काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) बीच विद्युत् पहुँच विस्तार गर्नेलगायत विषयमा एक महत्त्वपूर्ण समझदारी भएको छ । निर्माण सम्पन्न भएका लघु तथा साना जलविद्युत् एवं सौर्य मिनीग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्नेसहितका विषयमा दुई निकायबीच हालै उक्त समझदारी भएको हो । समझदारीपत्रमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार एइपिसीको सहयोगमा निर्माण भएका ६६५ किलोवाट पिक क्षमताका ९ वटा सौर्य मिनीग्रिड आयोजनालाई नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिनेछ । साथै, बाजुरा जिल्लाको स्वामी कार्तिक गाउँपालिकास्थित २०० किलोवाट क्षमताको जुड्डी खोला साना जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न आवश्यक ११ केभी वितरण लाइन विस्तार गरिने भएको छ ।
यस्तै, जुम्लाका ५ वटा लघु तथा साना जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सम्बन्धमा आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइने भएको छ । लघु तथा साना जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने विषयमा तयार अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिई सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय र छलफलसमेत गरिने समझदारीमा उल्लेख छ ।
समझदारीअनुसार विद्युतीय चुलोको प्रवर्द्धन तथा विस्तारका लागि छनोट भएका स्थानीय तहमा हालको वितरण प्रणालीको अवस्था अध्ययन गरी आवश्यक स्तरोन्नतिका लागि नेपाल विद्युत् प्राधिकरणलाई विवरण उपलब्ध गराइने छ । साथै, एइपिसीको सहयोगमा निर्माणाधीन सामुदायिक सौर्य सिँचाइ नमुना परियोजनालाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न आवश्यक समन्वय गरिनेछ ।
दुवै निकायले विद्युत् पहुँच नपुगेका भौगोलिक क्षेत्र र घरधुरीमा ‘लास्ट माइल इलेक्ट्रिफिकेसन’ कार्यक्रमलाई संयुक्त रूपमा अघि बढाउने सहमति पनि गरेका छन् । यसका लागि लघु तथा साना जलविद्युत् तथा सौर्य मिनीग्रिड आयोजनामार्फत विद्युतीकरणलाई प्राथमिकता दिइनेछ ।
समझदारीमा उल्लेखित विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि नेपाल विद्युत् प्राधिकरणका निर्देशक टेकनाथ तिवारी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक डा. लक्ष्मणप्रसाद घिमिरेलाई समन्वय गर्ने कार्यको जिम्मेवारी तोकिएको छ ।