काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँद तथा गर्मीयाममा हुने विद्युत् माग र आपूर्तिलाई व्यवस्थित बनाउन व्यापक व्यवस्थापकीय तयारी सुरु गरेको छ । प्रणालीमा आउन सक्ने प्राविधिक अवरोध न्यूनीकरण र ट्रान्सफर्मर अभाव हुन नदिन २५ देखि ५० केभिए क्षमताका १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्ने प्रक्रियालाई मुख्य प्राथमिकताका साथ अघि बढाएको हो ।
यही गर्मी महिनामा लोड बढेर ट्रान्सफर्मर जल्ने र विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न नयाँ ट्रान्सफर्मर खरिद गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘खरिद गर्न आवश्यक प्रक्रिया पूरा भइसकेको छ, हामी ट्रान्सफर्मर अभाव हुन दिने छैनौँ,’ उनले ऊर्जा खबरसँग भने, ‘मध्यपूर्वको युद्ध तथा पेट्रोलियम अभावको असर विद्युत्को लोडमा थपिने सम्भावना छ, त्यसैका लागि थप ट्रान्सफर्मरको व्यवस्था गरिँदै छ ।’
नयाँ खरिदका अतिरिक्त प्राधिकरणले हाल पुराना ट्रान्सफर्मरलाई आफ्ना पाँचवटा मर्मत केन्द्रहरू (काठमाडौँ, हेटौँडा, नेपालगन्ज, बुटवल र जनकपुर) मा युद्धस्तरमा मर्मत गरिरहेको पनि शाक्यले जानकारी दिए । विद्युत् व्यवस्थापन र ट्रान्सफर्मर जल्न नदिन वितरण प्रणालीमा करिब ६०० स्मार्ट मिटर जडान गरिएको उनको भनाइ छ ।
‘यस प्रविधिले कुन ट्रान्सफर्मरमा लोड बढी छ भन्ने जानकारी तत्काल प्रणालीमा दिने र सोही आधारमा लोड सिफ्ट गरी ट्रान्सफर्मर जल्ने समस्या कम गर्न मद्दत पुग्ने छ,’ उनले थपे, ‘ट्रान्सफर्मर जल्ने समस्या कम हुनासाथ प्रणालीमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या स्वतः घट्ने छ ।’
प्राधिकरणका अनुसार यस वर्ष हिउँदको पिक माग २८०० मेगावाट पुग्ने अनुमान गरिएको छ, जुन गत वर्ष २६०० मेगावाट रहेको थियो । ग्यास अभावका कारण उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित भएमा माग अझै बढ्न सक्ने देखिए पनि यसको व्यवस्थापन गर्न प्राधिकरण पूर्ण रूपमा सक्षम रहेको शाक्यले बताए ।
आन्तरिक उत्पादन र आयातको सन्तुलन मिलाउन प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मर्स्याङ्दी र ६९ मेगावाटको मर्स्याङ्दी गरी ७३५ मेगावाट आंशिक जलाशय विद्युत् केन्द्र तयारी अवस्थामा राखेको छ । यस्तै, १०६ मेगावाटको कुलेखानी जलाशय गरी कुल ८४१ मेगावाट क्षमताले पिक–आवर (उच्च माग) को माग व्यवस्थापन गर्ने रणनीति लिइएको छ ।
यसैगरी, बढ्दो माग पूरा गर्न भारतबाट विद्युत् आयात गर्ने विकल्पमा समेत प्राधिकरण तयारी अवस्थामा रहेको शाक्यले बताए । हाल भारतबाट दैनिक करिब ३०० मेगावाट (६–७ हजार मेगावाट घन्टा) बिजुली आयात भइरहेको छ । नेपालले भारतबाट कुल १०८० मेगावाटसम्म विद्युत् आयात गर्न सक्ने स्वीकृत सीमा पाएको छ, जसमा ९०० मेगावाट ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइन र बाँकी १८० मेगावाट ‘पावर एक्सचेन्ज कमिटी (पिइसी) अन्तर्गतका अन्य लाइनबाट ल्याइने छ ।
तथापि, भारतबाट विद्युत् आयात गर्न सकिने सम्भाव्यता करिब १२ सय मेगावाटसम्म रहेको छ । यस वर्ष भारतले अप्रिलसम्म मागअनुसार विद्युत् दिने भए पनि मे महिनादेखि ‘सोलार आवर’मा मात्रै दिन सकिने जानकारी दिएको छ ।
भारतले मे महिनामा ‘सोलार आवर’मा मात्र दिए पनि प्राधिकरणले सो अवधिका लागि देशभित्रकै जलाशय र आंशिक जलाशय विद्युत् केन्द्रमार्फत उत्पादित विद्युत्बाट सजिलै व्यवस्थापन गर्न सकिने प्राधिकरणको विश्वास छ ।