काठमाडौँ । इनर्जी इन्फर्मेशन सेन्टर प्रालिद्वारा प्रकाशित हुँदै आएको ‘ऊर्जा खबर’ अर्धवार्षिक जर्नलको आठौँ अङ्क (साना जलविद्युत् आयोजना सम्बन्धी विशेषाङ्क) मंगलबार (फागुन १२ गते) सार्वजनिक गरिएको छ । विभिन्न संस्था तथा मञ्चमा रहेर देशको ऊर्जा क्षेत्रमा योगदान गरिरहेका विज्ञ, प्रवर्द्धक, ऊर्जा खबरका सल्लाहकारहरू तथा सरोकारवालासहिको उल्लेखनीय उपस्थितिमा एक समारोहबीच अनुसन्धानमूलक जर्नलको नेपाली र अङ्ग्रेजी दुवै संस्करण सार्वजनिक गरिएको हो ।
मार्टिन चौतारीको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा अधिकांश वक्ताहरूले नेपालमा साना जलविद्युत् आयोजनाको प्रादुर्भाव, यसको आर्थिक सामाजिक महत्त्व, वर्तमान अवस्था, उपेक्षा र अपेक्षाको विषयमा धारणा राखेका थिए । साथै, उक्त अनुसन्धानमूलक जर्नल पाठक माझ ल्याउन ऊर्जा खबरले गरेको मिहिनेत, सुधार र खबरदारीको सराहना गरेका थिए ।
कार्यक्रममा ऊर्जा खबर विशेषाङ्कका सल्लाहकार सम्पादकसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शेरसिंह भाटले नेपालमा साना जलविद्युत् आयोजनाको योगदानबारे चर्चा गर्दै ठूला जलविद्युत्को दबदबा देखिरहेको बेला अब सना आयोजना व्यावसायिक लगानीको उपयुक्त क्षेत्र हो/होइन भन्ने राज्यले नै परिभाषित गर्नुपर्ने बेला आएको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सञ्जीव बरालले साना आयोजना निर्माणबाट नै ठूला जलविद्युत् आयोजनाको विकासमा नेपालको क्षमता तथा अनुभव बढ्दै गएकोले सानालाई जोगाउनुपर्ने बताए । जर्नलले साना आयोजनाका समस्याका अनेक आयाम खोतलेर उजागर गरेको तथा समाधानका उपाय पहिल्याउन समेत सहयोग गर्ने अपेक्षा राखे ।
कार्यक्रममा विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रबल अधिकारीले जे जस्ता कारणबाट सना आयोजना समस्यामा परेको भए पनि त्यसको समाधान गर्न राजनीतिक नेतृत्व, प्रशासक, उद्यमी, व्यवसायी, विज्ञ, प्राविधिक सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । यसका लागि विशेषाङ्क निकालेर ऊर्जा खबरले गरेको प्रयासको उनले प्रशंसा गरे ।
विद्युत् नियमन आयोगकी सदस्य भागीरथी ज्ञवालीले आफूहरूले आयोगको पहिलो कार्यकालमा साना आयोजनालाई उकास्न विभिन्न नियमनकारी नीति निर्माण गरेको स्मरण गर्दै आगामी दिनमा अझ सहजकर्ताका रूपमा अघि बढ्ने प्रतिबद्धता जनाइन् ।
ऊर्जा विज्ञ तथा उद्यमीसमेत रहेका ऊर्जा खबर विशेषाङ्कका विशेष सम्पादक सूर्यप्रसाद अधिकारीले साना जलविद्युत् विशेषाङ्क प्रकाशनको सन्दर्भबारे प्रकाश पारे । ‘सानाले ठूलो बनाउन प्रेरित गरे,’ उनले भने, ‘करिब २०० वटा साना आयोजनाले १० अर्ब भ्याट तिरे, वार्षिक ५ अर्ब रोयल्टी तिरिरहेका छन् ।’ हाल १० मेगावाटभन्दा साना आयोजना बन्द भए देशको ४५ प्रतिशत भू–भाग अन्धकार हुने दाबी गर्दै उनले अब सानाको समस्या समाधान नगरे धान्न नसक्ने बताए । ‘सानाको रोयल्टी माफ हुनुपर्छ,’ उनले भने, ‘लाइसेन्सको अवधि हटाउनुपर्छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का पूर्व अध्यक्षसमेत रहेका ऊर्जा उद्यमी सुवर्णदास श्रेष्ठले साना आयोजना आफूले आफैँलाई ‘रुग्ण’ भनेर भनिरहँदा यसले प्रवर्द्धकलाई निरुत्साहित गरेको स्वीकार गरे । सुनकोसी आयोजना बनाएर आफूले पनि सानै आयोजनाबाट सुरु गरेको भए पनि अहिले साना आयोजना अनेक सामाजिक दायित्व तथा वातावरणीय मापदण्ड पूरा गर्दा आर्थिक रूपमा सम्भाव्य नहुने देखिएको बताए । विगतका सना आयोजनाको लाइसेन्सको अवधि ३५ वर्ष र विद्युत् खरिद सम्झौताको अवधि २५ वर्ष मात्र रहेकोले स्वतः ३५ वर्षको पिपिए अवधि बनाउनुपर्ने माग गरे ।
ऊर्जा उद्यमी पुष्पज्योति ढुङ्गानाले आफूले पनि १ मेगावाटभन्दा सानो पाती खोलो जलविद्युत् आयोजना बनाएर ऊर्जा क्षेत्रमा आएको स्मरण गर्दै १० मेगावाटसम्मका आयोजनाको पिपिए सधैँ खुला राख्नुपर्ने बताए । ‘१० मेगावाटसम्मका १०० आयोजना आए भने पनि जम्मा १००० मेगावाट हुन्छ,’ उनले भने, ‘खपतमा खासै समस्या हुँदैन ।’ अब उत्पादनसँगै विद्युत् खपतको योजना ल्याउनुपर्ने उनको भनाइ थियो ।
समाज अर्थशास्त्री भोजराज पौडेलले नेपाल ठूला आयोजनामा जाँदै गर्दै सानाको योगदान र महत्वलाई भुल्नु नहुने बताए । ‘अब हामीले साना आयोजनाको नियमन, सञ्चालन, जोखिम, प्रवर्द्धकको भविष्य, वावरणीय सुरक्षा र यसले ग्रामीण अर्थतन्त्रका विषयमा पारेको प्रभावबारे ध्यान दिएर यसका समस्या समाधान गर्नुपर्छ,’ उनले भने ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले नेपालको ऊर्जा क्षेत्रले आफ्नो धरातल बिर्सनु नहुने बताए । ‘साना आयोजना नै हाम्रो धरातल हो,’ उनले भने, ‘हामीले धरातल बिर्सिनु हुँदैन ।’ उत्पादन, प्रसारण र खपत तीन ओटै क्षेत्र समानान्तर रूपमा अघि बढाउन नसक्दा हाल अनेक समस्या आएको बताउँदै उनले आगामी दिनमा ऊर्जा खबरले खपत सम्बन्धी विशेषाङ्क ल्याउन सके नीति निर्मातालाई समेत मार्ग निर्देश गर्न सक्ने बताए ।
ऊर्जा अभियान्ता तथा उद्यमी कृष्णप्रसाद भण्डारीले सरकारका नीतिकै आधारमा आफूले साना जलविद्युत् आयोजना निर्माण गरेको स्मरण गर्दै अब समस्यामा परेका साना आयोजनालाई ‘रुग्ण’ नभनी ‘समस्याग्रस्त’ भन्नुपर्ने बताए ।
नेपाल लघु जलविद्युत् विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले लघु तथा साना जलविद्युत् आयोजनाले ग्रामीण क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा गरेको योगदानलाई ध्यानमा राखेर यसबारे ठोस निर्णयमा पुग्नुपर्ने बताए । ‘यी आयोजना आवश्यक हुन् कि होइनन् त ?,’ उनले भने, ‘आवश्यक होइन भने अनुमति पत्र दिन बन्द गरौँ, आवश्यक छन् भने सहज सञ्चालनको वातावरण बनाऔँ ।’
कानुनविद् सेमन्त दाहालले ऊर्जा खबरकाे आगामी अङ्कलाई खपतका विषयमा केन्द्रित गर्न सुझाव दिए ।
कार्यक्रमको सञ्चालनका क्रममा ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगी ऊर्जा खबरले विशेषाङ्क ल्याउन गरेको मिहिनेतबारे चर्चा गरेका थिए ।
