काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलामा अवस्थित ताराखोलामा हाल दुई आयोजना सम्पन्न भइसकेका छन् भने थप दुई निर्माणाधीन र दुई प्रक्रियामा छन् ।
सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा निर्माण गरेको २.५ पाँच मेगावाटको दरमखोला ‘ए’ निर्माण पूरा भई विद्युत् उत्पादन भइसकेको छ । जिल्लामा यो निजी कम्पनीको पहिलो आयोजना हो । यसअघि समुदायको पहलमा स–साना लघु जलविद्युत् सञ्चालनमा थिए ।
ताराखोलामा पाँच वटा जलविद्युत् आयोजना थपिने क्रममा छन् । यसमध्ये ताराखोला जलविद्युत् आयोजना पहिले नै सम्पन्न भइसकेको छ भने अन्य चारवटा निर्माणको चरणमा छन् ।
पाँच वर्षअघि ३८० किलोवाटको ताराखोला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हाल मध्यताराखोला मध्यदरम ‘ए’ आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । ४ मेगावाटको पूर्वाधार निर्माणमा ४० प्रतिशत काम सम्पन्न भएको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए ।
यसैगरी, ३.५ मेगावाटको तल्लो ताराखोला र ४.५ मेगावाट मध्यदरम ‘बी’ आयोजना निर्माण प्रक्रियामा छन् । ‘स्थानीयको समेत लगानी भएकाले यी आयोजनाले आर्थिक विकासमा ठूलो टेवा पुग्ने छ, मध्यदरम ‘ए’ र ताराखोलाले गति लिँदा अन्य तीन आयोजनाको काम पनि अघि बढेको छ,' गाउँपालिका अध्यक्ष धनबहादुर विकले भने, 'सफल भएमा यसले ताराखोलाको समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने छ ।’