काठमाडौँ । नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्न सफल सुशीला कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि लेख्न सफल भएकी छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आन्दोलनरत जेन–जेड (जेनरेशन जेड) समूहको प्रस्ताव तथा समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, निष्कलङ्क र हक्की स्वभावकी प्रभावशाली पूर्वप्रधानन्यायाधीश कार्कीले देशको वर्तमान सङ्कट मोचन गर्ने विश्वास गरिएको छ । राष्ट्रपति पौडेले शुक्रबार राती नै प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गराएका हुन् ।
को हुन् कार्की ?
वि.सं. २००९ साल जेठ २५ गते मोरङ विराटनगरको शङ्खपुर जन्मिएकी कार्की बिपी कोइरालाको परिवारसँग निकट सम्बन्ध रहेका नेपाली काँग्रेसका पूर्व नेता दुर्गा सुबेदीकी पत्नी हुन् । महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरेकी कार्कीले त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी छिन् । उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरेकी थिइन् ।
२०३५ सालमा वकालत सुरु गरेकी उनी विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्षसमेत भएकी थिइन् । २०६१ मा वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ सलमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश, २०६७ मा उनी स्थायी न्यायाधीश हुँदै २०७३ साल असार २७ गते प्रधानन्यायाधीश नियुक्त भएकी थिइन् । २०७४ जेठ २४ गतेसम्म उनी प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकी छन् ।
त्यसताका प्रधानन्यायाधीश कार्कीविरुद्ध तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदले हस्ताक्षर गरी पदबाट हटाउन महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यद्यपि, तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोगको विरोध गरेको थियो । उक्त महाअभियोग असफल भएपछि उनी पदमा फर्किएकी थिइन् ।