दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ४ गुमुखोलामा निर्माणाधीन गुमुखोला साना जलविद्युत् आयोजनाको निर्माण पूरा भई उपकरण परीक्षण सुरु भएको छ । ९९० किलोवाटको आयोजनाको अहिले विद्युत्गृहमा जडित उपकरण परीक्षण भइरहेको हो ।
गुमुखोला भ्याकुरे हाइड्रोपावर प्रालिले प्रवद्र्धित आयोजनाको यस अघि झमार्सी गाईघाटमा निर्माणको हेडवक्सको बाँध, इन्टेक लगायतका संरचनाको परीक्षण भइसकेको छ । कम्पनीका अध्यक्ष उत्तम श्रेष्ठका अनुसार आयोजनाको सिभिल, मेकानिकलको काम पूरा भएपछि अहिले ड्राइ परीक्षण भइरहेकाले केही दिनमै पानी हालेर सबै संरचनाको परीक्षण हुनेछ । यसक्रममा कुनै समस्या नदेखिए आगामी साउनभित्रै विद्युत् उत्पादन गर्ने योजना रहेको छ ।
गाईघाटस्थित बाँधदेखि कुभिण्डेको विद्युत्गृहसम्म २ हजार मिटर पेनस्टक पाइप जडान भएको छ । उत्पादित विद्युत् ४ किलोमिटर टाढाको नेपाल विद्युत् प्राधिकरणको सिंगटी सब स्टेसनमा जोडिनेछ । विद्युत प्रसारण गर्न ३३ केभी प्रसारण लाइनको काम पूरा भएको उनले बताए ।
१७२ हेड रहेको आयोजनाको लागत २१ करोड अनुमान गरिए पनि बढेर २५ करोडसम्म पुग्ने कम्पनीका सञ्चालक चित्रकुमार श्रेष्ठले बताए । ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजीको हिसाब अनुसार राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको छ ।