विद्युत अपडेट

  • प्राधिकरण : ८९०१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५२७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७७७९ मे.वा.घन्टा
  • आयात : ३१२० मे.वा.घन्टा
  • निर्यात : १२४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : ८२५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५५९०१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३९५ मे.वा.
२०८३ जेठ १७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

परिचय

नेपालको विद्युत् क्षेत्र पछिल्ला दुई दशकमा उल्लेखनीयरूपमा अघि बढेको छ । निजी क्षेत्रको सक्रिय सहभागिताले साना तथा मध्यम आकारका जलविद्युत् आयोजना देशभर फैलिएका छन् । उत्पादन क्षमतामा आएको वृद्धि उत्साहजनक छ । यसले आत्मविश्वास बढाएको छ । विद्युत् क्षेत्र वर्तमान समयमा नेपालको अर्थतन्त्रको इन्जिन बनेको छ । विद्युतीकरणको बिस्तार गौरवपूर्ण छ । विद्युत्‌ पहुँच करिब शतप्रतिशत जनसङ्‌ख्यामा पुगेको छ । उत्पादन र पहुँचमा उत्साहजनक विकास हुँदै गर्दा प्रसारण प्रणालीमा भने उत्साह छैन । यसको विकास नभएको होइन तर विकास र बिस्तारको यथास्थितिको सोचमा आमूल परिवर्तन गर्नु जरुरी छ । यो लेखमा प्रसारण पूर्वाधार सम्बन्धी विविध आयामको चर्चा गर्दै २०८० को 'दशकलाई प्रसारण सञ्जाल दशक' बनाउने दिशामा जुट्न आह्वान गरिएको छ ।

१.    पूर्वाधारको पनि पूर्वाधार

पछिल्ला तीन दशकमा नेपालले सडक विकास र बिस्तारमा ठूलो लगानी गर्‍यो । देशको भूगोल र जनसङ्‌ख्यालाई विकास र आधुनिकतामा जोड्न सडक सञ्जाल अपरिहार्य पूर्वाधार हो । यसै पनि अति महत्त्वका साथ अगाडि बढाइयो । विकास र समृद्धिका लागि चाहिने उद्योग, ऊर्जा लगायत पूर्वाधारहरू विकासका लागि सडक पूर्वाधारको पनि पूर्वाधार हो भन्ने पुष्टि भएको छ । जनता तथा सामग्रीले यात्रा गर्न सडक अपरिहार्य भएजस्तै विकास र समृद्धिको संवाहक विद्युत्‌मार्ग मार्ग पनि अनिवार्य छ । एक उत्पादन केन्द्रको विद्युत् प्रणालीमा जोड्न वा एक विद्युत् खपत केन्द्रसम्म पुर्‍याउन तत्कालै गर्जो टार्ने लाइनको रूपमा मात्रै ग्रहण गरिनुले पूर्वाधारको अवधारणा आत्मसात् गर्न सक्तैन । पूर्वाधार हुनुको नाताले यसको विकास अन्य थुप्रै प्रणाली तथा अङ्‌गको विकासभन्दा पूर्ववत गर्नु जरुरी हुन्छ ।

२.    कुखुरा कि अण्डा

नेपालको ऊर्जा क्षेत्रमा लामो समयदेखि दोहोरिँदै आएको एउटा समस्या छ, पहिले विद्युत् आयोजना बनाउने कि प्रसारण लाइन ? समग्रतामा हेर्दा निश्चित क्षमताको उत्पादन केन्द्र विकास गर्ने लगानीको तुलनामा प्रसारण संरचना विकासमा सामान्यतः १० प्रतिशतभन्दा कम लगानी पर्छ । निर्माण जटिलता र अवधि त्यसरी नै आकलन गर्न सकिन्छ । जग्गा प्राप्ति, वनको स्वीकृति लगायत समस्या हुन्छन् । ती समस्या दुवैमा लागु हुन्छन् ।

प्रसारण लाइन जलविद्युत् केन्द्र निर्माण सम्पन्न हुने बेलामा मात्र सम्पन्न गर्नुपर्छ भन्ने हिसाबमा तयारी गरिन्छ । अझ दुःखको कुरा, थुप्रै आयोजनामा विद्युत्‌ केन्द्रको निर्माण सम्पन्न भइसक्दा पनि लाइन बन्दैनन् । १११ मेगावाटको रसुवागढी, सान्जेन लगायत आयोजनाले यस्तो नियति भोग्नुपर्‍यो । अर्बौँ रूपैयाँ लगानीको विद्युत् केन्द्रले त्यसको केही अंशमा बन्ने प्रसारण लाइन कुरेर उपयोगविहीन भई बस्नु परेका तमाम उदाहरण छन् । उता विद्युत् केन्द्रले उत्पादन क्षमता राख्छन्, यता बिजुलीको उत्कट माग छ । हिँड्ने बाटोको अभावमा केन्द्रहरू आंशिक क्षमतामा चल्न वाध्य हुन्छन् ।

क्षमता भए पनि उत्पादन गर्न नपाएको विषय आमजनले बुझ्ने गरी उल्लेख्य रूपमा प्रचारसमेत भएको छैन । उत्पादन केन्द्र र प्रसारण लाइनमा कुनै एकले केही समय उपयोगविहीन भएर बस्नु परेको छ । जसरी सडकको लगानी पहिल्यै गरिन्छ र उद्योग, होटेल, मनोरञ्जनस्थल बन्छन्, त्यसरी नै बिजुली बहने मार्ग पहिल्यै भविष्यका लागि बन्नुपर्छ । उत्पादन केन्द्र उपयोगविहीन हुनु गम्भीर विषय हो । केन्द्र र प्रसारणबीचको समन्वय अभावले आयोजनाको ठूलो लगानी उपयोगविहीन भई वित्तीय प्रतिफलमा ढिलाइ हुन्छ । सँगै सम्पन्न हुन सक्दा राम्रो । तथापि, अघिपछि हुने हो भने केन्द्रभन्दा प्रसारण लाइन पहिल्यै सम्पन्न हुनुपर्छ ।

३.    विद्युतीकरणमा सोच बदलौँ

हिजो बिजुली भनेको उज्यालो मात्र थियो । आज पनि देशका केही भागमा यही नियति छ । यही सोचको मारमा छ, नेपालको विद्युतीकरण । यसै पनि समयमा कुनै आयोजना सम्पन्न नहुने समस्या मार खेप्नु परेको छ । वर्षौंको अलमलपछि सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन पुग्यो । हिजोको विकासक्षेत्रको केन्द्र र आजको प्रदेश राजधानी सुर्खेतमा यति ढिलो केन्द्रीय प्रणाली पुग्नुलाई उत्सव मान्नुपर्ने नियति छ । यो समयमा त हुम्लामा १३२ केभी लाइन पुग्नुपर्थ्यो त्यो हास्यास्पद ठहरिन सक्छ ।

सामान्यतः प्राविधिक हिसाबले ५० किलोमिटरभन्दा बढी लैजान नहुने ३३ केभी लाइन कोहलपुरबाट सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु हुँदै ३०० किलोमिटर हाराहारी दूरीमा हुम्लासम्म बिस्तार हुँदैछ । बिजुली नै नपुगेको हुम्लामा ३३ केभी लाइन पुग्नु मात्रै पनि रोमाञ्चक सुनिन सक्छ, त्यहाँका जनताका लागि । आन्तरिक खपत बढाउने विभिन्न योजना बनिरहँदा हिजोकै अवधारणा कायम राखेर कहाँ पुगिएला ?

हुम्लाको सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको २ वर्ष हुँदैछ । एक सिलिण्डर ग्यासको रू. ८-९ हजार रुपैयाँसम्म तिरेका हुम्लीलाई सडक पुगेपछि रू. २५००-३००० मा सिलिण्डर पाउँदा चमत्कारकै अनुभूति भएको हुन सक्छ । आयातित ग्यासको साम्राज्य बिस्तार हुँदोछ । राष्ट्रिय महत्त्वका साथ सडक सञ्जाल पुर्‍याएजस्तै प्रसारण लाइनमा नयाँ मानक बनाउने समय आएको छ । नयाँ राष्ट्रिय महत्त्व तय गरेर विकास गर्दा हुम्लाजस्ता जिल्लालाई ग्यास बाल्नै नपर्ने गरी विद्युतीय चुलोमा रूपान्तरण गर्न नसकिएला ?

हुम्ला वा मुगुले हिजोका कैयौं जिल्लाको नियति जस्तै “पहिला गुजारामुखी बिजुली अनि मात्र गुणस्तरीय बिजुली” भन्ने लामो बाटो हिँड्नु जरुरी छ ? वा गुणस्तरीय बिजुलीका लागि पालो पर्खेर पछाडि नै हुनुपर्ने कारण छ ? ऊर्जा विकासमा नयाँ अवधारणा लागु गर्न ढिला भइसक्यो । शतप्रतिशत जनतामा विद्युतीकरण गर्ने एजेण्डामा केन्द्रित हुँदा गुणस्तरलाई उपेक्षा गर्नु हुँदैन । भोल्टेजको तथा हावाहुरीको समस्या सधैँ खेपिरहनुपर्ने नियति बन्नु हुँदैन ।

हुम्ला, जुम्ला वा मुस्ताङ चिसो जिल्लाका परिचायक मात्र बन्नुको सट्टा कोठादेखि पानी तताउने सुविधासहितका आवास र होटेलहरूको पहिचान बोक्ने बनाउनु पर्नेछ । प्रसारण लाइन बिस्तार हिजो जस्तो ढिलो हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्छ । सडक सञ्जालको लोभलाग्दो गतिले प्रसारण लाइनको अभूतपूर्व बिस्तारमा उल्लेख्य सहजीकरण गरेको छ । खाँचो छ त हाम्रो सोच परिवर्तनको ।

कैयौँ जनप्रतिनिधिलाई गुणस्तरीय विद्युत्‌ बिस्तारको छनोट नै थाहा छैन । त्यसैले, विद्युतीकरणको मागमा बढ्ता जोड दिनु स्वाभाविक होला । प्राविधिक पाटो बुझेकाले त्यस्तो माग यथारूपमा ग्रहण गर्ने भन्दा प्राविधिकरूपमा उत्कृष्ट उपायहरू सुझाउनु उपयुक्त हुन्छ । सुर्खेत, जुम्ला, मुस्ताङजस्ता जिल्लामा न्यूनतम कति भोल्टेजको बिजुली उपयुक्त हुने हो ? प्रसारण र वितरण भोल्टेजको परिभाषा बदल्नुपर्ने समय आयो । हिजोका ३ दशकमा पूर्वाधार क्षेत्रको सबैभन्दा ठूलो ध्यान सडकमा केन्द्रित गरेजस्तै अबको दशक प्रसारण लगानीमा जोड दिनुपर्छ । जनप्रतिनिधिले पनि यसलाई प्राथमिक विषय बनाउनै पर्छ ।

४.    लामो दूरी र बिजुली खेर

भोल्टेज घट्ने र प्रणाली अस्थिर हुने समस्या वा कम भोल्टेजमा लामो दूरीसम्म प्रसारण गर्दा उल्लेख्य ऊर्जा नोक्सानी हुन्छ । यसरी उत्पादित बिजुली सयकडा दशभन्दा बढी नोक्सान भइरहेको छ । गर्जो टार्ने हिसाबले मात्र विकास गर्दा दीर्घकालसम्म नोक्सानी भइरहन्छ । उत्पादकले बेच्दा वा वितरण गर्दा समेत उल्लेख्य नोक्सान हुन्छ । खपत बढ्दा नोक्सान परिमाण बढ्दै जान्छ । नोक्सानी आर्थिकमात्र नभई प्राविधिक तथा वातावरणीय दृष्टिबाट पनि अनुचित छ । गुणस्तरीय बिजुली अभावमा उपभोक्ता, उद्योग, कलकारखानाले ठूलो अप्रत्यक्ष मार खेप्नु परेको हुन्छ । जुम्लामा एक्स-रे लगायत उपकरण भए पनि चलाउन नसकेका समाचार सुनिएका छन् ।

५.    एकीकृत दृष्टिकोण

जलविद्युत्‌मा लाइसेन्स खुला गरेर निजी क्षेत्रलाई सहभागी गराउँदा ठूलो उपलब्धि हासिल भयो । निजी क्षेत्रमार्फत हुने विकासको एउटा ठूलो समस्या खण्डीकृत विकास हो । आज एउटै नदी करिडोरमा ४-६ वटासम्म छुट्टाछुट्टै प्रसारण लाइन बनेका छन् । प्रत्येक आयोजनाले आफ्नै लाइन निर्माण गरेको छ । नदी कोरिडोर र आसपासका पाखाहरू तारै-तारले भरिएका छन् । नयाँ लाइन तथा नयाँ संरचना विकास गर्न जग्गा उपलब्ध पाउन गाह्रो छ । टावर, तार आदिमा दोहोरो खर्च भएको छ । सबैले उही प्रक्रिया दोहोर्‍याउनु पर्दा उत्तिकै प्रशासनिक खर्च भएको छ । सुन्दर पहाड र हिमालको फोटो खिचौँ भन्दा तारले बाधा गर्ने गरी वातावरणीय असरसमेत परेको छ ।

निजी क्षेत्रले आफ्ना आयोजना न्यूनतम लागतमा ग्रिडसँग जोड्ने प्रयास गर्नु एकदम स्वाभाविक हो । उनीहरूले भविष्यमा निर्माण हुने आयोजनाका लागि अतिरिक्त क्षमतामा लगानी गर्ने कुरा भएन । एउटा कोरिडोरका ५ आयोजनाका लागि ठूलो भोल्टेजको एकीकृत लाइन गर्नु प्रभावकारी हुन्छ । त्यसमा लागत विभाजन गर्न सकिन्छ । त्यसो नगरी एक्लैले सानो भोल्टेजको लाइन बनाउँदा त्यो बढी लागत तिर्नुपर्ने अवस्था छ । यस्तै, तारमा २-३ प्रतिशतको सट्टा १० प्रतिशतसम्म बिजुली खेर जाने स्थिति छ ।

त्यो अवस्थाले स्पष्ट सन्देश दिन्छ, प्रसारण सञ्जालको एकीकृत विकास गरिनुपर्छ । विद्यमान अभ्यासले खण्डित समाधानलाई प्रोत्साहन गरिरहेको छ । नीतिगत सुधारमार्फत राज्यले आफैँ वा निजी क्षेत्रलाई उत्प्रेरित गरेर दीर्घकालीन र योजनाबद्ध प्रसारण सञ्जाल विकास गर्नु आवश्यक छ । एक पटक साना संरचना बनेपछि त्यसलाई सुधार्न वा विस्तार गर्न गाह्रो हुन्छ, जसले प्रणालीलाई दीर्घकालीन रूपमा अड्काइदिन्छ ।

६.    वस्तुगत उपाय

नेपालको ऊर्जा बहसमा तीन वटा कुरा बारम्बार दोहोरिन्छन्  - आन्तरिक खपत वृद्धि, औद्योगिकीकरण र ऊर्जा निर्यात ।

यी तीनै लक्ष्य प्राप्त गर्न हलो अड्किएको विषय प्रसारण पूर्वाधार नै हो । यसतर्फ पर्याप्त ध्यान पुगेकै छैन । सबैले विद्युतीय चुलो प्रयोग गर्दा धान्न नसक्ने प्रसारण तथा वितरण प्रणाली विद्यमान छ । विद्युतीय चुलोको प्रचार-प्रसार वा अनुदान बाँडेरमात्र आन्तरिक खपत बढ्दैन । उद्योगमा भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध नहुँदासम्म पनि खपत बढ्दैन । ऊर्जा निर्यात गर्न उच्च भोल्टेज र स्थिर ग्रिड आवश्यक छ । प्रणाली कमजोर हुँदा निर्यात सम्भावना पनि खुम्चिन्छ । यसैले आन्तरिक खपत, औद्योगिकीकरण तथा निर्यातका आकांक्षा र लक्ष्य हासिल गर्न प्रसारण सञ्जालको व्यापक विकास र बिस्तार आधारभूत खुड्किला हुन् ।

