विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सिंगटी–लामोसाँघु प्रसारण लाइन एक दशकसम्म घिस्रिँदै

काठमाडौं । सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको काम सुरु भएको १० वर्ष बितिसक्यो तर अझै कहिलेसम्म पूरा हुन्छ भन्ने यकिन छैन । यही कारण यस कोरिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाले बिजुली जोड्न नपाउँदा करोडौं रुपैयाको क्षति बेहोर्नुपरेको छ ।

प्राधिकरणले दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म करिब ४० किलोमिटर प्रसारण लाइन समयमै बनाउन नसक्दा यसको ठूलो मार २५ मेगावाटको सिंगटी खोलालाई परेको छ । आयोजना गत साउनमै पूरा भए पनि प्रसारण लाइन नहुँदा बिजुली जोड्न पाएको छैन । यही कारण अहिलेसम्म करिब ५० करोड रुपैयाँ आम्दानी गुमिसकेको आयोजना प्रवर्द्धक सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जानकारी दिएको छ ।

प्राधिकरणले भारतीय कम्पनी अरावली इन्फ्रा पावरलाई ठेक्का दिएर आर्थिक वर्ष २०६५/६६ देखि प्रसारण लाइनको काम सुरु गरेको थियो । तर, कमजोर ठेकेदार परेकाले समयमा काम पूरा गर्न नसकिएको प्राधिकरणले बताउँदै आएको छ । ठेकेदारलाई दोष दिए पनि प्राधिकरण आफैंले समेत दबाब दिएर काम गराउन नसक्दा दशकौंसम्म आयोजना अलपत्र जस्तै बनेको छ ।

सिंगटी खोलाको निर्माण पूरा भएको करिब ६ महिना भइसकेको र यस अवधिमा पनि प्राधिकरणले काम पूरा नगरेपछि आयोजना प्रवद्र्धक सिंगटी हाइड्रो आफैं अग्रसर भएको छ । प्राधिकरणसँग समन्वय गर्दै समस्या देखिएका ठाउँमा आफैंले अग्रसरता लिएर काम अगाडि बढाउन लागेको कम्पनीका अध्यक्ष बटु लामिछानेले बताए ।

‘प्राधिकरण, ठेकेदार र हामी बसेर त्रिपक्षीय बैठक गरेका छौं, एउटा टास्क फोर्स बनाएर काम गर्ने टुंगो भएको छ,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘अबको १० दिनभित्र ठेकेदारले आवश्यक उपकरण ल्याउने बाचा गरेको छ । उसँग सँगसँगै लागेर महिना दिनमा निर्माण पूरा गर्ने सहमति भएको छ ।’

प्राधिकरणका अनुसार सिन्धुपाल्चोकको टौथलीमा २ वटा टावर निर्माण गर्न बाँकी छ । यस्तै, झिंगनेमा ६ वटा टावर ठड्याउन जग खनिसकेको र टावर उठाएर तार तान्न बाँकी छ । स्थानीय समस्या आएका ठाउँमा प्रवद्र्धक कम्पनी आफैं लागेर समस्या समाधान गर्दै काम गर्ने भएको छ ।

  • ४० किलोमिटर लाइन १० वर्षसम्म घिर्सिँदै
  • अझै ८ वटा टावर सकिन बाँकी
  • सिंगटी खोलाले ५० करोड गुमायो
  • लाचार प्राधिकरण, गैरजिम्मेवार ठेकेदार
  • स्थानीयको सधैं विरोध

प्राधिकरणको मात्र भर पर्दा आयोजनाबाट हुने अर्बौं रुपैयाँ आम्दानी गुम्ने खतरा देखिएको कम्पनीले बताइरहेको छ । यसअघि इलामको माइ खोलामा सानिमा माई हाइड्रो पावर कप्पनीले निर्माण गरेको २२ मेगावाटको आयोजनाको बिजुली जोड्न पनि प्रवर्द्धक आफैं खटिएको थियो ।

१३२ केभी काबेली कोरिडोरको गोदक–दमक खण्डको निर्माण सानिमा माई आफैं खटिएर पूरा भएको अवस्था थियो । सिंगटीमा पनि त्यो उदाहरण दोहोरिएको छ । यस्ता उदाहरण दोहोरिनुले प्राधिकरण प्रसारण लाइन निर्माणमा संवेदनशील नहुनु, ठेकेदारलाई दबाब दिन नसक्नु र आफूले पूरा गर्नुपर्ने जिम्मेवारी समयमै गर्न नसक्नु मुख्य कारण देखिन्छन् ।

सिंगटीदेखि लामोसाँघुसम्मको ४० किलोमिटर क्षेत्रमा १२४ टावर निर्माण गर्नुपर्नेमा १० वर्ष गुज्रिदाँसम्म ८ वटा टावरको काम बाँकी नै छ । स्थानीयले जग्गाको मुआब्जामा झिक्दै आएको बखेडा र प्राधिकरणले यसलाई समयमै टुंग्याउन नसक्दा पनि समस्या जटिल बन्दै गएको देखिन्छ ।

सिन्धुपाल्चोकको लामोसाँघुमा निर्माण गर्ने भनिएको सबस्टेसनको काम पनि अहिलेसम्म पूरा भएको छैन । प्रसारण लाइन निर्माण गर्न ४२ करोड रुपैयाँ र सबस्टेसनका लागि १७ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको थियो । यद्यपि, सबस्टेसनको काम भने करिब पूरा भएको छ ।

यस प्रसारण लाइनमा २५ मेगावाटको सिंगटीदेखि १० मेगावाटको सिप्रिङ, ११ मेगाावटको तल्लो खारे, ४ मेगावाटको घट्टे खोला, ३० मेगावाटको खानी खोला ४० मेगावाटको खानी खोला–१ लगायत आयोजनाको बिजुली जोडिन्छ । प्रसारण लाइन नहुँदा सिप्रिङ र घट्टे खोला र सिंगटीको बिजुली खेर गइरहेको छ ।

सिंगटी खोलाको विद्युत् खरिद सम्झौता (पिपिए) गर्दा आयोजनाबाट विद्युत् उत्पादन हुँदासम्म प्रसारण लाइन पूरा नभए प्राधिकरणले ४५ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ । तर, कोरोना महामारीका कारण काम प्रभावित भएको र यस्तो अवस्थामा फोर्स मेज्योर लागू नहुने भन्दै जरिवाना नतिर्ने बताइसकेको छ ।

सुपर सिक्समध्येकाे याे आयाेजनाबाट वार्षिक १३ कराेड ३९ लाख युनिट (१३३.९३२ गिगावाट घन्टा) विद्युत् उत्पादन हुन्छ । यसबाट वर्षकाे ७२ कराेड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएकाे छ । वार्षिक ऊर्जा उत्पादन आकर्षक भएकाे हुँदा विद्युत् उत्पादन भएकाे पहिलाे वर्ष नै संस्थापक तथा सर्वसाधारण सेयरधनीलाई १० प्रतिशत लाभांश दिन सकिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit