लमजुङ । जलविद्युत् केन्द्रहरूको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यति बेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न केन्द्रहरू बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन बढ्न थालेको हो ।
बेँसीसहर नगरपालिका–१ मा रहेको जिल्लाको पहिलो ७० मेगावाटको मर्स्याङ्दी जलविद्युत् केन्द्रमा पनि विद्युत् उत्पादन बढेको छ । केन्द्रका प्रमुख तारादत्त भट्टले भने, ‘मर्स्याङ्दी नदीमा आयोजनाका लागि पानी पर्याप्त नहुँदा हिउँदमा बिजुली उत्पादन कमी भइरहेको थियो । पानी पर्याप्त हुन थालेपछि करिब १५ दिन अघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन भइरहेको छ ।’
यस आर्थिक वर्षमा पानीको अभावले हिउँदमा २६–२७ मेगावाट मात्रै उत्पादन हुँदै आएकामा बर्खा लागेसँगै बिस्तारै पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको उनले जानकारी दिए । उनका अनुसार यहाँ ३५/३५ मेगावाटका दुई वटा टर्बाइनबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन हुने गरेको छ । सन् २००० मा २७ अर्ब २० करोड रुपैयाँको लागतमा निर्माण सुरु भई सन् २००८ मा पूरा भई यस केन्द्रबाट विद्युत् उत्पादन हुन थालेको थियो ।
त्यस्तै, मर्स्याङ्दी गाउँपालिका–८ स्थित भुलभुलेमा रहेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् केन्द्रको उत्पादनसमेत बढ्न थालेको केन्द्रले कार्यालयले जनाएको छ । केन्द्रका अनुसार केही दिनदेखि पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । सन् २०१३ जनवरीदेखि निर्माण थालनी भएको केन्द्रले सन् २०१७ जनवरीदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।
चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानीमा उक्त जलविद्युत् केन्द्र निर्माण सम्पन्न भएको थियो ।
५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ३० मेगावाको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको माथिल्लो मिदिम, ५ मेगावाटको सिउरीखोला तथा ४.४ मेगावाटको राँधी खोला जलविद्युत् केन्द्रको समेत उत्पादन वृद्धि भइरहेको छ ।
त्यस्तै, जिल्लामा सञ्चालित ४–४ मेगावाटका खुँदिखोला साना जलविद्युत् र माथिल्लो छन्द खोला, ३ मेगावाटको मिदिमखोला, २.४ मेगावाटको अपर स्याँगे खोला, २ मेगावाटको छन्द खोला, १८३ किलोवाटको स्याँगे लघु जलविद्युत् र ८० किलोवाटको मिदिम लघु जलविद्युत् केन्द्रको समेत विद्युत् उत्पादन बढ्न थालेको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
जिल्लामा उत्पादन थालेका केन्द्रहरूको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई उज्यालो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका केन्द्र प्रमुखहरूको भनाइ छ । यस्ता केन्द्रको उत्पादन घटबढ हुँदा त्यसले देशकै आर्थिक क्षेत्रमा प्रभाव पारेको देखिन्छ ।