काठमाडौँ । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले सौर्य ऊर्जा आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बिइएसएस) का लागि नयाँ बोलपत्र तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ । हुवावेले आफ्नो नयाँ 'युटिलिटी–स्केल सौर्य इन्भर्टर–SUN2000-506KTL' सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा सोपानले यस्तो माग गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. सन्दीप शाहले नवीकरणीय ऊर्जा अध्यक्ष शाहले विद्युत् उत्पादन बढाएर सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा तथा बिइएसएसको नयाँ बोलपत्र तत्काल खोल्न आवश्यक रहेको बताए । सरकारले २०३५ सम्म २८५०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेको बताउँदै उनले हाल सौर्य ऊर्जाको योगदान जम्मा १५५ मेगावाट मात्रै रहेकोले बढाउनु पर्ने तथ्य प्रस्तुत गरे ।
त्यस्तै, उनले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत अवरोध हटाउनुपर्ने, नवीकरणीय ऊर्जा मिश्रणमा लागु गरिएको १० प्रतिशतको सीमा हटाउनुपर्ने, उत्पादन अनुमति तथा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) को अवधि ५० वर्ष पुर्याउनुपर्ने माग गरेका छन् । त्यसैगरी, अनुमति क्षेत्र संशोधनसम्बन्धी स्पष्ट नीति ल्याउनुपर्ने, सम्पत्ति बीमाको प्रिमियम जलविद्युत्को तुलनामा कम निर्धारण गर्नसमेत माग गरे । साथै सौर्य ऊर्जा क्षेत्रका लागि जलविद्युत् केन्द्रित नीति नभई छुट्टै नीतिगत संरचनाको व्यवस्था गर्न माग गरे ।
नेपालको नवीकरणीय ऊर्जा लक्ष्य हासिल गर्न विद्यमान नीतिमा व्यापक सुधार आवश्यक रहेको उनको भनाइ छ । जलविद्युत् नेपालको ऊर्जा प्रणालीको आधार भए पनि सौर्य ऊर्जा प्रणालीलाई लचिलो, भरपर्दो र विशेषगरी दिनको समयमा माग धान्न सक्षम बनाउने महत्त्वपूर्ण स्रोत भएको उनको भनाइ छ ।
डा. शाहले प्रविधि तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै हुवावेको नयाँ उत्पादन सार्वजनिक हुनु त्यसको उदाहरण भएको बताए । उनले प्रविधिको विकाससँगै नेपालको नीति र पूर्वाधार पनि सोही गतिमा अघि बढ्नुपर्नेमा जोड दिँदै नेपालले सूर्यमार्फत प्राप्त गर्ने ऊर्जा सम्भावनालाई व्यवहारमा उतार्न सोपान निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।