विद्युत अपडेट

  • प्राधिकरण : ६००३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१३५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९२४८ मे.वा.घन्टा
  • आयात : १०२३४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ९५० मे.वा.घन्टा
  • ऊर्जा माग : २९५७१ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६८३ मे.वा.
२०७९ माघ १४, शनिवार
×
जलविद्युत जलविद्युत सोलार ई-पेपर वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय

काठमाडाैं । आध्यात्मिक दृष्टिले सूर्यलाई परमात्मा, भगवान वा ईश्वरका रूपमा पुकारिन्छ । सौर्यमण्डलमा पनि सूर्य नै प्रमुख मानिन्छ । पछिल्ला दिनमा स्कुल कलेजमा आध्यात्मिक शिक्षालाई महत्त्व दिइएको पाइँदैन । आध्यात्मिक होस् या वैज्ञानिक परिप्रेक्ष्य सूर्यबिनाको सौर्यमण्डल कल्पना गर्न सकिँदैन । झट्ट हेर्दा प्रकाश र ताप दिने गोलाकार वस्तुको रूपमा परिचित  छ, सूर्य । वैज्ञानिक र आध्यात्मिक पक्षको कहीँ न कहीँ मिलन देखिन्छ । सूर्य ९२.१ प्रतिशत हाइड्रोजन र ७.८ प्रतिशत हेलियम ग्यास मिलेर बनेको छ ।

अक्सिजन, कार्बन, नाइट्रोजन, सिलिकन जस्ता सबै महत्त्वपूर्ण भारी तत्त्वहरूको ०.१ प्रतिशत म्याग्नेसियम, नियोन, फलाम, सल्फर, र अन्य थोरै मात्रामा नाभिक–संश्लेषण प्रक्रियाबाट उत्पन्न हुन्छन् । ब्रह्माण्डको मूल गठनपछि तारा, नोभा र सुपरनोभाले हामी ‘ताराका सन्तानहरू हौं’ भन्ने लोकप्रिय कथनको पुष्टि गरेको छ ।
वास्तवमा ऊर्जाका सबै स्रोतहरूको ‘प्रमुख स्रोत’ सूर्य नै हो । किनकि, सारा विश्वको अस्तित्वको केन्द्रबिन्दु नै सूर्य हो । नवीकरणीय (जल, वायु, जैविक, सामुद्रिक छाल, भू–तापीय) र अनवीकरणीय ऊर्जा (पेट्रोलियम पदार्थ, कोइला, प्राकृतिक ग्यास युरेनियम) को सम्पूर्ण स्रोतको केन्द्रबिन्दु समेत सूर्य हो । दु;खद विषय त यो छ, छिमेकी मुलुक भारत र चीनमा सौर्य ऊर्जा गिगावाट स्केलमा उपादन भइरहेको छ ।

भारतबाट त नेपालमा पनि निर्यात भएको छ, हाम्रो मुलुकमा सरकार किन अनुदार छ ? जल र सूर्यको किरण दुवै निःशुल्क उपलब्ध छ । ऊर्जा उत्पादन गर्न जलविद्युत परियोजनाका लागि इलोक्ट्रो मेकानिकल र इलेक्ट्रिक उपकरण त किन्नैपर्छ, त्यस्तै अन्य ऊर्जाका लागि पनि । किन उत्तेजक छ, यो समाज ? किन नकरात्मक छ यो सरकार ? अतः भू–उपग्रह (स्याटालाइट) हरूमा आजसम्म पनि ऊर्जाको स्रोत सौर्य ऊर्जा नै हो भन्ने ज्ञान लिन वा दिन नभुलौं ।

