काठमाडौँ । भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषणबाढीपछि रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदारसति झण्डै ६० जना सम्पर्कविहीन भएका छन् । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्यफ्रुबेसीमा निर्माधीन ३० मेगावाटको आयोजनामा कार्यरत इन्जिनियर, प्राविधिकसहितका कर्मचारी तथा सुरुङ निर्माणमा काम गरिरहेका कामदार सम्पर्कविहीन भएका हुन् ।
योजनाको विद्युत्गृहत, बाँध संरचना तथा सुरुङ निर्माणमा खटिएकाहरूसँग सम्पर्क हुन नसकेको आयोजना प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले ऊर्जा खबरसँग बताए । ‘सुरुङ निर्माण कार्यमा ३५ जना खटिएको मध्ये हालसम्म कसैसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘त्यस्तै, बाँध क्षेत्रमा कार्यरत २० जना र अन्य ५ जनासहित २५ जनासमेत सम्पर्कमा आउन सकेका छैनन् ।’
आफ्ना कर्मचारी तथा कामदारको खोजि गरिदिन सरकार तथा प्रशासनसँग आग्रह गरिरहेको समेत उनले बताए । हेलिकोप्टरमार्फत घटनास्थलको अवलोकनमा जानका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोजिए पनि सबै सरकारी निकायले ‘रिजर्ब’ गरिसकेकोले आफूले प्राप्त गर्न नसकको उनको भनाइ छ । ‘हेलिकोप्टर पाएर लिएर गए पनि उद्दारका लागि ल्याण्ड गर्ने ठाउँ नै त्यस क्षेत्रमा बाँकी नरहेको समेत खबर आएको उनले बताए ।
आयोजनाले हाल २० मेगावाट क्षमतामा विद्युत् उत्पादनका लागि सुरुङमा पानी लैजान अन्तिम तयारीको काम गरिरहेको थियो । थप १० मेगावाटको क्षमता पछि थप गर्ने गरी निर्माण कार्य भइरहेको छ । लाङटाङ निकुञ्ज क्षेत्रभित्रको दोमने भन्ने स्थानमा बाँध संरचना तथा स्याफ्रुबेसीमा विद्युत्गृह रहेको यस आयोजनाको निर्माण २०७८ जेठदेखि आयोजनाको निर्माण सुरु गरेको थियो ।