काठमाडौँ । एसियाली विकास बैंकले नेपालका लागि आर्थिक वृद्धि, रोजगारी र उत्थानशीलता केन्द्रित पाँच वर्षे राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेको छ । जसका लागि उसले ६७ करोड अमेरिकी डलर (करिब ९२ अर्ब ७९ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा साउन ६ गते उक्त रणनीति (२०२५–२०२९) सार्वजनिक गरिएको छ । एडिबी सञ्चालक समितिबाट असार ३ गते स्वीकृत भएको रणनीतिले नेपालका लागि एडिबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ । रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाहरूका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवम् विपद् उत्थानशीलतामा केन्द्रित रहेको जनाइएको छ ।
एडिबीले नेपालमा पहिलो पटक विश्व बैंक समूहसँग संयुक्तरूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको र यो सहकार्यमा आधारित विकास योजनामा महत्त्वपूर्ण कोसेढुङ्गा सावित भएको बताइएको छ ।
कार्यक्रममा उपप्रधान तथा अर्थ मन्त्री पौडेलले यो रणनीति सार्वजनिक भएसँगै नेपालको एडिबीसँगको ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएको बताए । ‘१६औँ योजनासँग तादम्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र मूलतः युवाहरूका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने छ,’ उनले भने, ‘आर्थिक रूपान्तरणका हाम्रो यात्रामा एडिबीको निरन्तर सहयोग रहोस् ।’
यसैगरी, एडिबीका आवासीय निर्देशक अर्नो कोश्वाले यो रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताए । ‘यो दस्तावेजले समावेशी, उत्थानशील, हरित र रोजगारी तथा आर्थिक वृद्धिको बृहत् एजेन्डा तय गरेको छ,’ उनले भने, ‘नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकाससँग सम्बद्ध परियोजनामा नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत यसको प्रभावकारी कार्यान्वयन गर्न एडिबी प्रतिबद्ध छ ।’
यस रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवम् सिमान्तकृत साथै जोखिममा परेका समूहको सशक्तीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ । जसले समावेशी र समतामूलक विकासको परिणाम हासिल गर्न मद्दत पुग्ने छ ।
सोही क्रममा एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत सिर्जना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा एडिबी र विश्व बैंक समूहले रणनीति तयार गर्ने क्रममा विभिन्न सरोकारवाला समेत सातै प्रदेश र संघीय निकायसँग गरेको व्यापक परामर्शलाई समेटेर तयार गरिएको संक्षिप्त वृतचित्र प्रस्तुत गरिएको थियो ।
एडिबी एसिया प्रशान्त क्षेत्रमा, समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो । यसका सदस्य र साझेदारहरूसँग मिलेर जटिल चुनौतीहरू समाधानका लागि काम गरिरहेको एडिबीले जनजीविकामा रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण र पृथ्वीलाई जोगाउनका लागि नवप्रवर्तित वित्तीय विधि एवम् रणनीतिक साझेदारी परिचालन गर्दै आएको छ । सन् १९९६ मा स्थापित एडिबीमा ६९ सदस्यको स्वामित्व रहेको र ती मध्ये ५० एसिया तथा प्रशान्त क्षेत्रमा छन् ।