विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बेनी। म्याग्दीको राहुघाट र सहायक नदीमा आठ वटा जलविद्युत आयोजना निर्माणाधिन र सर्वेक्षणको क्रममा छन् । प्रशारण लाइन, सबस्टेशन निर्माण र सडकको पहुँच विस्तार तथा उर्जाको अन्तर्राष्ट्रिय बजार खोजी हुन थालेपछि वर्षौँ अघि सर्वेक्षण गरिएका जलविद्युत आयोजनाले गति लिन थालेका हुन् ।

विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार वटा जलविद्युत आयोजनाले निर्माणको अनुमति लिएका छन् । ५.५ मेगावाट क्षमताको १ वटा आयोजनाले निर्माणको अनुमति मागेको छ । २४.६५ मेगावाट क्षमताका ३ वटा आयोजना सर्वेक्षणका क्रममा छन् । 

पूर्वाधार निर्माणसँगै जलविद्युत आयोजनामा लगानीकर्ता आकर्षित भएका रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना रघुगंगा मात्रै नभएर म्याग्दी जिल्लाकै जलविद्युत विकासका लागि ‘गेटवे’ बनेको छ ।

वि.स. २०६६ मा सुरु भएको राहुघाटले गति लिएसँगै अन्य आयोजना पनि सुरु भएका छन् । तुदी पावर लिमिटेड प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको बाँध, सुरुङ र विद्युतगृह एकैसाथ निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिका–८ बन्दीघाटमा बाँध र पाँच किलोमिटर लामो सुरुङ बन्ने राहुघाट मंगलेको विद्युतगृह रघुगंगा–७ चिमखोलामा रहनेछ् ।

तुदी पावरका महाप्रबन्धक इन्द्र ढकालले सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । कुमारी बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंकले कुल लागतको सत्तरी प्रतिशत लगानी गर्ने भएका छन् । 

मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला हुदै बाँध निर्माण स्थलसम्म पहुँचमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना गर्न लागिएको छ । सेनाको क्याम्प बनाउन भवन लगायतका पूर्वाधार निर्माण भइसकेको छ । 

पाँच किलोमिटर लामो सुरुङ हुने आयोजनाको आउटलेट देखि १५० मिटर तल पानी विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ् । चिमखोला स्थित रघुगंगा र बगर खोलाको दोभान मलाङमा विद्युतगृह निर्माण गर्न जग्गा ब्यवस्थापन गरिएको छ । 

तुदी पावरनै प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाटको पहुँचमार्ग र मजदुर क्याम्प निर्माण सुरु भएको छ । चिमखोला, पाखापानी र दग्नाम यो आयोजनाको प्रभावित क्षेत्र हुन् । संयुक्त उर्जा प्रालीले रघुगंगा गाउँपालिका– कुइनेमंगलेमा २१.३० मेगावाट क्षमताको ठुलोखोला जलबिद्युत आयोजना निर्माणको तयारी गरेको छ । 

छहरीमा बन्ने बाँध निर्माण स्थलसम्म पहुँचमार्ग खनेको ठुलोखोलाले पनि सुरुङ, बाँध र बिद्युतगृह निर्माणको तयारी गरेको संयुक्त उर्जा प्रालीका प्रतिनिधी अनुरोध रिजालले बताए । ठूलोखोला राहुघाटको सहायक नदी हो । 

प्रवासी म्याग्देलीहरुको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगंगा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलबिद्युत आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो । 

रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमंगलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलबिद्युत आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत बिकास विभागले जनाएको छ । 

राहुघाट र सहायक नदीहरुमा बन्ने जलविद्युत आयोजना निर्माणलाई गति दिन मौवाफाँट देखि दग्नाम, दर्मीजा, चिमखोला हुदै कुइनेमंगले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र संघीय सरकारले जलविद्युत आयोजनाहरुसँग साझेदारी गरेका छन् ।

म्याग्दी जिल्लाकै कठिन पहाड मानिने अजिंगर भीर फुटाएर सडक खन्न चालू आर्थिक वर्षमा गाउँपालिकाले एक करोड ५० लाख, प्रदेश सरकारले ५० लाख र जलविद्युत आयोजनाले दुई करोड रुपैयाँ बिनियोजन गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले आगामी माघ महिनाभित्र अजिंगर भीरमा सडकको ट्याक खुल्ने तयारी सहित धमाधम काम भैरहेको बताए । अजिंगर भीरमा चट्टान फुटाउने काम सकिएमा जलविद्युत आयोजनाको बाँधसँगै दर्मीजा, चिमखोला र कुइनेमंगले सिधा सडक सञ्जालमा जोडिनेछन् । 

