गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको वायु ऊर्जा केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । वडाकाे सर्वदलीय र सर्वपक्षीय बैठकमा सबैले सहमति जनाएपछि सो आयाेजना सुरु गर्ने निर्णय गरिएको वडाध्यक्ष रामप्रसाद पन्थीले बताए ।
दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा सिफारिस गरिसकेको र हाल ऊर्जा मन्त्रालयलले सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाएको उनको भनाइ छ । अर्जुनबाट उनायचौर सबस्टेशनको दूरी करिब ८०० मिटर मात्र भएकाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिक्री गर्न सहज हुन्छ । उनले अर्जुन क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थल मात्र नभई, वायु ऊर्जा उत्पादनको उपयुक्त केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।
उनका अनुसार उक्त वायु ऊर्जा केन्द्रबाट दैनिक ८ हजार, मासिक २ लाख ४० हजार र वार्षिक २८ लाख ८० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रारम्भिक अनुमान छ । आयोजनाको प्रारम्भिक चरणका लागि १ करोड ५० लाख लगानीमा सम्भाव्यता अध्ययन तथा आवश्यक प्रारम्भिक संरचना तयार गर्ने योजना छ ।
सो लगानीमा वडावासीलाई सेयरमार्फत सहभागी गराइने र बाँकी बजेट प्रदेश, संघ र वैकल्पिक ऊर्जा केन्द्रबाट समन्वय गरी जुटाइने बताइएको छ । वडाका सम्पूर्ण जनप्रतिनिधिहरूले योजना उपयुक्त रहेकाले ऐक्यबद्धता जनाएका छन् ।
चालु आर्थिक वर्षमा सो वडामा नगरपालिकाबाट प्राप्त बजेट लक्षित क्षेत्रबाहेक अन्य भौतिक पूर्वाधार निर्माणमा खर्च नगरी सोही काममा खर्च गर्ने सर्वदलीय सहमति भएको छ ।