४१/४२ मा रु. २ करोड ८० लाख नेटवर्थ रहेको बैंकको कुल नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा रु. ७० अर्ब ८३ करोड पुगेको छ । सोही अवधिमा खुद नाफा रु. १० लाखबाट बढेर रु. ६ अर्ब ७६ करोड पुगेको छ ।
त्यस्तै, बैंकको निक्षेप रु. १४ करोड ६० लाखबाट बढेर रु. ५ खर्ब ८८ अर्ब ८५ करोड, कर्जा रु. १३ करोड ३० लाखबाट रु. ४ खर्ब ६४ अर्ब १० करोड तथा कुल सम्पत्ति रु. २६ करोड ९० लाखबाट रु. ७ खर्ब १८ अर्ब ४२ करोड पुगेको बैंकले जनाएको छ ।
हाल बैंकको देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर तथा २,४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान भइरहेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विशेष ग्राहकमुखी योजनाहरू पनि सार्वजनिक गरेको छ ।
हेटौँडा र वीरगञ्जमा सडक विस्तारबाट प्रभावित परिवारका लागि सहुलियतपूर्ण पुनःनिर्माण घर कर्जा योजना ल्याइएको छ । साथै, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट, क्रेडिट कार्ड आवेदन तथा सदस्यता शुल्कमा विशेष सहुलियत र वार्षिकोत्सवकै दिन आवेदन दिने ग्राहकका लागि चार वर्षसम्म डेबिट कार्ड प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकले आगामी दिनमा डिजिटल बैंकिङ, एआई प्रविधि, दिगो बैंकिङ र उत्पादनशील क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकतामा राख्दै नेपालको सबैभन्दा विश्वासिलो र भविष्यका लागि तयार बैंक बन्ने लक्ष्यसहित अघि बढ्ने जनाएको छ ।