रघुगंगामै निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको तीस प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ । तीन वटा अडिट (सुरुङसम्म पुग्ने पहुँचमार्ग) लकडाउन र बाढी पहिरोको असहज अवस्थामै सकिएको छ । रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले महामारी, प्राकृतिक बिपद् र चाडपर्वको समयमा पनि आयोजनाको काम नरोकिएको बताए ।

बाँधबाट सुरुङ खन्न अडिटको पोर्टल तयार भएको छ । सिभिल तर्फ ३० र इलेक्ट्रोमेकानिकल तर्फ दश प्रतिशत भौतिक प्रगति भएको प्रबन्ध सञ्चालक केसीले बताए । पिप्ले, अधेरीखोला र तिल्लेकीको अडिटबाट ५०० मिटर भन्दा बढी मुख्य सुरुङ खनिएको छ ।

पिप्लेमा ५८ मिटर गहिरो सर्च साफ्ट खन्नुपर्नेमा ३५ मिटर गहिरो खनिसकिएको छ । बाँधलाई जोड्ने सडक अन्तरगत झिँ र दग्नामको सिमाना बुग्ल स्थित राहुघाट नदीमाथि हालै ४० मिटर लामो मोटर चल्ने पुल निर्माण भएको छ ।

सिभिल ठेकेदारका ५०० जना जना मजदुर र कर्मचारीले राहुघाटमा काम गरिरहेका छन् । २०७४ मंसिर ५ गते रु. छ अर्बमा सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यो आयोजनाको सुरुङ, पहुँचमार्ग, विद्युतगृह र बाँध निर्माण स्थल रघुगंगा गाउँपालिका हो । भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलीयत ब्याजदरको ऋणमा राहुघाट निर्माण हुन लागेको हो ।

४५ महिनाको ठेक्का अवधि भएको आयोजनाको ३० महिना पुरा भएको छ । आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरिरहेको छ ।

कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो । २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रो लिमिटेड विद्युत प्राधिकरणको सहायक कम्पनी हो । गत फागुनमा पिप्लेमा आवास र प्रशासनिक प्रयोजनका लागि १० वटा भवन निर्माण सकिएको थियो ।

अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । २०७२ मा पुरानो ठेक्का तोडेपछि रोकीएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि २०७६ असार ७ गतेबाट सुरु भएको थियो ।

राहुघाट, म्याग्दी र आसपासका खोलाहरुमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युतलाई केन्द्रीय प्रशारण लाइनमा जोड्न रघुगंगा गाउँपालिका–३ अम्बाङमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । 

नेपाल विद्युत प्राधिकरणले मालीका गाउँपालीका ७ बिमको डाँडाखेत देखि राहुघाटसम्म प्रशारण लाईन र सबस्टेशन निर्माणको तयारी गरेको छ । बिमको डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण गरेर प्रशासनिक भवन र घेराबार निर्माण भइसकेको छ । अम्बाङमा ९० रोपनी जग्गा अधिग्रहण गरेर ब्यवस्थापनको काम सुरु भएको वडा अध्यक्ष जिबन मल्लले बताए ।

राहुघाट सबस्टेशनबाट कालीगण्डकी कोरीडोर अन्तरगत निर्माणको अन्तिम चरणमा पुगेको २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनबाट केन्द्रीय ग्रिडमा बिद्युत पठाउने योजना छ । दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशनको ९८ प्रतिशत बढी निर्माण सकिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।  

विद्युत विकास विभागका अनुसार म्याग्दी जिल्लाभर ७००.८३ मेगावाट क्षमताका १७ जलविद्युत आयोजनाले निर्माणको अनुमति लिएका छन् । ३५३.८ मेगावाट क्षमताका ११ वटा आयोजना निर्माणाधिन अवस्थामा छन् । 

३४६.०३ मेगावाट क्षमताका ६ वटा जलविद्युत आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले उत्पादन सुरु गरेको छ । ४२ मेगावाट क्षमताको मिस्ट्रिखोलाले आगामी जनवरी महिनाभित्र विद्युत उत्पादनको तयारी गरेको छ । 

८३.५ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा जलविद्युत आयोजना सर्वेक्षणको क्रममा रहेका विभागले जनाएको छ ।

अन्नपूर्ण पाेष्ट दैनिक

सन्ताेष गाैतम

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit