काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय माध्यम (अनलाइन) बाटै कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने, त्यसको मूल्याङ्कन गर्ने तथा त्यसलाई गोप्य राखी व्यवस्थित गर्ने कार्य सुरु गरेको छ । विगतदेखि नै चल्दै आएको कागजी प्रणालीलाई विस्थापित गर्दै प्राधिकरणले यस आर्थिक वर्ष २०८२/८३ को साउन १ गतेदेखि नै अघिल्लो आर्थिक वर्ष २०८१/८२ को कासमू अनलाइनबाट भर्ने व्यवस्था गरेको हो ।
प्राधिकरणकाको कर्मचारी सेवा, सर्त नियममावली २०७५ को विनियमन ५९ को उपविनियम (२९) मा प्राधिकरणले विद्युतीय माध्यममार्फत कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने, मूल्याङ्कन गर्ने र गोप्य रहने गरी अभिलेख राख्ने व्यवस्था मिलाउन सक्नेछ भन्ने उल्लेख भए अनुसार प्राधिकरणले यो वर्षदेखि यस्तो व्यवस्था लागु गरेको जनाएको छ ।
अनलाइनबाट कासमू फारम भर्न प्राधिकरणका कर्मचारीले नेपाल विद्युत् प्राधिकरण मानव संसाधन सूचना प्रणालीको वेबसाइटमा लगइन गरी आफ्नो आइडी र पासवर्ड अद्यावधिक गरी साउन ७ गते रातको ११ः५९ बजेभित्र अनलाइन फारम भर्न सक्ने प्राधिकरणले जनाएको छ ।
नेपालको निजामति सेवा तथा सार्वजनिक संस्थानमध्ये संभवतः नेपालमै पहिलो पटक प्राधिकरणले अनलाइन कासमूको व्यवस्था गरेको दाबी गरेको छ । कासमूलाई अनलाइन प्रणालीमा लान प्राधिकरणले यसअघि नै आवश्यक कार्यविधि, अन्तरक्रिया, परिपत्र, सूचना तथा प्रयोगकर्ता पुस्तिका जारी गरी सबैलाई सूचित गराइसकेको जनाएको छ ।