काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा ३ जना सञ्चालक नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत सञ्चालक नियुक्त गरेका हुन् ।
नियुक्त हुने सञ्चालकहरूमा प्राधिकरणमै ३६ वर्ष सेवा गरी निवृत्त भएका पूर्व–उपकार्यकारी निर्देशक सुनिलकुमार ढुङ्गेलसहित प्रियंका अग्रवाल र शम्भु केसी रहेको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार सञ्चालक नियुक्तिलाई प्राधिकरण बोर्ड बैठक बसेर औपचारिकता प्रदान गर्ने तयारी भइरहेको छ । बोर्ड बैठकपपछि नवनियुक्त सञ्चालकलाई नियुक्ति पत्र हस्तान्तरण गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी छ ।
सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार गत वैशाख २१ गते प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सञ्चालक सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका थिए ।
त्यसलगत्तै मन्त्री श्रेष्ठले गत वैशाख ३० गते प्राधिकरणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने गरी काठमाडौँ महानगरपालिका–१५ निवासी अंशुकिरण शाही र उपभोक्ताको तर्फबाट नागार्जुन नगरपालिका–५ निवासी कृष्ण बसेललाई सञ्चालक नियुक्त गरेका थिए ।
त्यस्तै, कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई दिएका थिए ।