विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत १९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तामाकोसी–काठमाडौँ ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको न्यु खिम्ती–बाह्रबिसे खण्ड 'नो लोड'मा चार्ज गरी परीक्षण सुरु गरिने भएको छ । कुल ४२.७६ किलोमिटर डबल सर्किट लाइनको पहिलो सर्किट यसअघि नै २२० केभी क्षमतामा सञ्चालनमा ल्याइएको थियो । हाल दोस्रो सर्किटको जडान तथा विस्तार पूरा भएपछि बुधबारबाट परीक्षण गर्न लागिएको आयोजना प्रमुख नितिश पौडेलले उर्जा खबरसँग बताए ।

प्रसारण लाइनअन्तर्गत रामेछापको मन्थली–१३ साँखेमा रहेको ४००/२२०/१३२ केभी तथा ६३० एमभिए क्षमताको न्यु खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन ४०० केभी सबस्टेसनसम्म विस्तार गरिएको छ । लाइनको नो लोडमा चार्ज गरी परीक्षण गर्नुअघि मंगलबार न्यु खिम्ती सबस्टेसनमा जडित ३१५ एमभिएको ट्रान्सफर्मरसमेत चार्ज गरिएको थियो ।

आयोजना प्रमुख पौडेलका अनुसार उक्त प्रसारण लाइनमा ११८ वटा टावर निर्माण गरी ४०० केभीको क्वाड मुज कन्डक्टर जडान गरिएको छ । केइसी–इन्टरनेशनल इन्डियाले २०२१ अक्टोबरमा निर्माण सक्ने गरी उक्त आयोजनाको ठेक्का २०१९ मे मा प्राप्त गरेको थियो । झन्डै सात महिनाअघि नै प्रसारण लाइनको निर्माण पूरा भएको थियो ।

यद्यपि, ४०० केभीको बाह्रबिसे सबस्टेसन सञ्चालनमा आउन नसक्दा ४०० केभी कन्डक्टरबाट विद्युत् प्रसारण गर्न सकिएको छैन । चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेशन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का सन् २०१७ डिसेम्बरमा पाएको थियो । २ वर्षमा पूरा गर्ने गरी ठेक्का लिएको उक्त सबस्टेसनको काम अब २ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

तामाकोसी र सुनकोसी नदी आसपासमा निर्माणाधीन आयोजना तथा सञ्चालनमा रहेका जलविद्युत् केन्द्रको बिजुली काठमाडौँ तथा भारत पुर्‍याउन यो प्रसारण लाइन महत्त्वपूर्ण मानिएको छ । एसियाली विकास बैंकको ऋण तथा अनुदान, नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानी (करिब २ अर्ब रुपैयाँ लागत) मा आयोजना निर्माण भएको हो ।

यस लाइनले खासगरी मुजफ्फरपुर–ढल्केबर र न्यु बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लिंक लाइनहरूलाई ढल्केबर–इनरुवा र ढल्केबर–न्यु खिम्ती–लप्सीफेदी–रातमाटे–दमौली–न्यु बुटवल खण्डहरूसँग जोडेर एक उच्च क्षमताको राष्ट्रिय तथा सीमापार 'लुप' निर्माण गर्ने छ । यसबाट नेपालकाे विद्युत् प्रणाली र भारतकाे विद्यु प्रणालीबीच उच्च स्तरकाे अन्तरआबद्धता विस्तार हुने छ ।

यसमा लप्सीफेदीदेखि पश्चिमको खण्ड अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा लाइन तथा सबस्टेसन निर्माणको काम अघि बढेको छ ।

यो 'लुप लाइन' निर्माण भए प्रत्येक सर्किटबाट २/२ हजार गरी कुल ४ हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने अवस्था बन्न सक्ने आयोजना प्रमुख पाैडेलकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३