काठमाडौँ । देशकै पहिलो ठूलो मानवनिर्मित कुलेखानी जलाशय यसपालीको वर्षायाममा पनि भरिन नसकेपछि हिउँदको विद्युत् आपूर्तिमा समस्या आउन सक्ने देखिएकाे छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–१ र २ मा पर्ने ‘इन्द्रसरोबर’ नामको उक्त जलाशयमा हाल १ हजार ५१३ मिटर पानी भरिएको छ । कुल १ हजार ५३० मिटर जलसञ्चय क्षमता रहेको जलाशयमा अझै १७ मिटर पानी भरिन बाँकी छ । यसअघि गत वर्ष असाेजकै ११ र १२ गतेकाे वर्षापछि जलाशय भरिएर बाँधका ढाेका खाेल्नु पर्ने अवस्था आएको थियाे ।
उक्त जलाशयको पानीबाट नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको कुलेखानी प्रथम र यसका क्यास्केड आयोजनाका रूपमा ३२ मेगावाटको कुलेखानी दोस्रो तथा १४ मेगावाटको कुलेखानी तेस्रो गरी तीन वटा जलविद्युत् केन्द्र सञ्चालन गर्दै आएको छ । जलाशयमा पानीको स्तर कम हुँदा कुल १०६ मेगावाटका तीनवटै केन्द्रको उत्पादन घट्ने अनुमान गरिएको छ । यद्यपि, आगामी हिउँदमा अवस्था त्यति असहज नहुने प्राधिकरणको उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक मदन तिम्सिना बताउँछन् ।
‘अहिले विद्युत्को राष्ट्रिय प्रणालीमा धेरै नयाँ जलविद्युत् केन्द्रहरू उत्पादन थपिइसकेको छ, आगामी दिनमा अन्य आयोजनाले समेत उत्पादन सुरु गर्ने भएकोले खास समस्या हुँदैन,’ ऊर्जा खबरसँग उनले भने ।
उनका अनुसार हाल अन्य विद्युत् केन्द्रको उत्पादन उच्च भएकाले कुलेखानीलाई नचलाई जगेडाकै रूपमा राखिएको छ । उत्पादन बन्द रहेकै अवस्थामा हाल उक्त जलाशयबाट चल्ने तीनओटै विद्युत् केन्द्रका उत्पादन युनिटहरूको नियमित मर्मत–सम्भारको कार्य भइरहेको छ । दशैँपछि सुरु भएको मर्मतको काम तिहारअघि नै सकेर तीन वटै जलविद्युत् केन्द्रलाई तयारी अवस्थामा राख्न लागिएको छ ।
विगत केही वर्षअघिको विद्युत् मागको तथ्याङ्क हेर्ने हो भने तिहारको लक्ष्मीपूजा (दीपावली) को साँझ सबैभन्दा बढी विद्युत् माग हुने गरेको देखिन्छ । यस्तो अवस्थामा अन्य आयोजनाको उत्पादन घट्न गए झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहार तथा छठमा विद्युत् अभाव हुन सक्ने देखिन्छ । यद्यपि, पछिल्लो समय ऊर्जा दक्ष (विद्युत् कम खपत गर्ने) एलइडी बत्तीसहित अन्य उपकरणको प्रयोग बढेकोले पनि माग खासै नबढ्ने कार्यकारी निर्देशक तिम्सिनाको भनाइ छ ।
‘ऊर्जा दक्ष बत्ती तथा उपकरणको प्रयोगले विगतमा जस्तो लक्ष्मी पूजाकै दिन पनि विद्युत् माग उतिसारो बढ्ने देखिँदैन,’ उनले भने, ‘अर्कोतर्फ धेरै परिमाणमा विद्युत् खपत गर्ने उद्योग, कलकारखाना तथा प्रतिष्ठानहरू बिदाका कारण तिहार र छठ पर्वका अवसरमा बन्द हुने भएकोले विद्युत् माग बढ्दैन ।’
पानी पर्ने सिजन अझै बाँकी रहेकोले जलाशयमा पानीको स्तर अझ वृद्धि हुनेमा समेत प्राधिकरण आशावादी देखिएको छ ।