सल्यान । सल्यान जिल्लाको कुमाख र दार्मा गाउँपालिकाका दुर्गम बस्तीहरूमा विद्युतीकरणका लागि ट्रान्सफर्मर जडान भएपछि स्थानीय स्तरमा उत्साह छाएको छ । कुमाख गाउँपालिका वडा नं. ३ को ईखा र मर्म परिकाडामा २५ केभीएका दुई थान तथा दार्मा गाउँपालिका वडा नं. ४ को रतिखोलामा १५ केभीएको एक थान ट्रान्सफर्मर जडान गरी वितरण संरचना निर्माण एवम् चार्ज गरिएपछि अवस्था फेरिएको हो ।
नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार भौगोलिक विकटता र पर्याप्त वितरण संरचनाको अभावका बाबजुद तत्कालका लागि करिब २५० ग्रामीण घरधुरीले विद्युत् सेवा उपभोग गर्न सक्ने गरी पूर्वाधार तयार गरिएको छ । रावलले विस्तारित क्षेत्रका बासिन्दालाई यथाशक्य छिटो मिटर जडान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै बाँकी रहेका क्षेत्रमा पनि क्रमशः लाइन विस्तार गरिने बताए ।
'ट्रान्सफर्मर जडानपछि स्थानीयवासीले मिटर लिनका लागि तीव्र चासो देखाएका छन् भने कतिपयले प्रक्रिया समेत सुरु गरिसकेका छन्,' उनले भने, 'वर्षौँदेखि अन्धकारमा रहेका ग्रामीण एवम् दुर्गम बस्तीहरू उज्यालो हुनुका साथै गाउँमै साना उद्योगहरू स्थापनाको ढोका खुलेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूमा समेत खुसीयाली छाएको छ ।'
विद्युत् सुविधा पुगेसँगै अब स्थानीय स्तरमा आयमूलक क्रियाकलाप बढ्ने र जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । यसैबीच, लाइन विस्तार हुन बाँकी रहेका अन्य क्षेत्रका बासिन्दाहरूले भने आफ्ना टोलहरूमा पनि छिटोभन्दा छिटो विद्युत् सेवा विस्तार गरिदिन माग गरेका छन् ।