नेपालको ऊर्जावृत्तमा अचेल छलफलका विषय बनेका छन्– हामीले कस्तो विद्युत् आयोजना बनाउने ? जलविद्युत् आयोजना बनाउने कि सौर्य विद्युत् ? जलविद्युत्मा पनि जलाशय, आंशिक जलाशय, पम्प जलाशय (वार्षिक, मासिक वा दैनिक जलाशय पनि भन्न सकिन्छ) बनाउने कि नदी प्रवाही आयोजना बनाउने ? ब्याट्री ऊर्जा भण्डारण आयोजना बनाउने कि हाइड्रोजन सेलमा जाने ?
यी र यस्तै प्रश्नहरूको जवाफका लागि छलफल गर्दा वा आफ्नो विचार बनाउँदा हामीले किन र कसका लागि विद्युत् आयोजना बनाउने भन्ने प्रश्नलाई केन्द्रमा राख्नुपर्छ । हामीले बनाउने आयोजनाको प्राथमिक उद्देश्य हाम्रो आन्तरिक ऊर्जाको माग सम्बोधन गर्नु हो । आन्तरिक खपत गरेपछि खपत गर्न नसकेको विद्युत् राम्रो मूल्यमा निर्यात (मूलतः छिमेकी मित्रराष्ट्र भारतमा) गरेर व्यापार घाटा कम गर्नु हो ।
हाल विद्युत् उत्पादनको जडित क्षमता, ऊर्जाको माग, मागको प्रकृति, सञ्चालन र निर्माण प्रक्रियामा रहेका विद्युत् आयोजनाहरूको स्रोत र प्रकृति विश्लेषण गर्ने हो भने नेपालको ऊर्जा प्रणालीमा थप नदी प्रवाही जलविद्युत् आयोजनालाई स्थान दिनु उपयुक्त देखिँदैन । यस्ता आयोजना थपिँदै गए भविष्यमा लगानीकर्ता, बैंक, विद्युत् प्राधिकरण र सरकार लगायतका सरोकारवालाहरूलाई गम्भीर आर्थिक असर पारी समग्र अर्थ व्यवस्थाकै लागि बोझ बन्न सक्ने जोखिम देखिन्छ ।
त्यसैले, ऊर्जाको राष्ट्रिय मागलाई सम्बोधन गर्न हाम्रो उद्देश्य अनुसार ऊर्जाका स्रोत र प्रकृतिको उचित सम्मिश्रण गरी माग र समय अनुसार उत्पादन गर्ने क्षमता भएका (डिस्प्याचेबल सोर्स अफ इनर्जी) विद्युत् आयोजना निर्माण हाम्रा आवश्यकता हुन् । त्यसैले नदी प्रवाही जलविद्युत् आयोजनाको साटो वार्षिक, मासिक वा दैनिक रूपमा पानी भण्डारण गरी चलाउन सकिने तथा वा त्यसभन्दा पनि ठूला तथा पम्प जलाशय आयोजना निर्माणमा हाम्रो ध्यान केन्द्रित गर्नु आवश्यक छ ।
विद्युत् निर्यात गरेर व्यापार घाटा कम गर्ने उद्देश्य हाम्रो हो भने विदेशी ऊर्जा बजारको अध्ययन अनिवार्य हुन्छ । नेपाली ऊर्जाको विदेशी बजार भारत नै हो । बंगलादेश निर्यात गर्ने केही सम्भावना भए पनि त्यसमा धेरै तगाराहरू छन् । भारत निर्यातमा पनि तगारा नभएका होइनन् तर तुलनात्मक रूपमा कम छन्, जुन क्रमशः हट्दै वा घट्दै जाने अपेक्षा गर्न सकिन्छ ।
भारतको विद्युत् माग र आपूर्ति अनि ऊर्जाको मूल्यलाई विश्लेषण गर्ने हो भने भारतमा तीव्र गतिमा बढिरहेको सौर्य ऊर्जाको अधिक आपूर्तिले दिउँसो (साेलार आवर) मा ऊर्जाको माग अत्यन्त न्यून छ । परिणामस्वरूप त्यहाँ दिउँसो प्रतियुनिट भारु १ को आसपास विद्युत्को मूल्य रहने गरेको छ । यद्यपि, राति (नन–सोलार आवर) मा विद्युत्को प्रतियुनिट मूल्य भारु ३ को आसपास वा सो भन्दा बढी पुग्ने गरेको छ ।
थप सौर्य आयोजनाहरूको निर्माणले भविष्यमा भारतीय बजारमा दिउँसो र रातिको समयमा ऊर्जाको मूल्यमा हुने त्यस्तो अन्तर अझ बढ्दै जाने छ । त्यसैले, नेपाली नदी प्रवाही जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्ले भारतीय बजारमा दिउसोको समयमा बजार नपाउने र पाइहाले पनि मूल्य नपाउने सम्भावना प्रवल छ । यद्यपि, रातिको समयमा बजार र मूल्य दुवै पाउने प्रवल सम्भावना छ ।
सौर्य ऊर्जाको सन्दर्भ पनि आन्तरिक माग र प्रवृत्ति अनि निर्यात बजार हेरेरै विश्लेषण गर्नुपर्छ । हाल सञ्चालन र निर्माण प्रक्रियामा रहेका सौर्य ऊर्जाको क्षमता ऊर्जाको सम्मिश्रणका लागि पर्याप्त मात्र हैन अधिक नै भइसकेको छ । नेपाली सौर्य ऊर्जाको बजार भारत हुनै सक्दैन किनकि भारतमै सौर्य ऊर्जा बढी भएर दिउँसो ऊर्जाको माग र मूल्य नगण्य छ । सन्दर्भको लागि तलको ग्राफ हेरौँ :
(स्रोत : इन्डियन इनर्जी एक्सचेन्ज, अगस्ट महिनाको एक्सचेन्जको डे अहेड मार्केटको ऊर्जा मूल्य, ऊर्जा बिक्री र खरिदको प्रस्ताव र खरिद–बिक्री भएको ऊर्जा सहित)
अब ग्रिड जडित ठूला ब्याट्री ऊर्जा भण्डारण आयोजनाको सन्दर्भ हेरौँ । ब्याट्री ऊर्जा भण्डारणको क्षेत्रमा भएका चमत्कारिक विकासले ग्रिड जडित ठूला ब्याट्रीको सम्भावनाबारे छलफल तीव्र हुन थालेका छन् । यद्यपि, यस्ता ब्याट्री ऊर्जा भण्डारण दैनिक ऊर्जाको उच्च माग (बिहान र साँझको उच्च माग) का लागि उपयुक्त भए पनि सुख्खा यामको हाम्रो माग अनुसारको विद्युत् आपूर्ति (जुन सबैभन्दा टड्कारो आवश्यकता हो) लाई सम्बोधन गर्न निष्प्रभावी हुन्छन् । त्यसैले, ग्रिड जडित ठूला ब्याट्रीको औचित्य सजिलै स्थापित गर्दैन । यस्ता ब्याट्री ऊर्जा भण्डारण वर्ष दिनमा करिब ६ महिना उपयोगमै नआउलान् । केही महिना न्यून उपयोग हुन सक्लान् । त्यस्तै ब्याट्री ऊर्जा भण्डारण आयोजनाको औचित्य पुष्टि गर्न नसक्लान् ।
हाइड्रोजन सेलका बारेमा पनि छलफल, गोष्ठी र सम्भाव्यताबारे अध्ययन, अनुसन्धान हुँदैछन् । हाइड्रोजन सेल भविष्यमा विशेषतः यातायात क्षेत्रका लागि प्रभावकारी हुन सक्ला । तर, हाइड्रोजन सेल, ब्याट्री जस्तै ऊर्जा भण्डारण संयन्त्र मात्र हो । गुणात्मक रूपमा हाइड्रोजन सेल ब्याट्रीभन्दा बढी उपयोगी हुने आकलन गर्न सकिन्छ तर यो अझै प्रारम्भिक चरणमै छ र यसको मूल्य प्रतिस्पर्धात्मक हुन केही समय लाग्ला र त्यस्तै प्रविधि परिष्कृत र स्वीकार्य हुन पनि केही समय लाग्ला ।
विद्युत् आयोजना निर्माण गर्दा आपूर्ति हुन नसकेको ऊर्जाको माग (सप्रेस्ड डिमान्ड) सहित हाम्रो आन्तरिक ऊर्जा आवश्यकताको परिपूर्ति पहिलो प्राथमिकता हो, जसले देशको औद्योगिकीकरणलाई समेत बलियो टेवा दिन सक्छ । दोस्रो प्राथमिकता उच्च मूल्य पाउने गरी विदेशी बजारमा ऊर्जा बिक्री गरी उच्च व्यापार घाटा कम गर्नु वा वैदेशिक मुद्रा आर्जन गर्नु हो ।
त्यसैले हामीले मेगावाट वा मेगावाट घण्टामा हैन ‘डिस्प्याचेबल मेगावाट घण्टा’ अर्थात् विद्युत् चाहिएको बेला वा विद्युत्को मूल्य उच्च भएको समयमा उत्पादन गर्ने क्षमता निर्माण गर्न सके अधिक आर्थिक एवम् रणनीतिक लाभ लिन सकिन्छ ।
–लेखक ऊर्जा क्षेत्रमा सक्रिय छन् ।