विद्युत अपडेट

  • प्राधिकरण : ८९०१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५२७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७७७९ मे.वा.घन्टा
  • आयात : ३१२० मे.वा.घन्टा
  • निर्यात : १२४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : ८२५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५५९०१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३९५ मे.वा.
२०८३ जेठ २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपालले गत वर्षायाममा करिब १,४०० मेगावाट स्वच्छ विद्युत् खेर फाल्यो । बिजुली उत्पादन त भयो तर खपत वा निर्यात गर्ने पर्याप्त बाटो थिएन । भारतले दिएको १,१४१ मेगावाटको निर्यात स्वीकृतिभन्दा बढी उत्पादन हुँदा बाँकी अधिकांश बिजुली नेपाल विद्युत् प्राधिकरणकै केन्द्रहरूमा खेर गयो । ठीक केही महिनापछि सुख्खायाम सुरु हुनासाथ त्यही देशले भारतबाट करिब ६५४ मेगावाट विद्युत् आयात गर्नुपर्‍यो ।

एउटै वर्षभित्रका यी दुई विरोधाभासपूर्ण घटनाले नेपालको ऊर्जा क्षेत्रको मूल समस्या उजागर गर्दछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले यही समस्यासहित ऊर्जा क्षेत्रलाई उल्लेख्य प्राथमिकता दिएको छ, र यसमा केही साँच्चै नयाँ सोच छ । मलाई यी पहल सही लाग्छन् तर घोषणा र उपलब्धिबीचको दूरी नै यो बजेटको असली परीक्षा हो ।

प्रसारणको साँघुरो ढोका

बजेटले यस वर्ष जलविद्युत्‌बाट ६७० र सौर्य ऊर्जाबाट ३७० गरी थप १,०४० मेगावाट प्रणालीमा जोड्ने र कुल जडित क्षमता ५,५३५ मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ। हालको स्थापित क्षमता करिब ४,२९६ मेगावाट भएकाले यो लक्ष्य महत्त्वाकाङ्‌क्षी भए पनि असम्भव होइन । १,२०० मेगावाटको बूढीगण्डकी र ६७० मेगावाटको दूधकोसी जलाशय आयोजना अघि बढाउने प्रतिबद्धता त झनै स्वागतयोग्य छ – किनभने सुख्खायामको अभाव चिर्ने दिगो उपाय यिनै आयोजना हुन् ।

घोषणाहरूको दिशा सही छ तर नेपालको ऊर्जा इतिहासले बारम्बार सिकाएको पाठ बेग्लै छ – यहाँ समस्या सोचको होइन, घोषणालाई धरातलमा उतार्ने क्षमताको हो ।

यद्यपि, उत्पादन बढाएर मात्र पुग्दैन । नेपालको ऊर्जा क्षेत्रको सबैभन्दा कमजोर कडी उत्पादन होइन, प्रसारण पूर्वाधार हो । माथिको विरोधाभास त्यसैको परिणाम थियो । बजेटले प्रसारण लाइनका लागि ७० अर्ब र समग्र ऊर्जा क्षेत्रका लागि ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी लाइन यसै वर्ष सम्पन्न गर्ने भनिएको छ । प्राथमिकता ठीक छ तर हरेक वर्ष यस्तै लक्ष्य घोषणा हुन्छन्; अब चुनौती योजना बनाउनु होइन, समयमै निर्माण सम्पन्न गर्नु हो । प्रसारण पूर्वाधार  नबनी नेपालले गत आर्थिक वर्ष गरेको १७ अर्ब ४६ करोड रुपैयाँको विद्युत् निर्यात समेत बढाउन सकिँदैन ।

हरित हाइड्रोजन र युरिया

सबैभन्दा बढी चासो लागेको घोषणा हरित हाइड्रोजन र हरित युरियासँग सम्बन्धित छ । हेटौँडामा २.५ मेगावाटको हरित हाइड्रोजन पाइलट प्लान्ट र प्राधिकरण–निजी क्षेत्र साझेदारीमा हरित युरिया उद्योग स्थापना गर्ने योजनाले नेपालको ऊर्जा रूपान्तरणको सही बाटो देखाउँछ । नेपालले बर्सेनि करिब साढे तीनदेखि साढे चार लाख मेट्रिक टन रासायनिक मल आयात गर्छ– कुल मागको लगभग आधा मात्र । स्वदेशी बिजुलीबाट मल बनाउन सके यो निर्भरता घटाउन सकिन्छ तर यहाँ इमानदार हुनै पर्दछ । हाइड्रोजनमा आधारित युरिया कारखानाको अध्ययन सन् १९८४ मै सुरु भएको थियो; ४२ वर्षपछि पनि एउटै कारखाना बनेको छैन । हरित अमोनिया प्रणालीको प्राविधिक-आर्थिक विश्लेषणमा काम गरिरहेको व्यक्तिका हैसियतले म स्पष्ट देख्दछु– नेपालको जलविद्युत्‌को लागत प्रतिस्पर्धी भए पनि उत्पादन लागत बिजुलीको मूल्यप्रति अत्यन्तै संवेदनशील हुन्छ ।

त्यसैले बजेटको 'खरिद सुनिश्चितता सम्झौता' को घोषणापछि निर्णायक प्रश्न यिनै हुन्: कति वर्षका लागि, कति मूल्यमा, कसले किन्ने ? यी विवरण स्पष्ट नभई कुनै बैंकले यस्तो ठुलो आयोजनामा लगानी गर्दैन । अर्को व्यावहारिक अड्चन पनि छ: युरिया कारखानाले वर्षभरि निरन्तर बिजुली खोज्छ, तर हाम्रा अधिकांश 'रन अफ रिभर' आयोजना सुख्खायाममा सुक्छन् । बर्दघाटको प्रस्तावित कारखानाका लागि जर्मन कम्पनी डिआइएजीले ३०० मेगावाट निरन्तर आपूर्ति मागेको यसैको सङ्‌केत हो । निष्कर्ष प्रस्ट छ– हरित युरियाको भविष्य जलाशय आयोजनाको सफलतासँग गाँसिएको छ ।

एआई र ऊर्जा

बजेटको सबैभन्दा नौलो घोषणा भने स्युचाटारमा देशकै पहिलो 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गरी स्वच्छ बिजुलीलाई उच्च मूल्यको डिजिटल सेवामा बदल्ने प्रस्ताव हो । विचार आकर्षक छ र यसमा दम पनि छ: अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) का अनुसार विश्वभर डेटा सेन्टरको बिजुली खपत सन् २०३० सम्ममा करिब दोब्बर भई ९४५ टेरावाट-घन्टा पुग्नेछ, जसको मुख्य चालक एआई हो । सस्तो नवीकरणीय ऊर्जा भएको नेपालका लागि यो साँचो अवसर हुन सक्छ । यद्यपि, केही सतर्कता अपनाउनु आवश्यक हुन्छ ।

ठूला एआई डेटा सेन्टरलाई सस्तो बिजुली मात्रले पुग्दैन– उच्च गतिको अन्तर्राष्ट्रिय इन्टरनेट, भरपर्दो ग्रिड, दक्ष जनशक्ति र नीतिगत स्थिरता पनि उत्तिकै चाहिन्छ । यस्ता केन्द्रले सयौँ मेगावाट बिजुली निरन्तर खपत गर्छन् र त्यो माग वर्तमान ग्रिडले कसरी धान्ने भन्ने प्रश्न टड्कारो बनेको छ । यो सम्भावनालाई हतारिएको ठुलो परियोजनाभन्दा सानो, सुविचारित पाइलट परियोजनाका रूपमा परीक्षण गर्दा बढी यथार्थपरक हुनेछ । उत्साह राम्रो हो तर उत्साह आफैँमा योजना होइन ।

ब्याट्री, प्राधिकरण र जलवायु

केही घोषणा समयानुकूल छन् । काठमाडौँ उपत्यकामा प्रस्तावित १०० मेगावाटको ब्याट्री भण्डारण प्रणालीले वर्षायाममा खेर जाने बिजुलीलाई सञ्चित गरी सुख्खायाममा उपयोग गर्ने बाटो खोल्छ– यो आयात घटाउने मात्र होइन, ग्रिड स्थिरताको पनि उपाय हो । त्यस्तै, लामो समयदेखि अड्किएको नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरण/व्यापारमा विभाजन गर्ने निर्णयले संस्थालाई थप जवाफदेही बनाउन सक्छ, यद्यपि कर्मचारीको सेवा सुरक्षा र ऋण व्यवस्थापनलाई सावधानीपूर्वक सम्बोधन गर्नुपर्नेछ ।

जलवायु जोखिमका विषयमा भने बजेट अपेक्षाकृत मौन छ । नेपालको बिजुली प्रणाली जलविद्युत्‌मा अत्यधिक निर्भर छ र हिन्दुकुश हिमालयमा हिमनदी पग्लने दर सन् २००० यता दोब्बर भइसकेको ताजा अनुसन्धानले देखाएको छ । हिमनदीको दीर्घकालीन ह्रासले नदीको बहाबमा असर पार्दा 'रन अफ रिभर' आयोजना थप मौसमी हुनेछन् । यसैले, जलाशय आयोजना र ऊर्जा विविधीकरण– सौर्य विस्तार, ग्रिड आधुनिकीकरण र ऊर्जा दक्षता– भविष्यमा विकल्प होइन, बाध्यता बन्नेछन् ।

परीक्षा र कार्यान्वयन

यी सबै घोषणाबीच एउटै साझा प्रश्न उभिन्छ: कार्यान्वयन । विभिन्न अध्ययनले नेपालको जलविद्युत्‌को सैद्धान्तिक सम्भावना करिब ८३,००० मेगावाट रहेको देखाए पनि दशकौँपछि हाम्रो जडित क्षमता ४,३०० मेगावाटकै हाराहारीमा छ । यो खाडल प्रकृतिले होइन, हाम्रो संस्थागत क्षमता र कार्यसंस्कृतिले सिर्जना गरेको हो ।

विभिन्न अध्ययन र कार्यानुभवका आधारमा यी विषय उजागर गरिरहेको छु । हाइड्रोजन, विद्युतीय सवारी (इलेक्ट्रिक मोबिलिटी) र स्वच्छ ऊर्जा प्रणालीमा करिब एक दशक काम गरेको अनुभव छ मसँग; काठमाडौँ विश्वविद्यालयमा स्थापना भएको नेपालको पहिलो हाइड्रोजन रिफ्युलिङ स्टेसनको डिजाइन र खरिद प्रक्रियामा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा प्रत्यक्ष संलग्न पनि रहेँ । त्यसैले, म जान्दछु– एउटा पाइलट परियोजनाबाट औद्योगिक स्तरमा पुग्न व्यावसायिक इलेक्ट्रोलाइजर, वितरण प्रणाली, प्रमाणित सुरक्षा मापदण्ड, दक्ष जनशक्ति र बजार सबै एकैसाथ चाहिन्छ ।

यसपटक फरक नतिजा चाहने हो भने तीन कुरा अपरिहार्य छन्– हरेक ठुलो योजनाका लागि एउटा निर्दिष्ट जिम्मेवार निकाय, स्पष्ट समयसीमा र सरकार फेरिए पनि नटुट्ने निरन्तरता । ठुला आयोजनाको ढिलाइको जड प्रायः वित्तीय व्यवस्थापन, भूमि अधिग्रहण र पुनर्वासमा हुन्छ– यी विषयमा भने बजेट अझै पर्याप्त स्पष्ट छैन ।

निष्कर्ष

समग्रमा, यो बजेटका ऊर्जा घोषणाहरू नेपालको भविष्यका लागि सही दिशामा उभिएका छन् तर घोषणा र उपलब्धिबीचको दूरी हाम्रो अनुभवमा बारम्बार दोहोरिएको यथार्थ छ । वर्षायाममा बिजुली खेर जानु, ४२ वर्षको अध्ययनपछि पनि मल कारखाना स्थापना नहुनु, आयोजना वित्तीय व्यवस्थापनमै अल्झिनु जस्ता समस्याका जड बजेट भाषणले मात्र उखेल्न सक्दैन ।

नेपालले सन् २०४५ सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ, र त्यसमा ऊर्जा क्षेत्र केन्द्रमा छ । आगामी दशक यस अर्थमा निर्णायक छ । यी घोषणाको साँचो मूल्य कागजमा होइन, धरातलमा उत्रिएपछि मात्र थाहा हुनेछ । संस्थागत सुधार, स्पष्ट उत्तरदायित्व र नीतिगत निरन्तरता नै महत्त्वाकाङ्क्षालाई यथार्थमा बदल्ने पुल हुन् । त्यो पुल बन्यो भने यो बजेट नेपालको ऊर्जा यात्राको महत्त्वपूर्ण कोसेढुंगा बन्न सक्दछ ।

लेखक पेकिङ विश्वविद्यालयमा हरित अमोनियाको प्राविधिक-आर्थिक तथा जीवनचक्र विश्लेषणमा कार्यरत नेपाली पिएचडी अनुसन्धानकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३