काठमाडौँ । 'दिगो ऊर्जा तथा विद्युत् प्रणालीसम्बन्धी इलेक्ट्रिकल इन्जिनियरहरूको अन्तर्राष्ट्रिय सम्मेलन' काठमाडौँमा सुरु भएको छ । इन्सटिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर, पावर एन्ड इनर्जी सोसाइटी (आइइइई पिइएस) नेपाल च्याप्टरको आयोजना, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको सहआयोजना तथा नेपाल विद्युत् प्राधिकरणको प्रायोजनमा उक्त सुरु भएको हो ।
होटल रोयल सिङ्गीमा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विश्वभर ऊर्जा क्षेत्र तीव्र गतिमा परिवर्तन भइरहेको उल्लेख गरे । नेपालमा विद्युत् उत्पादन बढेकाले प्रसारण पूर्वाधारको आवश्यकता थप टड्कारो बनेको र अबको मुख्य चुनौती भरपर्दो तथा गुणस्तरीय विद्युत् उपलब्ध गराउनु रहेको उनले बताए ।
साथै, आन्तरिक रूपमा उत्पादनमूलक खपत बढाउनुपर्नेमा जोड दिँदै उनले भने, 'हाल आयोजनाहरू पूर्ण क्षमतामा चलेकाले भोटेकोसीको प्रलयकारी बाढीपछि पनि नेपालले आन्तरिक माग धानेर झण्डै १,००० मेगावाट विद्युत् निर्यात गर्न सक्षम भएको छ।' उनले सम्मेलन केवल अनुसन्धानात्मक पत्र र प्रतिवेदनमा मात्र सीमित नभई ऊर्जा क्षेत्रका व्यवहारिक चुनौती सामना गर्ने उपयोगी मञ्च बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा आइइइई पिइएस नेपाल च्याप्टरका अध्यक्ष डा. सुजन अधिकारीले पेशागत, शैक्षिक र कार्यकारी क्षेत्रको सहकार्यले नेपालको ऊर्जा क्षेत्रलाई सही दिशा निर्देश गर्न सहयोग पुग्ने बताए । त्यसैगरी, सहआयोजक ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य तथा सहप्राध्यापक सुनिल दुवालले नेपालका हिमाल तथा नदीको स्वरूप र बहाव परिवर्तन भइरहेकाले सोही अनुसार जलविद्युत् आयोजनाहरूको डिजाइन गर्नुपर्ने आवश्यकता औँल्याए ।
सम्मेलनको पहिलो छलफल सत्रमा मुख्य वक्ताका रूपमा क्यानडास्थित सस्काचेवान विश्वविद्यालयका प्राध्यापक डा. राजेश कार्कीले ‘आर्थिक विकासका लागि जलविद्युत्मा लगानीको विश्वसनीयता र औचित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै क्यानडाको ऊर्जा अवस्था र नेपालको दीर्घकालीन ऊर्जा आवश्यकतामाथि प्रकाश पारे ।
दोस्रो छलफल सत्रमा प्राधिकरणका उपकार्यकारी निर्देशक राजन ढकालले 'परम्परागत प्रसारण र वितरणबाट भविष्यको आधुनिक प्रणालीतर्फ विद्युत् ग्रिडको रूपान्तरण' विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले हालैको भोटेकोसी बाढीले दीगो लगानी तथा जलवायुमैत्री पूर्वाधार विकासको ठूलो पाठ सिकाएको बताए ।
सम्मेलनमा पिइएस नेपाल च्याप्टरका उपाध्यक्ष एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक डा. वसन्तकुमार गौतम, संस्थाका सचिव एवं पुल्चोक क्याम्पसकै उपप्राध्यापक डा. विशाल सिलवाल, पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. नेत्रप्रसाद ज्ञवाली, काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक ब्रिजेश अधिकारीलगायत विज्ञ अध्यापक तथा इन्जिनियरहरूको सहभागिता रहेको छ ।
शुक्रबारदेखि सुरु भएको दुई दिने सम्मेलन शनिबारसम्म चल्ने छ ।