सोलारका मुख्य ७ उपयोगिताहरू

१. विद्युत :  सौर्य ऊर्जा २४ सै घण्टा उत्पादन गरी प्रसारण लाइनद्वारा वितरण गर्न सकिने प्रविधि आजसम्म सम्भव भइसकेको छैन तर न्यूक्लियर, जलविद्युत, कोइला, प्राकृतिक ग्यास जस्ता प्रमुख स्रोतहरूको परिपूरक बन्न सक्छ । बनिरहेको पनि छ । हामीले सुख्खायाममा भारतबाट आयात गर्ने विद्युत सौर्य ऊर्जा वा कोइला जे पनि हुन सक्छ । विद्युत प्राधिकरणले वितरण प्रणाली दिगो बनाउने योजना थालनी गरिरहेको छ ।

भूमिगत तार बिछ्याउनु, स्मार्ट मिटर वितरण हुनु सरकारी दूरदर्शी योजनाका संकेत हुन् । २१औं शताब्दीमा विभिन्न प्रविधिहरूको विकास भइरहेको छ । यता नेपालले भारतलाई विद्युत निर्यात गर्न सुरु गरेको छ । यसलाई निरन्तरता दिनु प्रमुख विषय हो । निरन्तरताको लागि माइक्रो हाइड्रो, सौर्य, वायु, बायोमास, सामुद्रिक छाल, भू–तापीय जस्ता नवीकरणीय स्रोतहरू वरदान हुन सक्छन् । अहिलेसम्मको प्रविधिलाई मध्यनजर राख्दा नेपालभरिको घरायसी आवश्यकता पूरा गर्न सौर्य ऊर्जा धेरै महत्त्वपूर्ण छ ।

नेपाल युरोप, अमेरिका जस्तो चिसो छैन । गर्मीमा पङ्खा र जाडोमा तातोपानी भए जीवन सजिलै चल्छ । रुसमा जस्तो माइनस ४५ डिग्री चिसो र खाडीमा जस्तो ४५ डिग्री तातो भइसकेको छैन । अर्थात्, तुरुन्त वातानुकूलित घरको आवश्यक छैन, भइहाले पनि ५ देखि १० किलोवाट भए सौर्य प्रणालीले फालाफाल पुग्छ ।
हरेक नेपालीको मानसपटलमा १०–१५ वर्ष पुरानो महँगो सोलार प्रणालीको झल्को दिन्छ र तुरुन्त नाक खुम्च्याइँन्छ । अबको सोलार प्रणालीले घरमा बिजुलीको बिल शून्य पनि बनाउँछ, राष्ट्रलाई पनि योगदान पुर्याउन सक्छ । यो तत्य बुझ्न केही देश विदेशमा भइरहेका सौर्य ऊर्जाबारे अध्ययन गर्नु जरुरी छ । विदेश जानु नै पर्दैन । अहिले हातहातमा स्मार्ट फोन र इन्टरनेट छ ।

२. पानी तताउने सिस्टम : पानी तताउनका लागि हामी छुट्टै थर्मल सिस्टम प्रयोग गर्छौं । छत या भुइँमा पर्याप्त ठाउँ नभए पनि चिन्ता मान्नुपर्दैन । विद्युतीय गिजर प्रयोग गर्न सकिन्छ । विद्युतीय महसुल त सौर्य प्रणालीले कम गरिदिन्छ; जाडोमा नुहाउनमात्र होइन, तातोपानी भान्सामा समेत प्रयोग गर्न सकिन्छ– स्वास्थ्य पहिलो प्राथमिकता भएको हुँदा केटाकेटी र बूढाबुढीका लागि त झन् अत्यावश्यक ।

३. घर तताउने प्रणाली : विभिन्न मुलुकमा जाडो महिनामा घर तताउने प्रणाली फरक–फरक हुन्छन् । युरोपका चिसो मुलुकहरूमा भित्तामा हिटर लगाइन्छ भने कोरिया जापानतिर भुइँमा पाइप बिछ्याइन्छ । त्यो पाइपमा तातोपानी दौडाइन्छ । ठूला–ठूला भवनमा ब्वाइलर र कुलिङ टावर नै आवश्यक हुन्छन् तर स–साना आवसीय भवनमा सौर्य प्रणाली नै काफी हुन्छ । जलवायु परिवर्तनको प्रभाव नेपालमा पनि विस्तारै बढ्दैछ । अति गर्मी, अति जाडो, अतिवृष्टि, अनावृष्टिको अनुभव सबैले गरेकै छन् । प्रचुर अक्सिजन भएको प्राकृतिक प्रणाली बिग्रनुमा हामी नै जिम्मेवार छौं ।

४. यातायात : समय गतिशील छ । दुनियाँ अवशेष इन्धन (डिजल, पेट्रोल, ग्यास) को विकल्प खोज्दैछ । विद्युतीय सवारी साधन, हाइड्रोजन फ्यूलसेलको व्यापक चर्चा परिचर्चा भइरहेको छ । ई–भेहिकल त व्यापक भइसकेको छ । भविष्यमा कुनै दिन विद्युतीय सवारी रोजाइमा पर्यो भने इन्धन आफ्नै घरबाट प्राप्त हुन्छ, त्यो पनि निःशुल्क घामको किरण । रातमा ब्याट्री चार्ज गर्दा विद्युत प्राधिकरणले सस्तो महसुल कायम गरेकै छ । पछिल्ला दिनहरूमा पानीजहाज र हवाईजहाजलाई सौर्य ऊर्जाबाट सञ्चालन गर्ने कोसिस हुँदैछ । यद्यपि, ब्याट्रीको मूल्य र वजन दुवै चुनौतीविरुद्ध लड्दैछन्, संसारका वैज्ञानिकहरू ।  

५. सुरक्षा बत्तीहरू : राजमार्ग र बसपार्क, ट्याक्सी स्ट्यान्ड, हस्पिटल, होटल, औद्योगिक कोरिडरहरूमा सुरक्षा बत्तीहरू र सिसिटिभी क्यामेराहरू अपरिहार्य जस्तै भइसकेका छन् । सडकमा दुर्घटना हुँदा सिसिटिभी फुटेज नै काफी प्रशस्त भइदिए कोही खास साक्षी आवश्यक हुँदैनथ्यो । सुरक्षा बत्ती सबै ठाउँमा उपयुक्त नहुन सक्न्छ तर जहाँ उपयुक्त हुन्छ, त्यो ठाउँमा नियमित सरसफाइ र रेखदेख भने जरुरी छ । सस्तो उपकरण जडानले सौर्य ऊर्जाप्रति वितृष्णा पैदा भएको छ ।

६. जेनेरेटर : आजसम्म विद्युत आपूर्ति अवरुद्ध हुँदा डिजल या पेट्रोल जेनेरेटरको प्रयोग गरिँदै आएको छ । अब ती दिन गए । हाम्रो आफ्नै सस्तो विद्युतले राती चार्ज गर्छौं र नानो सेकेन्डमै स्टार्ट हुने ऊर्जा भण्डारण प्रणाली प्रयोग गर्न सक्छौं । ४ वर्षको डिजल र पेट्रोल जेनेरेटर, इन्धनको मूल्यले १५ वर्षलाई ढुक्कसँग पुग्छ ।
हस्पिटल, होटेल, स्कुल, कलेज, वित्तीय संस्था, कार चार्जिङ, कोल्ड स्टोर, सपिङ मल, पार्टी हल जस्ता व्यापारिक भवनहरूमा अब डिजल र पेट्रोल धुवामा उडाउनु पर्दैन । घाम पर्याप्त छ, एक सेकेण्ड पनि विद्युत अवरुद्ध नहुने प्रणाली उपलब्ध भइसक्यो ।

