images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

काठमाडौंमा मंगलबार (भदौ २६ गते) आयोजित विशेष समारोहकाबीच उनले २२ पतिशत निर्माण पूरा भएकाे आयोजनाकाे शिलान्यास गरेका हुन् । आयोजनाको बाँध लगायतका संरचना रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा र भूमिगत विद्युतगृह र अन्य संरचनाहरू उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन छन् ।

शिलान्यासका क्रममा मन्त्री बस्नेतले नेपालको जलविद्युत विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको बताए । मुख्य रुपमा हिउँदको विद्युत माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाको रुपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उनले जलविद्युत क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आग्रह गरे ।

समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउचुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाइ अतिरिक्त भएको विद्युत छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनिकरणमा ठूलो योगदान गर्न सकिने बताए ।

समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत नियमन आयोग, लगानी बोर्ड, नेपाल, विद्युत विकास विभागलगायतका उच्चपदस्थ पदाधिकारीहरू, नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क थियोङ, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका प्रतिनिधिहरू, निजी क्षेत्रका ऊर्जा उद्यमीहरूलगायतका उपस्थिति थियो ।

आयोजनाको निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो । भूमिगत विद्युतगृह, सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरूको निर्माण तिब्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने जनाइएको छ ।

आयोजना निर्माणमा हाल करिब एक हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब ५०० रसुवा जिल्लाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माण अवधि (५ वर्ष) सम्ममा ७००–१००० जना नेपाली श्रमिकले दैनिक रुपमा रोजगारी पाउने छन् । आयोजना सञ्चालन अवधि (३० वर्ष)मा ७०–८० जनाले रोजगारी पाउने छन् ।

आयोजनाको इन्जिनियरिङ, खरिद र निर्माण मोडलको काम कोरियन कम्पनी डुसान एनबेलेटीले गरिरहेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ ।

आयोजना सम्पन्न गर्न ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) लागत अनुमान गरिएको छ । आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजना पूरा भएपछि वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुनेमध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ ।

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा उत्पादन हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit