विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दार्चुला जिल्लाबाट जलविद्युत् विकासको यात्रा सुरु गरेर देशैभरि सञ्जाल विस्तार गरेको अपि पावर कम्पनी लिमिटेड अहिले २ सय मेगावाट बराबरका विद्युत् आयोजनाको नेतृत्व गर्ने संस्था बनेको छ । लमजुङमा निर्माण हुँदै गरेको ५० मेगावाटको मर्स्याङ्दी बेँसीको स्वामित्वसमेत लिएपछि कम्पनी दरिलो बन्दै आएको हो ।

यसअघि दिव्यज्योति हाइड्रो पावर प्रालिको नाममा रहेको मर्स्याङ्दी बेँसीको शतप्रतिशत सेयर अपि पावरले खरिद गरेको छ । चिनियाँ कम्पनीले निर्माण गरेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए र नेपाल विद्युत् प्राधिकरणको ७० मेगावाटको मध्यमर्स्याङ्दीको बीचमा निर्माण हुने मर्स्याङ्दी बेँसीको विद्युत् खरिद सम्झौता (पिपिए) टेक अर पे अर्थात् लिउ या तिर प्रावधानमा गरिएको छ ।

लमजुङको सदरमुकाम बेँसीसहरको ठिक पारी आयोजनाको बाँधलगायत संरचना निर्माण हुने भने ६.५ मिटर ब्यासको ६ किलोमिटर लामो सुरुङ निर्माण हुने छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्‌गृहबाट ३ किलोमिटर दूरीको १३२ केभी उदिपुर सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा प्रवाह हुने जनाइएको छ ।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको आयोजनाको राम्रो सम्भावना देखेर खरिद गरिएको अपि पावरका प्रबन्ध निर्देशक सञ्चिव न्यौपानेले बताए । ‘आयोजनामा बहुमत सेयर ५१ प्रतिशत अपि पावरकै रहने छ, अन्य प्रवद्धर्कबाट पनि लगानी जुटाउने तथा साधारण सेयर (आइपिओ) मा पनि लैजाने छौँ,’ उनले ऊर्जा खबरसँग भने, ‘दिव्य ज्योति कम्पनी प्रालिलाई पब्लिक लिमिटेड बनाएर सेयर सूचीकरण प्रक्रियामा लैजाने उद्देश्यका साथ काम गरिरहेका छौँ ।’

दुई साताअघि मात्र खरिद गरिएको आयोजनाको अहिले साइटमा विस्तृत भौगर्भिक अध्ययन भइरहेको छ । कम्पनीले हाल आयोजनामा संस्थापक लगानी गर्न आह्वानसमेत गरेको छ । आयोजनाका लागि आवश्यक जग्गा खरिद प्रक्रिया भइरहेको आयोजना दशैँ लगत्तै निर्माण सुरु गरी ३ वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको न्यौपानेले जानकारी दिए ।

कम्पनीका अनुसार अहिले इलेक्«ट्रो मेकानिकल र सिभिल ठेकेदार छनोटको प्रक्रिया अगाडि बढाइएको छ । विद्युत्‌गृहदेखि इन्टेकसम्मको सडक कालोपत्रे रहेको हुँदा निर्माण कार्य त्यति जटिल नरहेको प्रबन्ध निर्देशक न्यौपानेको भनाइ छ । तोकिएको समयमै आयोजना निर्माण गर्ने ‘ट्र्याक रेकर्ड’ बनाएको अपि पावरले मर्स्याङ्दी बेँसीमा पनि त्यो विरासत कायम गर्ने दाबी गरेको छ ।

‘सुरुङसहितको आयोजना पनि लक्षित अवधिमा पूरा गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न आधुनिक र वैज्ञानिक मोडलमा छिटो सम्पन्न गर्ने योजना छ,’ न्यौपानेले भने, ‘लगानी जुटाउने काममा बैंक तथा वित्तीय संस्थासँग छलफल भइरहेको र दशैंअगाडि नै वित्तीय व्यवस्थापन सकेर काम सुरु गर्ने तयारीमा छौँ ।’

प्रतिमेगावाट २० करोड रुपैयाँ लगानी अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत (७५० करोड) बैंकको लगानी र २५ प्रतिशत (२५० करोड) स्वपुँजी लगानी हुने छ । स्वपुँजी लगानीको मोडलमा ५१ प्रतिशत अपि पावर, २० प्रतिशत आइपिओ, १९ प्रतिशत रणनीतिक लगानीकर्ताको स्वामित्व रहने जनाइएको छ ।

हाल सुरुङ र विद्युत्‌गृहको र इन्टेकको जग्गा खरिद तथा आर्मीको आवास निर्माण कार्य अगाडि बढिरहेको जनाइएको छ । दशैंअगाडि नै कर्मचारीको आवास, नेपाली सेनाका लागि आवास तथा बङ्कर हाउस, कामदार आवासको निर्माण पूरा गर्ने लक्ष्य छ ।

अपि पावरको उपलब्धि

अपि पावरले अहिलेसम्म दार्चुलामा नौगड गाड र माथिल्लो नौगड गाड (१६.५ मेगावाट) र ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरी सञ्चालनमा ल्याएको छ । दार्चुला पावर लिमिटेड सहायक कम्पनी स्थापना गरी सोही जिल्लामा २८.३ मेगावाटको मध्य–चमेलिया निर्माण गरिरहेको छ । यस्तै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडमार्फत ११ मेगावाटको माथिल्लो तादी खोला र इङ्वा हाइड्रो पावर लिमिटेडमार्फत ९.७ मेगावाटको माथिल्लो इङ्वा खोला निर्माणमा अपि पावरले बहुमत सेयरको नेतृत्व गरिरहेको छ ।

यसैगरी, नुवाकोटस्थित त्रिशूली नदीमा अपि चमेलिया पावर लिमिटेड सहायक कम्पनी स्थापना गरी ३० मेगावाटको त्रिशूली गल्छी निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ । जलविद्युत् मात्र नभइ सौर्य विद्युत्मा समेत अपि पावरले पर्याप्त लगानी गरेको छ । अपिले निर्माण गरेका ढल्केबर सोलार (१ मेगावाट), सिमरा सोलार (१ मेगावाट) र चन्द्रनिगाहापुर सोलार (४ मेगावाट) आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।

जलविद्युत् र सौर्य गरी अपि पावरले अहिलेसम्म ६२.५ मेगावाटका आयोजनाबाट विद्युत् उत्पादन गरिसकेको छ । यस्तै, १२९ मेगावाटका आयोजना निर्माणाधीन रहेका छन् ।

अपि पावरले विद्युत् विकासतर्फ मात्र नभइ हाइड्रो मेकानिकल लगायत क्षेत्रमा काम गर्न समेत कम्पनी स्थापना गरेको छ । अहिलेसम्म अपि पावरका ९ वटा भातृसंस्था (सहायक कम्पनी) जन्मिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३