हालसम्म धेरै प्रसारण योजना उत्पादन पक्षबाट निर्देशित भएका छन् । दिगो रूपमा खपत बढाउन माग केन्द्रलाई ध्यानमा राखेर योजना बनाउनुपर्ने हुन्छ । प्रसारण सञ्जालमा नदी बेसिन (आपूर्ति) लाई ध्यानमा राखियो । विशाल ऊर्जा खपत गर्ने उद्योग, कल-कारखाना, औद्योगिक क्षेत्र (माग) को परिकल्पना गरिएन । प्रसारण प्रणालीले उत्पादनलाई पछ्याउने होइन, माग सिर्जना गर्ने पूर्वाधारको रूपमा पनि काम गर्नुपर्छ । मजबुत प्रसारणले उद्योग, शहर र आर्थिक गतिविधिको स्थान निर्धारण गर्दै समग्र विकासको दिशा निर्धारण गर्न सहयोग गर्छ ।

७.    भरपर्दो विद्युतीकरण

एकातिर, सबै जनतालाई आधारभूत विद्युतीकरणमा जोड्न ढिला भइसकेको छ । अर्कोतिर, भरपर्दो बिस्तार नयाँ शिराबाट गर्नुपर्ने छ । यसका लागि खानेपानी क्षेत्रको एउटा सन्दर्भ लिन सकिन्छ । उक्त क्षेत्रमा आधारभूत र सुरक्षित गरी दुई किसिमका खानेपानी उपलब्धताका तथ्याङ्क छन् । दुई किसिमका कार्यसूची र प्राथमिकता छन् ।

विद्युतीकरण पनि आधारभूत र भरपर्दो विद्युत् पुगेको जनसङ्‌ख्या गरी दुई वर्गमा बाँडेर नयाँ अभियान चलाउनु उपयुक्त हुन्छ । वितरणका दुई सञ्जाल नक्शा बनाएर कार्यान्वयन गर्दै जानु उपयुक्त हुन्छ । पुरानोलाई क्रमिक मर्मत र स्तरोन्नति गर्ने शैलीको सट्टा नयाँ आयोजना लागु गरेर रणनीतिक बिस्तारको दिशामा जानु सही हुनेछ ।

अन्त्यमा

नेपालको ऊर्जा क्षेत्र अहिले महत्त्वपूर्ण मोडमा छ । उत्पादनमा भएको प्रगति प्रशंसनीय भए पनि त्यसको पूर्ण लाभ लिन प्रसारण प्रणालीलाई नितान्त नयाँ दृष्टिकोणबाट विकास गर्न आवश्यक छ । प्रसारणलाई दुई विन्दुबीचको लाइनका रूपमा मात्र नभई विद्युत्‌को अविच्छिन्न संजालका रूपमा हेरिनुपर्छ । बिजुली विकास र समृद्धिको जननी हो भने प्रसारण लाइन पूर्वाधारको पनि पूर्वाधार हो ।

प्रसारण लाइनको विकास भविष्यको माग र आपूर्तिलाई परिकल्पना गरेर एकीकृत ढंगले गरिनुपर्छ । यसलाई विकासको मेरुदण्डका रूपमा बुझ्नुपर्छ । यो उत्पादनमात्र होइन, माग र समग्र आर्थिक विकासलाई पनि जोड्नुपर्छ । उत्पादनमा उल्लेख्य वृद्धि गर्न, खपत बढाउँदै हरित ऊर्जामार्फत विकास र समृद्धि गर्नुपर्ने छ ।

नोक्सानी कम गर्दै ऊर्जा दक्षता, प्रचुर बिजुली निकालेर ऊर्जा विनिमय एवम् निर्यात गर्न, माग र आपूर्तिको सन्तुलन कायम गर्दै विश्वसनीय प्रणाली स्थापना गर्न तथा न्यूनतम वातावरणीय असर सुनिश्चित गर्न व्यापक विकास र बिस्तार गर्नु अबको राष्ट्रिय कार्यदिशा हुनुपर्छ । चालु दशकलाई प्रसारण सञ्जाल विकास एवम् बिस्तारको दशक भन्न मिल्ने गरी लाग्नुपर्ने देखिन्छ । सिर्जनशील एवम् मौलिक चिन्तन गर्दै आवश्यक सबैखाले कानुनी, नीतिगत, आर्थिक, व्यवहारिक तथा उत्प्रेरक उपायहरू अपनाएर प्रसारण सञ्जालको व्यापक विकास अबको विकल्प हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३