काठमाडौँ । नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गरिने भएको छ । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को ढाकामा बिहीबार सम्पन्न ७औँ बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आवश्यक प्रक्रिया पूरा गरी उक्त परिमाणको विद्युत् बंगलादेश निर्यात गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
यसअघि नेपालले यसै वर्षदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको थियो । वर्षाका ५ महिना (जुन १५ देखि नोभेम्बर १५ सम्म) विद्युत् निर्यात सुरु गरेको थियो । अब त्यसमा २० मेगावाट थप हुने भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटाैत बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सह–अध्यक्षतामा उक्त बैठक बसेको थियो । बैठकले मंसिर १० गते सम्पन्न संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकले गरेका सिफारिसहरूमाथि छलफल गरेको थियो । संयुक्त कार्यदलको बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव तथा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाले सह–अध्यक्षता गरेका थिए ।
यस्ता छन् जेएससी बैठकका महत्त्वपूर्ण निर्णयहरू
१. नेपालबाट बंगलादेशले आयात गर्दै आएको ४० मेगावाट जलविद्युत्का अतिरिक्त २० मेगावाट थप विद्युत् आवश्यक प्रक्रिया पूरा गरी आयात गर्ने ।
२. सुनकोसी–३ जलविद्युत आयोजनाको लगानी प्रक्रियामा अगाडि चढाउन बंगलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अघि बढाउने तथा संयुक्त लगानी सम्झौता (जेभिए) छिटो टुङ्ग्याउने ।
३. नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको चरापुकारया, पञ्चगढ़ ठाकुरगाउँ, भेरामारा र कोमिल्ला सम्मका प्रसारण लाइनहरू मार्फत विद्युत् निर्यात गर्न अध्ययन गर्ने ।
४. नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्ने सम्बन्धी समझदारी पत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने । उक्त सम्झौता अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, इभी चार्जिङ, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने ।
५. नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने । बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौँमा तथा तत्पश्चात नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यकम सञ्चालन गर्ने ।
६. नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा महकार्य गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा भारतको सहमति लिन दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने ।
बैठकमा दुवै देशका प्रतिनिधिहरूले विद्युत् आदान–प्रदान, प्रसारण पूर्वाधार विकास, दीर्घकालीन ऊर्जा सहकार्यलाई अझ गहिरो चनाउन प्रतिबद्धता जनाएका छन् ।