काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृह लेदो र पानीले पूर्णरूपमा पुरिएको पाइएको छ । उद्धार टोलीसँगै भित्री भागसम्म पुगेर फर्किएका वरिष्ठ भूगर्भविद् तथा सुरुङ विज्ञ विष्णु शिवाकोटीका अनुसार विद्युत्गृहको छैटौँ तलामा रहेको चिल्लर प्लान्ट (कुलिङ) १ देखि १.५ फिट मात्र खाली रहेर बाँकी भाग लेदोले भरिएको हो ।
सुरुङको करिब १७५ मिटरभित्र प्रवेश गरी गरिएको निरीक्षणका क्रममा सुरुङहरूमा कम्मरसम्म पानी र लेदो जमेको पाइएको छ । शिवाकोटीका अनुसार पावरहाउसको छानाका जस्ताहरू खसेको र नियन्त्रण कक्ष (कन्ट्रोल रुम) को छत हुँदै त सिएका संरचनाहरू अवलोकन गर्दा पाँचौँ तलाभन्दा तलका सबै भाग पुरिएका छन् ।
विद्युत्गृहका तल्ला तलाहरू पूर्ण रूपमा लेदोले ढाकिएकाले भित्र जीवन्त अवस्थामा कोही भेटिने सम्भावना नरहेको र खोजी कार्य अत्यन्त जटिल बनेको उनले बताए । हाल नेपाली सेनाले उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।