काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसनले भौतिक पूर्वाधार विकास कार्यालय मलगंवा, सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवको हत्याको विरोधमा देशैभर विरोधका विभिन्न कार्यक्रम गरिरहेको छ । हत्याको विरोधमा एशोसिएसनका अध्यक्ष ई. सुबासचन्द्र बरालले एक आह्वान–पत्र जारी गरी सोमबार विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए । त्यसै, अनुसार घटनाका दोषीलाई कानुनी कठघरामा ल्याई कडा सजाय दिन दबाब स्वरुप एशोसिएशनले मंगलबार देशभर विरोधका कार्यक्रम गरिरहेको छ ।
विरोध तालिका अनुसार एशोसिएशनले मंगलबार गृह मन्त्री र सबै प्रादेशिक कार्यालयअन्तर्गतका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । त्यस्तै, सम्पूर्ण इन्जिनिर मंगलबार कालोपट्टी बाँधेर काम गर्ने तथा दिउँसो १ बजेदेखि ३ बजेसम्म पेनडाउन गरी कामकाज ठप्प पार्ने पूर्वधोषित विरोधका कार्यक्रम गरिरहेका छन् । मंगलबार साँझ साढे ५ बजे काठमाडौँको माइतीघर मण्डला तथा सबै प्रादेशिक कार्यालयको संयोजनमा दीप प्रज्ज्वलन गरी विरोध सभा गर्न आह्वान गरिएको छ ।
घटनाप्रति गम्भीर खेद प्रकट गर्दै एशोसिएशनले जारी गरिएको आह्वान पत्रमा भनिएको छ, ‘दिनदहाडै राष्ट्र सेवक कर्मचारीप्रति गरिएको जधन्य अपराधले नागरिकको जिउधनको रक्षा तथा सुरक्षित तबरले बाँच्न अधिकारप्रति राज्य संवेदनशील रहन नसकेको र सुरक्षाको अवस्थासमेतलाई खिल्ली उडाइरहेको छ ।’ घटना भएको दुई दिनसम्म पनि दोषीलाई पक्रन प्रशासन असक्षम रहेको भन्दै संस्थाले घोर आपत्ति जनाएको छ ।
यसैबिच, ग्रीन इनर्जी अट्रप्रेनर्स नेपाल (ग्रीन) का अध्यक्ष सूर्यप्रसाद अधिकारीले देश निर्माणका सारथीका रूपमा रहेका इन्जिनियर समेत देशभित्र सुरक्षित हुन नसक्नु दुःखद भएको बताए । ‘देश निर्माणको सारथीका रूपमा आफ्नो पेशा गरिरहेका इन्जिनियर समेत सुरक्षित हुन नसक्नु विडम्बनापूर्ण र दुःखद् विषय हो,’ उनले भने, ‘सबै नागरिकको सुरक्षाको ग्यारेन्टी राज्यले गर्नसक्नु पर्छ ।’ उनले घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र दोषीलाई कानुनी सजायको दायरामा ल्याउन माग गरे ।
त्यस्तै, युनिट्स इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक गोपाल न्युरेले घटना असाध्यै गम्भीर र दुःखद रहेको बताए । ‘देशका दूरदराज, कुना कन्दरा हरेक ठाउँमा पुगेर काम गर्ने इन्जिनियर नै सुरक्षित नभए देशको विकास–निर्माण कसरी अघि बढ्छ ?,’ उनले भने, ‘नागरिकको सुरक्षाप्रति सरकार गम्भीर बनोस् ।’
फागुन ३ गते आइतबार अज्ञात समूहले गोली प्रहार गरी सब–इन्जिनियर यादवको हत्या गरेको थियो ।