काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नोपल (इपानका) का पदाधिकारीहरूले विद्युत् विकास विभागका महानिर्देशक जिबछ मण्डलसँग भेट गरी निजी ऊर्जा उद्यमीका समस्या समाधान गरिदिन आग्रह गरेका छन् । एक साताअघि मात्र महानिर्देशक नियुक्त भएका मण्डललाई बधाई तथा शुभकामना दिन बिहीबार विभाग पुगेको इपान टोलीले यस्तो आग्रह गरेको हो ।
भेटमा इपानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत् आयोजनामा प्रयोग हुने ‘टेस्टिङ किट’को आयात अनुमति विभागबाटै रोकिएको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे । त्यस्तै, जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीहरूमाथि विभिन्न शीर्षकमा जथाभावी जरिवाना लगाउन थालिएकोले त्यसलाई तत्काल रोक्न पनि उनले माग गरे ।
वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनालाई समय थपिदिनु पर्ने, बाढी पहिरो लगायत काबु बाहिरका परिस्थितिजन्य विपत्मा परेका आयोजनाको आवश्यक व्यावसायिक विद्युत् उत्पादन मिति (आरसिओडी) का साथै अनुमतिपत्रको अवधि थप गरिदिनु पर्ने, आयोजनाको अनुमतिपत्रको अवधि विद्युत उत्पादन सुरु गरेको दिनबाट गणना गर्ने व्यवस्था गर्नुपर्ने र विद्युत खरिद विक्री सम्झौता (पिपिए) पछि मात्रै उत्पादन अनुमतिपत्र जारी गर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग पूरा गर्न डाँगीले आग्रह गरे ।
महानिर्देशक मण्डलले २८ हजार ५०० मेगावाटको लक्ष्य पूरा गर्न निजी क्षेत्रको साथबिना सम्भव नहुने भन्दै वित्तीय व्यवस्थापन गर्ने कुरा प्रवर्द्धकको हातमा नभएकोले यससम्बन्धी इपानको माग विभागले सम्बोधन गर्ने आश्वासन दिए ।
त्यस्तै बाढी पहिरोजस्ता काबु बाहिरका परिस्थितीले आयोजना प्रभावित हुँदा आरसिओडी म्याद थप गर्नुपर्ने र पिपिए रोक्दा सरकारले निजी क्षेत्रमाथि विश्वास नगरेको सन्देश जाने भएकाले यी सबै माग सम्बोधन हुने बताए ।
भेटमा वरिष्ठ उपाध्यक्ष डाँगीसहित उपाध्यक्ष आनन्द चौधरी, रामप्रसाद आचार्य, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, कार्यसमिति सदस्यहरू उत्तरकुमार श्रेष्ठ, शंकर बश्याल, कुबेरमणि नेपाललगायतका पदाधिकारी सहभागी थिए ।