काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्री खड्काले माओवादी सशस्त्र द्वन्द्वकालमा ग्रामीण विद्युतीकरणका लागि सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरूले पुर्याएको योगदानलाई बिर्सिनु नहुने बताएका छन् । देशका विकट तथा दूरदराजसम्म विषम परिस्थितिको सामना गर्दै ती संस्थाहरूले विद्युत्को पहुँच पुर्याउन योगदान गरेकोले उक्त कार्यको कदर गर्नुपर्ने उनको भनाइ थियो ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक संस्थाहरूलाई विद्युतीकरणमा एक ढिक्का भएर अघि बढाउन महासंघको भूमिका महत्त्वपूर्ण भूमिकाको उच्च सम्मान गर्नुपर्ने बताए । भविष्यमा पनि यस्ता प्रयासलाई संस्थागत गर्दै अघि बढाउन आवश्यक रहेको उनले भनाइ थियो ।
कार्यक्रममा उनले सामुदायिक तहमा सञ्चालित विद्युत् आयोजना तथा परियोजनाहरू मध्ये समुदायले सञ्चालन गर्न नसकेका आयोजना वा संस्थालाई नेपाल विद्युत् प्राधिकरणमार्फत व्यवस्थापन गर्दै लैजानुपर्नेमा जाेड दिए ।
नेपालको विद्युत् विकासलाई जनअपेक्षा अनुसार परिणामखुदी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए । ‘हामीसँग पर्याप्त स्रोत छन्, केही चुनौती छन्, तर सबैले मिलेर अघि बढ्ने हो भने विद्युत् क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ,’ उनले भने ।
पछिल्लो समय भारत र चीनले विद्युत् क्षेत्रमा तीव्र विकास गरिरहेको सन्दर्भमा नेपालले पनि छिमेकी राष्ट्रको विकासको त्यही गति पच्छ्याउँदै गुणस्तरीय ऊर्जा पूर्वाधार विकासमा अघि बढ्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा पूर्व उर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले सामुदायिक विद्युत् प्रवर्द्धनमार्फत ग्रामीण विद्युतीकरणमा महासङ्घले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले हालसम्म ३०० भन्दा बढी सामुदायिक संस्थामार्फत करिब ६ लाख घरधुरीमा विद्युत् पहुँच पुर्याइएको जानकारी दिए । उनका अनुसार समुदायबाट सङ्कलित झण्डै २ अर्ब रुपैयाँ बराबरको लगानीमा विद्युत् ग्रामीण विद्युतीकरणका आवश्यक वितरण पूर्वाधारहरू विकास तथा निर्माण गरिएका छन् ।
कार्यक्रममा सामुदायिक विद्युतीकरणमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न संस्था तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।