पोखरा । इलेक्ट्रिकल इन्जिनियर्स वेलफेयर एसोसिएसन, नेपाल (इइए) को आयोजनामा ‘बिल्डिङ इलेक्ट्रिफिकेसन डिजाइन’ विषयमा ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय, पार्दी, पोखराको सभाहलमा मङ्सिर १८ देखि २० गतेसम्म भएको तालिममा २५ जना इन्जिनियर सहभागी थिए ।
कार्यक्रममा इइए नेपालका अध्यक्ष शिवनारायण गोशलीले तालिमका लागि छोटो समयमा धेरै आवेदकको जिज्ञासा आएको विषयले आफूलाई उत्साहित बनाएको तर सीमित सिटले गर्दा सबैलाई सहभागी गराउन नसकिएको बताए । कार्यक्रमले आगामी दिनमा यस्तै खालले कार्यक्रम सञ्चालन गर्न संस्थालाई थप जिम्मेवार बनाएकोले यस्तै खालका तालिम तथा अन्तरक्रिया कार्यक्रम निकट भविष्यमा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
उनले तालिमले उक्त क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न उल्लेख्य भूमिका निर्वाह गरेको बताए । कार्यक्रमका प्रायोजक नेपाल ट्रान्सफर्मरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भानुभक्त लामिछानेले इइए नेपालले आगामी दिनमा यस्तै कार्यक्रममा जोड दिई दक्ष जनशक्ति उत्पादनमा सघाउन सुझाव दिए ।
तालिम कार्यक्रमको सञ्चालन गरेका इइए नेपालका सचिव विनोद शर्माले सिकेका कुरा व्यवहारमा उतार्दै उपलब्धिलाई संस्थागत गर्नुपर्ने र यसका लागि नीतिगत तहमा पहल गर्नुपर्ने अबको आवश्यकता रहेको बताए । कार्यक्रममा प्रशिक्षक ओम सागर बन्जारा र सहभागीको र तर्फबाट सङ्गम गौलीले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै, समापन समारोहमा बोल्दै इइए नेपालका सदस्य दिनेश शर्माले हालको परिवेशमा नेपालमा बिल्डिङ इलेक्ट्रिफिकेसन डिजाइनमा कुनै मापदण्ड नै विना काम भइरहेको र यस कार्यमा इलेक्ट्रिकल इन्जिनियर नै थप जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
तीन दिने तालिमले बिल्डिङ इलेक्ट्रिफिकेसन डिजाइनको क्षेत्रमा धेरै कुरा सिक्ने मौका मिलेकाले यहाँ सिकेको ज्ञान सीपलाई व्यवहारमा उतार्दै यसै क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने सहभागीले प्रतिबद्धता जाहेर गरेका छन् । उनका अनुसार कार्यक्रममा प्रशिक्षकका रूपमा इन्जिनियर ओमसागर बञ्जाराले प्रशिक्षण दिएका थिए । तालिम कार्यक्रमको शनिबार समापन भएसँगै प्रशिक्षार्थीलाई तालिमको प्रमाणपत्र वितरण गरिएको थियो ।
प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख विक्रमकुमार अमात्य, इइए नेपालका पूर्व–अध्यक्ष तथा सल्लाहकार राजेन्द्र ढकाल, कार्यक्रमका प्रायोजक संस्थाका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो । यसै प्रकारको कार्यक्रम छिट्टै नै काठमाडौँमा पनि आयोजना गर्ने इइए नेपालले जानकारी दिएको छ।