काठमाडौँ । उपत्यकाभित्र अव्यवस्थित रूपमा झुण्डिएका तथा प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन गर्ने अभियान तीव्र पारिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा यस्तो अभियान तीव्र पारिएको हो ।
सहरी सौन्दर्य अभिवृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सडक क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको तार भूमिगत परियोजनाअन्तर्गत हाल पोलमा रहेका तारहरूको पहिचान तथा व्यवस्थापनको काम तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनएको छ ।
अभियानअन्तर्गत उपत्यकाका मुख्य क्षेत्रहरू त्रिपुरेश्वर–कालीमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुसी टाउन प्लानिङ (गोङ्गबु), कीर्तिपुर तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल खण्डमा आगामी १५ दिनभित्र चरणबद्ध रूपमा तार व्यवस्थापन गर्ने र अव्यवस्थित तारहरू हटाउने कार्य सम्पन्न गरिनेछ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सो अवधिभर सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई दैनिक रूपमा अभियानमा सहभागी हुन र आफ्ना सबै तारहरूमा स्पष्ट पहिचान खुल्ने ट्याग राख्न कडा निर्देशन दिएको छ । निर्धारित समयभित्र ट्याग नभएका वा सम्बन्धित सेवा प्रदायकका प्रतिनिधि उपस्थित नभएका कारण पहिचान गर्न नसकिने तारहरू हटाउँदा वा काट्दा हुने क्षतिको जिम्मेवारी सेवा प्रदायक स्वयम्ले वहन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
भविष्यमा नेटवर्क विस्तार, मर्मतसम्भार तथा पुनः व्यवस्थापनका कार्यहरू गर्दा नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘डाइरेक्टिभ्स फर लेइङ एन्ड मेन्टेनिङ अप्टिकल फाइबर नेटवर्क’ बमोजिम मात्रै काम गर्नुपर्ने अनिवार्य नियम बनाइएको छ । यस अभियानबाट कुन तार कुन सेवा प्रदायकको हो भन्ने स्पष्ट पहिचान स्थापित हुनुका साथै दूरसञ्चार पूर्वाधारको अभिलेखीकरण तथा नियमनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
पोल प्रयोग गरेबापतको शुल्क र अन्य दायित्व व्यवस्थापनमा पारदर्शिता बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको विद्युतीय संरचना भूमिगत गर्ने परियोजनालाई सघाउन मन्त्रालयले उच्चस्तरीय समिति गठन गरी सहजीकरण गरिरहेको छ ।