काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा लगानीसम्बन्धी सेवा ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी)’ सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउन एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको समेत बैंकले जनाएको छ ।
बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच यही वैशाख ३१ गते समझदारीसँगै यो सुविधा सुरु भएको हो । समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
बैंकका अनुसार एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी) मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ ।
प्रयोगकर्ताहरूले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टिएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।
‘ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो,’ नायब प्रमुख बजगाईंले भने, ‘एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौँ ।’
उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारित सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवालाई निरन्तर सुधार गर्दै सेवाग्राहीलाई एकीकृत प्लेटफर्ममार्फत वित्तीय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ ।
नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको जनाएको ।