७. पानी तान्ने प्रणाली : पानी यो युगको अति महत्त्वपूर्ण तत्त्व हो । पानीकै अभावका कारण गाउँ क्षेत्रबाट बसाइँसराइ तीव्र छ, जुन दुःखद छ । गाउँ र प्राकृतिक सौन्दर्यको उच्च व्यवस्थापनले आन्तरिक र बाह्य पर्यटन आकर्षण गर्न सक्थ्यो । पर्यटनलाई उद्योगमा परिणत गर्न गाउँलाई नै सहर बनाउन सक्नुपर्छ । अन्य उद्योगका लागि कच्चा पदार्थ आवश्यक छ, जुन हामी आयात गरेर उत्पादन गर्दा प्रविधिको अभावले हामीलाई मूल्य बढी पर्ने हुँदा आयातले प्रशय पाएको छ ।

स्थानीय र केन्द्रीय सरकार भ्यू–टावर निर्माण गर्नुलाई उपलब्धि ठानेको देखियो । भ्यू–टावरको अवधारणा राम्रो हो तर त्यो अझै पानीको टंकी हुन्थ्यो भने अझै राम्रो हुन्थ्यो । अब डाँडाकाँडामा पानीको टंकी बनाइनुपर्दछ तर त्यही टंकी नै भ्यू–टावरमा परिणत गर्नुपर्दछ । खोला, खोल्सा पानीको स्रोत उपलब्ध स्थानबाट डाँडाको टंकीमा नेट मिटर प्रयोग गरी सौर्य प्रणालीबाट पानी तान्न सकिन्छ । घाम लागेको बेलामा बढी भएको विद्युत सरकारी प्रसारण लाइनमा जान्छ र राती प्रसारण लाइनबाट आवश्यक परेमा लिन सकिन्छ । नेट मिटरमा आधारित सौर्य ऊर्जाले यो प्रणालीलाई सहज बनाउँछ ।

माथिका केही उदाहरणहरू मात्र हुन् । प्रविधिको विकासससँगै अहिले जलविद्युत र सौर्य आयोजनालाई गाभ्न सकिने भएको छ । चीनमा त प्रयोग नै भइसकेको छ । हाम्रो जस्तै पर्याप्त जलविद्युत भएको र भुटानले यसलाई अवलम्बन गर्न सक्छन् । भुटानले अब जलाशय आयोजनाको पानी सञ्चित गर्न सौर्य ऊर्जासँग हाइब्रिडाइज गर्दैछ, जुन पछिल्लो सफल प्रविधि बनेको छ ।

जलविद्युत जस्तै सौर्य ऊर्जा व्यापक छ । कृषि, पर्यटन, यातायात, वातावरण, कलकारखाना सबैसँग प्रत्यक्ष जोडिएको छ । विस्तृत जानकारी यो लेखमा नअटाउन सक्छ । सौर्य ऊर्जा जलविद्युतको दुस्मन होइन, प्रतिस्पर्धी पनि होइन । बरु पेट्रोलियम (डिजल, पेट्रोल, कोइला, एलपिजी) प्रतिस्पर्धी हुन् । त्यो कोणबाट आ–आफ्नो दृष्टिकोण बनाउने गरौं । दूरदर्शी बनौं, फराकिलो सोच राखौं । पानी निःशुल्क हो र घामको किरण पनि । दुवैको जतन गरौं, प्रचुर मात्रामा प्रयोग गरौं ।

आफ्नो र मुलुक दुवैको हित हुन्छ भने डिजल र पेट्रोलको पनि आयात न्यूनिकरण गर्न सकिन्छ । नयन अपाङ्ग भएका व्यक्तिले हात्तीको कान छामे जस्तै सौर्य ऊर्जाको व्याख्या गर्न छाडेर गुगल खोजीमा कष्ट गरे राष्ट्रले ऊर्जामा गतिशील फड्को मार्ने थियो, परिणाम अवश्य देखिन्थ्यो । उखान होइन, ध्रुवसत्य हो, सूर्यलाई हत्केलाले छेक्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit