काठमाडौँ । माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना क्षेत्रमा विपत्पछिको खोज तथा उद्धार कार्यका लागि ३ वटा ठूला एस्काभेटर र एउटा जेसिबी पुर्याएइएको छ । आयोजनाको अडिट तथा मुख्य सुरुङ सफा गरी त्यहीँबाट उक्त एक्स्काभेटरहरू आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा पुर्याइएको हो ।
ठूला उपकरण आयोजना स्थालमा पुगेपछि खोज तथा उद्धारका लागि बाढीपछि लेदो तथा ठूला ढुङ्गामाटोले पुरिएका ठाउँको उत्खनन् कार्य छिटो हुन थालेको आयोजना प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक आनन्द ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार त्रिशूली ३ ‘ए’ मा भएका २ वटासहित र हामीले व्यवस्था गरेको एउटासहित ३ वटा एक्स्काभेटर आयोजनाको अडिट सुरुङ सफा गरी त्यहीँबाट पुरिएको आवास क्षेत्रमा पुर्याएर उत्खनन् कार्य सुरु गरिएको छ । 'खाेलाकै स्तरबाट पुरिएकाे कार्यालय तथा आवास क्षेत्रतर्फ जाँदै छाैँ,' उनले भने, 'अब केही सयम अर्थात् १/२ दिनमै नतिजामा पुग्न सकिएला ।'
आयोजनाको अडिट–१, अडिट–२ हुँदै मुख्य सुरुङसहित करिब २ हजार २ सय मिटर सफा भइसकेकाे र सुरुङमा काेही पनि फसेको नपाइएकाे उनले बताए ।
३७ मेगावाटको आयोजना प्रवर्द्धक कम्पनी, परामर्शदाता, सुरक्षा गार्ड तथा इन्टर्नसिपमा रहेका इन्जिनियरिङ विद्यार्थीसमेत गरी १९१ जना सम्पर्कविहीन भएका छन् ।