काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण भएको उक्त जलविद्युत् आयोजनाका सबै संरचना तथा विद्युत्को परीक्षण उत्पादन सकेर व्यावसायिक उत्पादन सुरु गरिएको हो ।
गत भदौ २० गतेबाट आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृति (सिइओ) रामगोपाल शिवाकोटीले ऊर्जा खबरसँग बताए ।
‘व्यावसायिक उत्पादन असोज २० मै सुरु गरेपनि प्राधिकरणबाट विभिन्न प्राविधिक कारणवश निर्णयमा भने केही समय लागेको हो,’ उनले भने, ‘भदौ २० गतेलाई व्यावसायिक उत्पादनको मिति तय गर्ने गरी प्राधिकरणबाट २ दिनअघि मात्र निर्णय भएको हो ।’
आयोजनाको विद्युत्गृह बाह्रबिसे नगरपालिका–५ मा रहेको छ । विद्युत्गृहमा रहेका ३४ मेगावाटका ३ वटा उत्पादन युनिटबाट उत्पादन गरिएको विद्युत् खिम्ती–बाह्रबिसे प्रसारण लाइनअन्तर्गत पर्ने बाह्रबिसे–३ पतालिमा रहेको बाह्रबिसे सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको छ ।
आयोजनाको निर्माण २०७० सालबाट सुरु भएको थियो । २०७३ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि २०७२ वैशाख १२ गतेको भूकम्प, त्यही वर्षको असोजदेखि भारतले लगानीको ५ महिना लामो नाकाबन्दी, बाढी, पहिरोलगायत विविध कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । ढिलाइ हुँदा आयोजनाको निर्माण लागत १५ अर्बभन्दा बढी पुगेको छ ।
आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।
प्रवर्द्धक कम्पनीमा ५१ प्रतिशत संस्थापक सेयरधनीमध्ये चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रो पावर लिमिटेडको १–१ प्रतिशत प्रतिशत सेयर स्वामित्व छ ।
त्यस्तै, ४९ प्रतिशत साधारण सेयर मध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर लगानी रहेको छ । कम्पनीमा साधारण लगानीकर्ता १० लाख ७५ हजार जना रहेका छन् ।