विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को अध्यक्षका प्रत्यासी किरण मल्लले संस्थाभित्र पदाधिकारीमा जानका लागि लागू गरिएको आलोपालो प्रणाली (सिन्डिकेट) तोड्न अपरिहार्य रहेको बताएका छन् । आज (जेठ) २८ गते आफ्नो प्यानल घोषणाको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

संस्थापन पक्ष तथा वर्तमान कार्यसमितिमा रहेका व्यक्तिहरू विद्यमान सिन्डिकेट प्रणाली कायमै राख्न अग्रसर रहेको र यस्तो परिपाटी भत्केला भनेर चिन्तित भएको बताए । ‘इपानलाई फराकिलो बनाएर लैजानुपर्छ भन्ने भावना नै अहिलेको पदाधिकारीमा देखिँदैन, हरेक सक्षम व्यक्ति जुनसुकै पदमा पनि आउन ढोका खुला हुनुपर्यो भन्दा त्यसको विरोध भइरहेको छ,’ उनले भने, ‘विधानमा भएकै व्यवस्थालाई समेत निर्वाचन निर्देशिका बनाउँदा उल्लंघन गरिएको छ । यसरी संस्था चल्न सक्दैन ।’

प्रवद्र्धकहरूले जलविद्युत आयोजना अध्ययनदेखि निर्माण र सञ्चालनसम्मको अवस्थामा भोग्नुपरेका समस्या समाधान गर्ने विषयमा वर्तमान कार्यसमिति जिम्मेवार हुन नसकेको मल्लको तर्क थियो । ‘यस क्षेत्रमा देखिएका दर्जनौं समस्या समाधानमा अग्रसर नहुने, इपानलाई इपान जस्तो बनाउन नसक्ने तर पदमा बसिरहने मानसिक्ताकै कारण प्रवर्द्धकहरूले दुःख पाइरहेका छन्,’ उनले थपे, ‘विधान संशोधन गरेरमात्र निर्वाचन हुँदा इच्छुक र क्षमतावान व्यक्ति आउन सक्ने वातावरण तयार हुन्छ ।’

कार्यक्रममा ऊर्जा अनुसन्धाता तथा प्रवद्र्धक सूर्यप्रसाद अधिकारीले इपान नेतृत्व र पदाधिकारीको गैरजिम्मेवारीपूर्ण गतिविधिका कारण विगतमा सरकारले घोषणा गरेका सुविधा पनि निजी क्षेत्रले लिन नसकेको बताए । ‘दिनहुँ संस्थाको आकार फराकिलो हुँदै गएको छ, सदस्यको संख्या बढिरहेको छ तर त्यसलाई नेतृत्व गर्ने क्षमताको विकास भइरहेको देखिँदैन,’ उनले भने, ‘विद्युत खरिददेखि हरेक वर्ष विद्युत खेर गएर प्रवद्र्धकलाई परेको समस्याका विषयमा कसैले सरकारसँग प्रस्ट कुरा राख्न सकेका छैनन् ।’

गत वर्ष ४७१ मेगावाट विद्युत खेर गएको र यो वर्ष न्यूनतम ८०० मेगावाट खेर जाने अवस्था रहेको पक्षमा इपानले संगठित आवाजको नेतृत्व गर्नै नसकेको अधिकारीको धारणा रहेको थियो । ‘हामीले राज्यका नीति नियमभित्र बसेर हामीले पाएको अधिकार माग्न पनि सकिरहेका छैनौं,’ उनको जोड दिए, ‘यो विषयलाई अब सेलाउन दिनु हुँदैन ।’

यसैगरी, प्रवर्द्धक तथा सदस्य उमेद्वारका प्रत्यासी कदम केसीले संस्थापन पक्षले निर्वाचन निर्देशिका बनाउँदै हाकाहाकी विधानको व्यवस्थालाई लत्याएको बताए । ‘हामी व्यक्ति को राम्रो, नराम्रो भन्दा पनि इपान जोगाउनुपर्छ भनेर लागिरहेका छौं,’ उनले भने, ‘अहिलेकै अवस्थामा चलिरहने हो भने इपानको आयु लामो देखिँदैन, यसैले सबै मिलेर इपान जोगाउनु परेको छ ।’ इपान अस्तित्व जोगाउने योग्य व्यक्ति मल्ल रहेकोमा पनि उनले जोड दिएका थिए । सदस्यकै प्रत्यासी तारा सुब्बाले पनि इपानको वर्तमान अवस्थाले संस्थामा लोकतान्त्रिक विधि र प्रणाली बिगारेको बताए । 

कार्यक्रममा कानुन व्यवसायी टेकप्रसाद चौलागाईंले वर्तमान कार्यसमितिले सक्षम व्यक्तिले निर्वाचनमा नै सहभागी जनाउन नपाउने गरी सिन्डिकेट लादेको बताए । ‘कोही सक्षम व्यक्ति निर्वाचनमा प्रतिस्पर्धा गरेर आउन चाहन्छ भने उसलाई रोक्नु भएन, कोही प्रोक्सी लिएर बसेका छन्,’ उनले भने, ‘यो प्रोक्सीबाट मतदान गर्ने व्यवस्था नै गलत हो । यो प्रणाली पनि तत्काल खारेज हुनुपर्छ ।’

सदस्यका अर्का प्रत्यासी विनोद देवकोटाले देश लोकतान्त्रिक विधि र पद्धतिमा चलेपछि व्यावसायिक संघ संस्थामा निरंकुशता हावी रहिरहेको बताए । ‘प्रजातन्त्रमा प्रतिस्पर्धाको वातावरण स्वस्थ भयो भने सक्षम व्यक्ति आउने जग तयार हुन्छ तर इपानले पूर्णतः अलोकतान्त्रिक पद्धति अँगालेर हिँडिरहेको छ,’ उनले भने, ‘जलविद्युत विकासलाई अर्थतन्त्रसँग जोड्न इपान बलियो हुनुपर्छ र इपान बलियो हुन सक्षम नेतृत्वको खाँचो देखिएको छ ।’

कार्यक्रममा जलविद्युत अभियन्ता कृष्णप्रसाद भण्डारीले समेत इपानको वर्तमान कार्यसमितिले कार्टेलिङ प्रणाली लागू गरेको विषयले सिंगो निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह नगरेको बताए । ‘विधान संशोधन गरेर जाने विषयमा जोड गरौं, सँगसँगै निर्वाचन घोषणा भइसकेको पक्षमा पनि संवेदनशील हुनुपर्छ,’ उनले भने । यद्यपि, कार्यक्रममा उपस्थित अधिकांशले विधान संशोधन नगरी निर्वाचन गर्न नहुने धारणा राखेका थिए ।

मल्लको प्यानलमा समावेश उमेद्वारहरूमा वरिष्ठ उपाध्यक्ष गोरे शेर्पा, उपाध्यक्षहरू आशिष गर्ग, हिमप्रसाद पाठक, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, भरत नेपाल, भरतबहादुर खत्री रहेका छन् । यस्तै, महासचिवमा बलराम खतिवडा तथा उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्त समेटिएका छन् ।

कार्यसमिति सदस्यहरूमा उत्तरकुमार श्रेष्ठ, टिएन आचार्य, तारा सुब्बा, दीपक पौडेल, विनोद देवकोटा, होमकान्त चौलागाईं, कुवेरमणि नेपाल, श्याम श्रेष्ठ, शंकर बस्याल, मोहनविक्रम कार्की लगायतलाई समेटिएको छ । यी नामहरू अध्यक्षका अर्का प्रत्यासी गणेश कार्कीको प्यानलमा समेत छन् । कार्कीले जेठ २९ गते औपचारिकरूपमा आफ्नो प्यानल घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit