काठमाडौँ । निजामती सेवा दिवस–२०८२ को सन्दर्भ पारेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । मन्त्रालयले शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
निजामती सेवा दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा ऊर्जा मन्त्री खड्काले सुशासन कायम गरी छिटो छरितो रूपमा आम नागरिकलाई सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्ने बताए । उनले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दैगर्दा दायित्व नबिर्सन समेत आग्रह गरे ।
मन्त्री खड्काले मन्त्रालयले विगतका वर्षदेखि नै डेंगु नियन्त्रण र सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताए । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु उत्तम भएकाले यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ थियो । उनले ऊर्जा मन्त्रालय र यसअन्तर्गतका सबै निकायमा सरसफाइ अभियानलाई निरन्तरता दिन समेत कर्मचारीलाई निर्देशन दिए ।
जलस्रोत तथा सिँचाई सचिव सरिता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढङ्गले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाइ कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा मन्त्री खड्कासहित सिँचाइ सचिव दवाडीसँगै, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिननाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले समेत वृक्षारोपण गरेका थिए ।
यसैगरी, शुक्रबारदेखि नै सिंहदरबारभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त टोलीले सिंहदरबारभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।