काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीहरूका लागि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मिति २०८३ असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश अनुसार कम्पनीले कायम चुक्ता पुँजी १ अर्ब १२ करोड २५ लाख ३२ हजार ४ २५ रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ५ करोड ३३ लाख २० हजार २९० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ । साथै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशतले हुन आउने रु. २८ लाख ६ हजार ३३१ नगद लाभांशका रूपमा स्वीकृतिका लागि साधारण सभामा पेस गरिनेछ ।
उक्त लाभांश पारित गर्नका लागि कम्पनीले आगामी २०८३ कात्तिक २० गते २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले २०८३ कात्तिक ११ गते (बुधबार) शेयर दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।
यसअनुसार कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन र बोनस शेयर प्राप्त गर्न योग्य हुनेछन् ।