विद्युत अपडेट

  • प्राधिकरण : १०२१९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०११४ मे.वा.घन्टा
  • आयात : ६१४ मे.वा.घन्टा
  • निर्यात : ९०८६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४३८०६ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १९३९ मे.वा.
२०७९ असोज २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता उहिलेकाे खबर

कुरा आजभन्दा ११० वर्ष अघिको हो, जतिबेला विश्व मानचित्रमा एउटा सानो देश नेपालमा जहाँनिया राणा शासन थियो । राजा नाममात्रका श्री ५ पृथ्वीविरविक्रम शाह थिए भने देशको सम्पूर्ण राजकीय अधिकार राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबरामा थियो । नेपाल कसैको औपनिवेशिक नभई एक स्वतन्त्र राष्ट्र भएता पनि विकास निर्माणमा बेलायतकै प्रभाव थियो । श्री ३ महाराजाहरू बेलायत भ्रमण गरिरहन्थे र उतैका विकास निर्माणबाट प्रभावित भई त्यसकै नक्कल गर्ने प्रयास गर्थे ।

जलविद्युतको इतिहास हर्दा सो समयमा उत्तरी छिमेकी देश चीनको कुन्मिङ्ग राज्यमा सन् १९११ मा २४० किलोवाट क्षमताको सिलोंग्वा नामको पावरहाउस बनेको थियो भने दक्षिणी छिमेकी भारतमा १३० किलोवाट क्षमताको सिद्रापोङ्ग पावरहाउस दार्जिलिङ नजिकै सन १८९७ मै बनेको देखिन्छ ।

नेपालमा भने सन १९११ अर्थात् वि.सं. १९६८ मै दुई छिमेकी देशको भन्दा ठूलो क्षमताको (५०० किलोवाट) फर्पिङ पावरहाउस राजधानी काठमाडैं नजिकै निर्माण सम्पन्न गरी हालको नेपाल विद्युत प्राधिकरणकै प्रधान कार्यालय छेउको टुँडिखेलमा श्री चन्द्र ज्योती प्रकाश बिजुलीको नाममा उद्घाटन भएको थियो । यसरी यसलाई एसियाकै दोस्राे पुरानो जलविद्युतगृह मानिएको छ ।

स्थापनाको पृष्ठभूमि हेर्दा वि.सं. १९६४ तिर राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर बेलायत भ्रमण गरेर फर्किनासाथ काठमाडैंको करिब १७ कि.मि. दक्षिणमा पर्ने फर्पिङ क्षेत्रमा स्थानीय साना तीन खोला खोल्साहरू (जस्तैः कुटली, सातमूले र शेषनारायण) को पानी जम्मा गरी-बिजुली निकाल्ने कुरा नेपाली ईन्जिनियर कर्णेल किशोर सिंह राणाले योजना बनाई लागत ईष्टिमेटसमेत तयार गरोको र उक्त योजनालाई कार्यान्वयन गर्न बेलायतको जनरल ईलेक्ट्रीक (GE) कम्पनीबाट लिन्जाले नामका अंग्रेज ईन्जिनियर झिकाइएको थियो ।

यसलाई योजना बनाई निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्न ४ वर्ष मात्र लागेको देखिन्छ । यसका मुख्य संरचनाहरूमा ५,२८,७८३ क्यूफिट पानी अट्ने २०० फिट व्यासको र १८ फिट गहिरो गोलाकार जलाशय, २५३८ फिट लामो २० इन्चको स्टील पेनस्टक पाइपमार्फत पावरहाउस रहेको २५० किलोवाट क्षमताका दुईटा पेल्टन टर्बाइनमा २८८ पिएसआई (PSI) को प्रेसर अर्थात् करिब ६८२ फिटको ग्रस हेडले हान्दा, ३ फेजको ११ हजार भोल्ट निकाल्ने गरी ६०० (RPM) सिन्क्रोनस स्पिडमा घुमाउने गरी जनरल ईलेक्ट्रिकको जेनेरेटरको जडान गरिएको थियो ।

उक्त उत्पादित विद्युत शक्तिलाई काठ र स्टीलका पोलहरू गाडी ७ माइल लामो ११ के.भी. ट्रान्समिसन लाइनमार्फत टुँडिखेल सबस्टेसनमा ल्याई २३०० भोल्टमा स्टेप-डाउन गरी शहरका मुख्य भाग, राणा, राजाका भाइभारदारका दरबरसम्म पुर्याइएको थियो । यसरी नेपाली ईन्जिनियरले बनाएको योजना, डिजाइन र ईष्टिमेटलाई अंग्रेज ईन्जिनियरले सामान्य हेरफेरमात्र गरी कार्यान्वयन गरेबाट सो समयमा समेत नेपाली प्राविधिकहरूको उत्कृष्ठ कार्यक्षमता बारे अनुमान गर्न सकिन्छ ।

ईन्जिनियर प्वान्टेले उद्घाटन क्रममा दिएको जानकारी अनुसार करिब साढे नौ लाख मानिसहरूको श्रमदानबाट साढे २० महिनामा उक्त योजना सम्पन्न गरिएको थियो । मुख्य पक्ष त त्यत्रो नयाँ र बृहत् निर्माण कार्यमा कसैलाई ठूलो चोटपटक वा कुनै दुर्घटना भएन । बेलायतदेखिकै सामानहरू कलकत्ता, भीमफेदी हुँदै साइटसम्मको आयात तथा दुवानी खर्च पावरहाउस, जलाशय, सबस्टेसन, प्रसारण तथा वितरण लाइन तथा संरचना, ज्यामी आदिको कूल खर्च रू. ७,१३,२७३.८२ मात्र लागेको थियो । जसमध्ये करिब आधा रकम नेपालभित्रै खर्च भएको थियो ।

उक्त कूल लागतमा टर्बाइन, जेनेरेटर जस्ता मुख्य उपकरणहरूको खर्च जोडिएको छैन अर्थात् ती सामान बेलायत सरकारले अनुदानमा दिएको देखिन्छ । मिष्टर प्वान्टेको मुख्य भूमिका विद्युतगृह निर्माणमा थियो भने मेसिन उपकरणहरूको जडान तथा सञ्चालन गर्न अर्का अंग्रेज ईन्जिनियर लिन्जाले बोलाइएका थिए ।

श्री ३ राणा सरकारका भाइभारदारहरू समेत यो पहिलो बृहत् योजनामा खटिएका थिए । जस्तैः निर्माण कार्यको निरिक्षण जनरल पद्म शमशेर, आवश्यक सामानहरूको आपूर्ति तथा उपलब्धिमा जनरल मोहन शमशेर, सामान अर्डर गर्ने चलान गर्ने, जहाज चढाउने जस्ता बन्दोबस्तीमा जनरल केशर शमशेर, ईन्जिनियरमा कर्णेल किशोर नरसिंह राणाका सहयोगीमा कुमार नरसिंह राणा लगायत नेपाली कामदारहरू सहित केही भारतीय मिस्त्रीहरू पनि यो पहिलो विद्युत आयोजना सम्पन्न गर्ने कार्यमा संलग्न थिए ।

उक्त चन्द्रज्योति बिजुलीको औपचारिक उद्घाटन वि.सं. १९६८ जेष्ठ ९ गते सोमबार साँझ ५ बजे टुँडिखेलमा विशेषरूपमा सजाइएको मञ्चमा जंगी, निजामती कर्मचारीहरू साहू-महाजन, पण्डित, उच्चपदस्थ राणा तथा जनरल र कमाण्डर-इन-चीफहरू लगायत ठूलो संख्यामा सर्वसाधारणहरू समेतको उपस्थितिमा श्री ३ चन्द्रशमशेरको उपस्थितिमा श्री ५ राजा पृथ्वीविरविक्रम शाहबाट भएको थियो ।

टुँडिखेलको पूर्वतिर रहेको सबस्टेसन र वारपर झिलिमिलि बत्तिहरू सो उद्धाटनपश्चात् एक हप्तासम्म बालिएका थिए । साथै उद्घाटनको दोस्रो दिन (जेठ १० गते) जंगी तथा निजामती कर्मचारीहरूलाई एक दिनको बिदा दिइएको थियो । उक्त उद्घाटनको शिलसिलामा धातुको एउटा पातामा चन्द्रज्योति निर्माण बारेको अभिलेख गरी बनाइएको ताम्रपत्र, अहिले पनि नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रको पुरानो (हाल काउन्टर रहेको) भवनको पश्चमि भित्तामा (रत्नपार्क पट्टी) राखिएको देख्न सकिन्छ ।

उक्त ऐतिहासिक धरोहर र पहिलो जलविद्युतगृह वि.सं. २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि सो जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि सो विद्युतगृहको सञ्चालन बन्द हुन पुग्यो । जलस्रोत ऐनमा समेत खानेपानीलाई जलस्रोत उपयोगमा विद्युतभन्दा महत्त्वपूर्ण प्राथमिकतामा राखिएकोले पनि यसो गरिएको देखिन्छ तर पनि ऐतिहासिक विद्युतगृहलाई चालू हालतमा राख्नुपर्ने महसुस गरी आवश्यक मर्मत संभार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा बनाइएको देखिन्छ ।

देशभर विद्युत उत्पादन बढ्दै गएपछि र खानेपानीको वितरणले सोही स्थानबाट निरन्तरता पाएपछि हाल पनि म्युजियमको रूपमा उक्त विद्युतगृह रहिरहेको छ । २०६७ सालमा १०० वर्ष पुगेको अवसरमा उक्त विद्युतगृहमा तत्कालीन ऊर्जा मन्त्रालयको संयोजकत्वमा शतवार्षिकी महोत्सव मनाएको थियो । हाल पनि बागमती प्रदेश सरकारले शतवार्षिक स्मारक रहेको स्थानमा केही जिर्णाद्वारका कार्य गरेको छ । विद्युत प्राधिकरणसँग सहकार्य र समन्वय गरी त्यहाँ रहेको विद्युत प्राधिकरणका संरचना र जग्गाहरूको समेत संरक्षण हुने गरी प्रदेश वा स्थानीय सरकारले उक्त ऐतिहासिक विद्युतगृहलाई म्युजियम तथा पर्यटकीय स्थलको रूपमा विकास र प्रवर्द्धन गर्न सके यसको पुरात्वातिक महत्त्व झन् बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit