• प्राधिकरण : ७७६९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४०७० मे.वा.घन्टा
  • निजी क्षेत्र : ८१४१ मे.वा.घन्टा
  • आयात : ९०७६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २९०६३ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६४२ मे.वा.
×

फुट्ने जोखिमका ४ हिमतालको पानी घटाइँदै

२०७८ मङ्सिर २२

काठमाडौं । सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोसी र गण्डकी जलाधार क्षेत्रका चार हिमतालको पानीको सतह घटाउने भएको छ । राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को हरित जलवायु कोष (जीसीएफ) बाट प्राप्त हुने ३ करोड ३० लाख अमेरिकी डलर र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को २५ लाख गरी ३ करोड ५५ लाख अमेरिकी डलरको आयोजनामार्फत काम गर्न लागेको हो । 

विस्फोटको उच्च जोखिममा रहेका सोलुखुम्बुका लुम्दिङ च्छो र होङ्गु–२, संखुवासभाको तल्लो बरुण र गण्डकीको ठुलागी (डोना) हिमतालको पानीको सतह घटाउने गरी आयोजना डिजाइन गरिएको छ ।

चारवटै तालको पानीको सतह घटाउने आयोजना (प्रोटेक्टिङ लाइभ्लीहुड्स एन्ड एसेस्ट्स एट रिस्क फर्म क्लाइमेट चेन्ज इन्डियुस्ड फ्लडिङ इन ग्लासियल रिभरबेसिन्स् अफ नेपाल) सञ्चालनका लागि आगामी महिना अर्थ मन्त्रालयमार्फत विस्तृत प्रतिवेदन जीसीएफमा पेस गरिँदै छ । जीसीएफको मान्यताप्राप्त निकाय अर्थले सोमबार उक्त आयोजनाबारे सरोकारवाला निकायहरूसँग छलफल गरेको छ । यूएनडीपीले यो आयोजनाको डिजाइन गरेको हो ।

विस्फोटको जोखिममा ४७ हिमताल

विश्वमा जलवायु परिवर्तनको असर बढ्दै गएपछि न्यूनीकरण र अनुकूलन कार्यक्रमका लागि विभिन्न देशमा जीसीएफको रकमबाट आयोजना सञ्चालन भइरहेका छन् । जीसीएफले विकासशील, अतिकम विकसित मुलुक (एलडीसी), साना टापु राष्ट्र तथा अफ्रिकी मुलुकलाई मुख्य प्राथमिकतामा राखेर आयोजना सञ्चालनका लागि पैसा दिने गरेको छ । आयोजनाको नेतृत्व भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्नेछ ।

कोरियाको सोङ्दोमा मुख्यालय रहेको जीसीएफको रकममार्फत अहिले पनि नेपालमा जलवायुजन्य जोखिम न्यूनीकरणका तीनवटा आयोजना सञ्चालनमा छन् । आईयूसीएन र राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत गण्डकी जलाधार, विश्व खाद्य तथा कृषि संगठन र वन तथा वातावरण मन्त्रालयले चुरे क्षेत्र र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सुधारिएको चुल्हो कार्यक्रम सञ्चालनमा छन् ।

संखुवासभाको तल्लो बरुण हिमताल ।

सन् १९९२ तिर करिब १६७५ मिटर, सन् २००० मा १९५० मिटर, सन् २००९ मा २३५० मिटर लम्बाइ रहेको लुम्दिङ च्छो सन् २०१६ मा आइपुग्दा बढेर २८०० मिटर भएको छ भने पानीको मात्रा पनि बढेको छ । पानीको सतह घटाउन लागिएको होङ्गु समुद्री सतहबाट ५ हजार २ सय ५ मिटर, संखुवासभाको तल्लो बरुण ४ हजार ५ सय ५० मिटर र ठुलागी (डोना) ४ हजार ५० मिटर उचाइमा छन् ।

काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमतालविज्ञ रिजनभक्त कायस्थका अनुसार (सन् २००७ को प्रतिवेदन) होङ्गु २ को लम्बाइ १ हजार ९ सय ९८ मिटर र त्यसको क्षेत्रफल ०.७४ वर्गकिलोमिटर छ । उनका अनुसार सन् १९७३ मा ०.४ वर्गकिमि क्षेत्रफल रहेको ठुलागी सन् २०१७ मा आइपुग्दा बढेर ०.९ वर्गकिमि भएको छ । सन् २०११ को अध्ययनअनुसार तल्लो बरुणको लम्बाइ १ हजार ७ सय ८८ मिटर छ ।

हिमताल विस्फोटको जोखिम घटाऊ

यूएनडीपीको एकीकृत जलवायु जोखिम व्यवस्थापनका वरिष्ठ कार्यक्रम अधिकृत दीपक केसीका अनुसार पानीको सतह घटाउने परियोजनाका लागि प्रस्ताव गरिएका चारवटै हिमताल विस्फोटको जोखिम सूचीमा रहेमध्येका हुन् । सरकारले पानीको सतह घटाउने र तल्लो तटीय क्षेत्रसम्मै बाढीको पूर्वसूचना प्रणाली जडान गर्ने नीतिसमेत लिएको छ ।

यो आयोजनाबाट सन् २०३० भित्र ती चारवटै हिमतालको पानीको सतह घटाएर विस्फोटको जोखिम घटाइनेछ भने तल्लो तटीय क्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली जडान गरिनेछ । सँगै स्थानीय बासिन्दाको जीविकोपार्जनका कार्यक्रमसमेत सञ्चालन हुनेछन् । यसबाट ५ लाख मानिस प्रत्यक्ष र करिब १९ लाख मानिस अप्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

माथिल्लो क्षेत्रमा हुने सम्भावित हिमताल विस्फोटबाट तल्लो तटीय क्षेत्रमा निम्तिने जोखिम घटाउन तथा क्षतिबाट बचाउन कोसीमा चतरासम्मै र गण्डकीमा त्रिशूली नदीको देवघाटसम्मै पूर्वसूचना प्रणाली जडान गरिनेछ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा तल्लो तटीय क्षेत्रका नदीको पानीको बहाव र सम्भावित जोखिमबारे जानकारी दिन पूर्वसूचना प्रणाली जोडिनेछ । यो प्रणाली जडान गरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूले सम्भावित विपद्को पूर्वसूचना पाउनेछन् र जसबाट क्षति न्यूनीकरणमा सघाउ पुग्नेछ ।

यो आयोजनासँग जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतले सहकार्यमा गरेका छन् ।

src="https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2021/third-party/hongu-2-08122021041008-1000x0.jpg" style="height: 100%; width: 100%; border-width: 1px; border-style: solid;" />सोलुखुम्बुको होङ्गु–२ हिमताल ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालसहित चीनको तिब्बत र भारतका गरी ४७ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको प्रतिवेदन २०७७ को भदौमा सार्वजनिक गरेका थिए । जोखिममा रहेको पहिचान गरिएका हिमतालमध्ये ४२ वटा कोसी जलाधार, ३ वटा गण्डकी र २ वटा कर्णाली जलाधारमा छन् । चीनको तिब्बतबाट सुरु भएर बग्ने कोसी, गण्डकी र कर्णाली भारतको गंगाका प्रमुख सहायक नदी हुन् ।

४७ मध्ये २१ वटा नेपालमा पर्छन् । ती हिमतालमध्ये ८ वटा नयाँ पहिचान गरिएका हुन् । १३ वटा भने सन् २०११ मै पहिचान गरिएका थिए । चीनको तिब्बततिर २५ र एउटा हिमताल भारतमा पर्छन् । अनुसन्धानकर्ताहरूले विस्फोटको जोखिमयुक्त हिमतालमध्ये ३१ वटालाई पहिलो, १२ वटालाई दोस्रो र ४ वटालाई तेस्रो श्रेणीमा राखेका छन् ।

इसिमोड र यूएनडीपीको अध्ययनअनुसार कोसी जलाधार क्षेत्रमा २ हजार ६४, कर्णालीमा १ हजार १ सय २८ र गण्डकी जलाधार क्षेत्रमा ४ सय ३२ हिमताल छन् । तीमध्ये २ हजार ७० वटा नेपाल, १ हजार ५ सय ९ वटा तिब्बत स्वायत्त क्षेत्र (टीएआर) र ४५ वटा भारतमा पर्छन् । तीमध्ये १ हजार ४ सय १० वटा हिमताल ०.०२ वर्ग किलोमिटरभन्दा ठूला र त्यस आसपासका छन् । विस्फोटको उच्च जोखिम भनी पहिचान भएकामध्ये अहिलेसम्म नेपाल, भारत र चीनमा गरी चारवटा हिमतालको पानीको सतह घटाइएको छ ।

दोलखास्थित च्छो रोल्पा र सोलुखुम्बुको इम्जाको पानीको सतह घटाइएको छ भने तिब्बततिर पनि दुईवटा हिमतालको पानीको सतह घटाइएको छ । च्छो रोल्पाको सन् २००० मा र खुम्बु क्षेत्रमा पर्ने इम्जाको सन् २०१६ मा पानीको सतह घटाइएको हो ।

अध्ययनअनुसार खुम्बु क्षेत्रको इम्जा हिमताल विस्फोट भए तल्लो तटीय क्षेत्रका ९६ हजार ७ सय ६७, च्छो रोल्पा विस्फोट भए १ लाख ४१ हजार र गण्डकी जलाधारको ठुलागी हिमताल विस्फोट भए १ लाख ६५ हजार ६८ मानिस प्रभावित हुनेछन् । विशेषज्ञहरूले च्छो रोल्पा र इम्जा हिमतालको जोखिम घटाउँदा हासिल गरेको अनुभव अन्य हिमतालमा पनि लागू गर्न सकिने बताउँदै आएका थिए ।

किन पग्लिन्छन् हिमनदी र हिमताल ?

अध्ययनअनुसार बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लिन गएर हिमताल बनेका हुन् । नेपालले सन् १९७७ पछि हिमताल विस्फोटले निम्त्याउने विपद् सामना गर्न थालेको हो । नेपालमा हालसम्म हिमताल विस्फोटका २६ वटा घटना रेकर्ड भएका छन् । तीमध्ये १४ वटा नेपालको भागबाटै विस्फोट भएका थिए । ११ वटा हिमतालले अन्तरदेशीय समस्या निम्त्याएका थिए । म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्र (एचकेएच) मा भने ५० वटा हिमताल विस्फोट भइसकेका छन् । चीन, नेपाल, भुटान र पाकिस्तानमा मात्र हिमताल विस्फोटका घटना भएका छन् । प्रतिवेदनअनुसार सन् १९४० देखि सन् २००० सम्म त्यस्ता घटना बढेको देखिन्छ ।

सोलुखुम्बुको लुम्दिङ च्छो हिमताल ।

हिमताल विस्फोटपछि आउने बाढीले बस्ती र पूर्वाधारमा ठूलो क्षति पुर्‍याउने गरेको छ । त्यससँगै जैविक विविधतामा पनि क्षति हुने गरेको छ । अध्ययनका क्रममा तीनवटै देशमा रहेका हिमतालको क्षेत्रफलसमेत बढेको पाइएको छ । तिनको कुल क्षेत्रफल ९४.४ वर्ग किमिदेखि १२७.६ वर्गकिमिसम्म बढेको छ ।

‘तालको संख्यामा ८६ र क्षेत्रफलमा ३५.१ प्रतिशतले वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ । कोसी जलाधारमा सन् २००० मा २ हजार १ सय १९ हिमताल रहेकामा ५ वर्षपछि २ हजार ८७ र सन् २०१५ मा २ हजार ६४ वटा हिमताल बनेका हुन् । गण्डकी जलाधारमा सन् २००० मा ३ सय ७७, २००५ मा ४ सय ५ र २०१५ मा ४ सय ३२ वटा हिमताल भएको देखिएको छ । कर्णाली जलाधारमा सन् २००० मा १ हजार १ सय ५ वटा हिमताल थिए ।

५ वर्षपछि सन् २००५ मा १ हजार २ सय ४ भए भने सन् २०१५ मा घटेर फेरि १ हजार १ सय २८ वटा भएका छन् । हिमतालहरू समुद्री सतहदेखि २ हजार ४ सयदेखि ६ हजार १ सय मिटरको उचाइमा छन् । तीन देशमध्ये सबभन्दा बढी उचाइमा नेपालकै हिमताल छन् । गण्डकी जलाधारको सेती नदी उपजलाधारमा २ हजार ४ सय मिटर उचाइमै हिमताल भेटिएको छ ।

विज्ञहरूले जलवायु परिवर्तनको अहिलेको गति जारी रहे हिमनदीको ठूलो क्षति हुनुका साथै हिमताल विस्तार हुनेछन् र जलस्रोतको उपलब्धतामा गम्भीर असर निम्त्याउने चेतावनी दिएका छन् । जल तथा मौसम विज्ञान विभागको अध्ययन (१९७१–२०१४) अनुसार नेपालमा वार्षिक ०.०५६ का दरले तापक्रम बढिरहेको छ ।

विभागकै सन् २०१७ को अध्ययनअनुसार हिमाली क्षेत्रमा ०.०८६ डिग्रीका दरले तथा लाङटाङ र इम्जा उपत्यकामा १.७ डिग्रीका दरले तापक्रम बढिरहेको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म बढी छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit