विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागले प्रवर्द्धन गरिरहेको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति झन्डै ७० प्रतिशत पुगेको छ । आयोजनाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्मको विवरण अनुसार आयोजनाको वित्तीय प्रगति भने करिब ५७ प्रतिशत पुगेको छ ।

सरकारकै पूर्ण लगानीमा निर्माण भइरहेको यस आयोजनाको अद्यावधिक गुरुयोजना अनुसार कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ रहेको छ । २०६८ भदौ ७ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना कार्यालय स्थापना गरी आर्थिक वर्ष २०६८/६९ देखि आयोजनाको निर्माण औपचारिक रूपमा सुरु गरिएको थियो ।

आयोजनाका अनुसार मुख्य ५ वटा ठेक्काहरूमध्ये पहिलो चरणको सुरुङ निर्माणको काम पूरा भइसकेको छ तर अन्य चरणका काम सम्पन्न गर्न अझै २ देखि ३ वर्ष लाग्ने देखिएको छ । आयोजना आगामी आर्थिक वर्ष २०८७/८८ भित्र पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

आयोजना अन्तर्गत पहिलो प्याकेज अन्तर्गत नेपालमै पहिलो पटक अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) को सफल प्रयोग गरी ४.२० मिटर व्यास र १२.२० किलोमिटर लामो सुरुङ निर्माण गर्ने कार्य समयमै पूरा भइसकेको छ । यसलाई देशको पूर्वाधार प्रविधि विकासमा एउटा ठूलो फड्को मानिएको छ ।

दोस्रो प्याकेज अन्तर्गत ६ अर्ब ८८ करोड ८९ लाख रुपैयाँको लागतमा भइरहेको सिभिल निर्माण कार्य अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा ११४ मिटर लामो ब्यारेज र १५८ मिटरको डिसेन्डिङ (सेटलिङ) बेसिन निर्माण भइरहेको छ । यसमध्ये मुख्य बाँधका ६ वटा ‘बे’ मध्ये २ वटा सम्पन्न हुने चरणमा पुगेका छन् भने सेटलिङ बेसिनको ७० प्रतिशत निर्माण कार्य सकिएको छ । साथै, पेनस्टक पाइपका लागि एङ्कर ब्लक लगायतका संरचनाहरू, विद्युत्‌गृह र सर्जसाफ्टको निर्माण कार्य समेत सुरु भइसकेको छ ।

तेस्रो प्याकेजअन्तर्गत २ अर्ब १३ करोड ७४ लाख रुपैयाँ लागतको हाइड्रोमेकानिकल निर्माण कार्यतर्फ गेट स्टपलग र पेनस्टक पाइपको उत्पादन कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको छ । हाल यसको जडान कार्य मात्र बाँकी रहेको छ ।

चौथो प्याकेज अन्तर्गत ३ अर्ब २८ करोड ८० लाख रुपैयाँ लागतको इलेक्ट्रोमेकानिकल कार्यतर्फ टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेन जस्ता मुख्य उपकरणहरूको उत्पादन कार्य पूर्ण रूपमा सकिएर हाल जडानको चरणमा रहेका छन् ।

पाँचौँ प्याकेज अन्तर्गत प्रसारण लाइन निर्माणतर्फ भने हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्‍कन (इआइए) को अध्ययन सहमति लिने प्रक्रिया अघि बढाइएको छ ।

यो बहुआयामिक आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि भेरी नदीबाट प्रतिसेकेन्ड ४० घनमिटर पानीलाई ४.२ मिटर व्यासको सुरुङमार्फत बबई नदीमा खसालिने छ । उक्त पानीलाई बबईको हात्तीखालस्थित विद्युत्‌गृहमा खसालेर ४६.८ मेगावाट विद्युत् उत्पादन गरिने योजना छ । आयोजनाबाट वार्षिक करिब ४०० गिगावाट घण्टा ऊर्जा प्राप्त हुने अनुमान छ ।

विद्युत् उत्पादनसँगै बबई नदीमा थप हुने पानीको बहावलाई उपयोग गरी बबई सिँचाइ आयोजनामार्फत बर्दिया र बाँकेका करिब ३६ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । त्यस्तै, बबई–मानखोला डाइभर्सन आयोजनामार्फत बाँकेको थप १५ हजार हेक्टर गरी जम्मा ५१ हजार हेक्टर कृषियोग्य भूमिमा बाह्रै महिना सिँचाइ सुविधा सुनिश्चित हुनेछ ।

आयोजना निर्माणपछि बबई नदीमा उपलब्ध हुने पानीमध्ये करिब १५ घनमिटर प्रतिसेकेन्ड बहावलाई सिधै उपयोग गरेर अर्को ‘बबई–मानखोला डाइभर्सन आयोजना’ निर्माण गर्ने उद्देश्यसहितको अध्ययन कार्य समेत सम्पन्न भइसकेकोले यसलाई आगामी दिनमा कार्यान्वयन गर्ने आयोजनाको दीर्घकालीन लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३