काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालय तथा मातहतका निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी र पदस्थापनमा फेरबदल गरिएको हो ।
मन्त्रालयले विद्युत् विकास विभागबाट सरुवा भई आएका सहसचिव सुनिल पौडेललाई ऊर्जा महाशाखाको जिम्मेवारी दिएको छ । यसअघि ऊर्जा महाशाखाको जिम्मेवारीमा रहेका सहसचिव सन्दीपकुमार देवलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । आयोगमा सचिवका रूपमा कार्यरत जीवछ मण्डललाई भने मन्त्रालयमा सरुवा गरिएको छ । मण्डलको भने जिम्मेवारी तोकिएको छैन ।
त्यस्तै, विद्युत् विकास विभागको महानिर्देशक पदबाट सरुवा भए मन्त्रालयमा आएकी सहसचिव मनदेवी श्रेष्ठलाई विद्युत् नियमन आयोगमा सरुवा गरिएको छ । उनले आयोगमा सचिवका रूपमा जिम्मेवारी सम्हाल्ने भएकी छन् । यसअघि पनि श्रेष्ठले आयोगमा सचिवका रूपमा काम गरिसकेकी छन् ।
ऊर्जा क्षेत्रका विभिन्न महाशाखा तथा मातहतका निकायमा प्रशासनिक समन्वय र कार्यसम्पादनलाई प्रभावकारी बनाउ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेकाे बताइएकाे छ । यद्यपि, मन्त्रालयमा सरुवा भएर आएका केही सहसचिवलाई अझै जिम्मेवारी नतोकिँदा प्रशासनिक व्यवस्थापन भने पूर्णरूपमा टुंगिएको छैन ।