काठमाडौँ । चितवन इनर्जी लिमिटेडले प्रवर्द्धन गर्न लागेको ६.५१ मेगावाटको तल्लाे ठूलाे खाेला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । म्याग्दीमा निर्माण गर्न लागिएको आयोजनामा नेपाल बैंक लिमिटेडले ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको हाे ।
बुधबार एक समाराेहबीच आयोजना प्रवर्द्धक कम्पनी र बैंकबीच ऋण लगानीसम्बन्धी सम्झौता भएको छ । सम्झाैतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तीलकराज पाण्डे र प्रवर्द्धक कम्पनीका सञ्चालक गोपालप्रसाद न्युरेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार आयोजनामा बैंकले ८५ करोड रुपैयाँ ऋण लगानी गर्ने छ । १ अर्ब २२ करोड ३२ लाख लागत अनुमान गरिएको आयोजनामा बाँकी लगानी स्वपुँजीबाट जुटाइने छ ।
सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष पाण्डेले नागरिक तथा बैंक वित्तीय संस्थाले जलविद्युत् आयोजनालाई गरेको विश्वास प्रवर्द्धक कम्पनीहरूले कायम राख्न सक्नु नै सफलता हुने बताए । आयोजना समयमै निर्माण पूरा भई सञ्चालनमा आउन सके त्यसको लाभ सबैले प्राप्त गर्न सक्ने उनकाे धारणा थियो ।
त्यस्तै, सञ्चालन न्युरेले ऊर्जा विकासको कठिन यात्रामा एक दशकभन्दा लामो समयदेखि आफूहरूलाई नेपाल बैंकले दिएको साथ र विश्वास कायम राख्दै अबको एक वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको उक्त आयोजना संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् क्यास्केड आयोजनाको रूपमा निर्माण गर्न लागिएको हो । आयोजना म्याग्दीको रघुगंगा गाउँपालिका–७ र ८ मा रहेको ठूलो खोलाकाे पानी सदुपयोग गर्ने गरी निर्माण गर्न लागिएको हाे ।
प्रवर्द्धक कम्पनीका अनुसार परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) अनुसार आयोजनाको जडित क्षमता ४.७५ मेगावाटबाट बढाएर ६.५१ मेगावाट पुर्याइएको हो । यससँगै आयोजनाको कुल हेड ९९ मिटरबाट ११० मिटर तथा नेट हेड ९०.७३ मिटरबाट १०५.२० मिटर कायम गरिएको छ । आयोजनाका लागि करिब २.७० हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा करिब १.५७ हेक्टर वन क्षेत्र र १.१३ हेक्टर निजी जग्गा पर्नेछ भने २२ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् ।
आयोजनाको जलाधार क्षेत्र १०७.५ वर्गकिलोमिटर रहेको छ । डिजाइन जलप्रवाह ६.२५ घनमिटर प्रतिसेकेन्डबाट बढाएर ७.३ घनमिटर प्रतिसेकेन्ड बनाइएको छ भने बाढीको डिजाइन प्रवाह ४५० घनमिटर प्रतिसेकेन्ड यथावत् राखिएको छ ।
आयोजनाको हेडपोण्ड आयताकार रहने छ भने परिमार्जित डिजाइनमा यसको आकार, गहिराइ तथा सञ्चालन स्तरमा सुधार गरिएको छ । आयोजनामा करिब २,०८८ मिटर लामो स्टिलको हेडरेस/पेनस्टक पाइप, १५४ मिटर लामो सर्ज पाइप तथा भूमिगत सर्ज प्रणाली निर्माण गरिनेछ ।
आयोजनाको विद्युत्गृह सतही प्रकारको हुनेछ, जहाँ ३.३९ मेगावाट क्षमताका दुईवटा होरिजन्टल फ्रान्सिस टर्बाइन जडान गरिनेछन् । प्रत्येक टर्बाइनमा ३,८२५ केभीएको जेनेरेटर रहनेछ भने ८.५ एमभिएको ट्रान्सफर्मरमार्फत विद्युत् प्रसारण गरिनेछ ।
नयाँ डिजाइनअनुसार आयोजनाबाट वार्षिक ३७.७३ गिगावाट-घण्टा विद्युत् उत्पादन हुनेछ, जसमा सुख्खायाममा ११.७६ गिगावाट-घण्टा र वर्षायाममा २५.९७ गिगावाट-घण्टा ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत ठूलो खोला जलविद्युत् आयोजनाको २२० केभी बसबारमा जडान गरिने योजना छ ।
आयोजनाको कुल लागत करिब १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ रहनेछ । आन्तरिक प्रतिफल दर (आइआरआर) १६.३३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । निर्माण सुरु गरेको १ वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य छ ।