विद्युत अपडेट

  • प्राधिकरण : ८८४२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५४६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४२०७ मे.वा.घन्टा
  • आयात : १५५ मे.वा.घन्टा
  • निर्यात : २१९६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २८६६९ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १७२९ मे.वा.
२०७९ मङ्सिर १७, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता उहिलेकाे खबर

काठमाडाैं । म आज झण्डै डेढ वर्ष अघिको मलेसियाको एउटा यात्राका बारेमा लेख्दैछु। शुरूमा त यो लेख लेख्न अल्छी गरेको थिएँ, म जलस्रोत र बाँध विधाको विद्यार्थीले एउटा कार्यक्रम विशेषको संस्मरण लेखेर पाठकलाई के दिन सकुँला र भन्ने लागेर “भैगो” भन्ठानेको थिएँ तर समय बित्दै जाँदा सन् २०१९ नोभेम्बरमा आफूले गरेको मलेसियाको एउटा भ्रमणबारे जे जानेको छु, त्याे लेख्नैपर्छ भन्ने लागिरह्यो ।

म क्यानाडा बस्छु। यतै काम गर्छु। यसो पछाडि फर्केर हेर्दा जलस्रोत र बाँधसम्बन्धी ज्ञानको खोजीमा हिँडेको २० वर्षभन्दा बढी भइसकेछ । बाँध र सिभिल इन्जिनियरिङको विषयमा केही ज्ञान र अनुभव पनि आर्जन गरिएछ । यसले मलाई रोजीरोटी र एउटा चिनारी दिएको छ । त्यसैले, जब कतै पनि यस विषयमा केही बोल्न, लेख्न र जानेका कुरा बाँड्न पाउँछु तब म आफैं दङ्ग पर्छु ।

मलाई देश र जनताको सेवा-सुविधासँग जोडिएको ज्ञानमात्र सार्थक ज्ञान हो भन्ने लाग्छ । यसैलाई मानव विकास वा दिगो विकास वा न्यायोचित विकास आदि भने पनि हुन्छ तर जब आफ्नो मातृभूमि नेपाललाई मैले जानेकै विषयमा अनेक अन्योल र व्यवधानहरूले गाँजेको देख्छु तब आफ्नै ज्ञानप्रति ग्लानी हुन्छ । त्यो ग्लानीको अलिकति कारण नेपालको अवस्था हो भने अलिकति चाहिँ मैले आफ्नो ज्ञान आफ्तो मातृभूमिका लागि प्रयोग गर्न नपाएको खिन्नताबोध पनि ।

मलाई यो नियात्रा लेख्न मन लाग्नुको कारण पनि अलिकति त खिन्नताबोधको खाडल भर्ने रहर पनि हो । सन् २०१९ नोभेम्बरमा मलेसियाली सरकारको निमन्त्रणामा ‘क्यानेडियन एक्स्पर्ट प्यानल’ को रूपमा मलेसिया जाने अवसर मिल्दा मभित्रको  ‘क्यानेडाली एक्सपर्ट’ भन्दा पनि ‘नेपाली मान्छे’ खुसी भयो । मलेसिया र अन्य देशका इन्जिनियरहरूलाई बाँधको सुरक्षा व्यवस्थापन तथा जोखिम न्यूनिकरण प्रक्रियाको तालिम दिने कार्यक्रमले मलाई नेपालमा त्यस किसिमका विशेषज्ञताहरूको आवश्यकता सम्झायो र कुनै दिन नेपालमा त्यस्तै कार्यक्रम गर्ने सपना देखायो।

पुल्चोक क्याम्पसमा इन्जिनियरिङ पढ्दादेखि नै मेरा मनमा बाँध सिभिल इन्जिनियरिङको एउटा जटिल संरचना र जलस्रोत विकासको आवश्यक एवम् दरो पूर्वाधार हो भन्ने कुरा बसिरहेकॊ थियो । यिनै कारणले म जलस्रोत र बाँधसम्बन्धी ज्ञानको खोजीमा लागेँ र त्यसै विषयमा उच्च अध्ययन गर्ने मौका पनि पाएँ । यसैले होला यो यात्राको बेला मेरो मस्तिष्कमा क्यानाडा र मलेसियाभन्दा पनि यो बाँध सम्मेलनमा नेपाललाई फाइदा हुने कति कुरा सिक्न पाइएला ? त्यो ज्ञान कसरी नेपाली बाँध विज्ञहरूसँग साट्न पाइएला भन्ने जिज्ञासा उत्पन्न भइरहेकाे थियो।

मलेसियाली सरकारको संयोजनमा भएको “इन्टरनेसनल कन्फेरेन्स अन ड्याम सेफ्टी एन्ड इन्जिनियरिङ २०१९” मा आफ्नो  कार्यपत्र प्रस्तुत गर्नुका साथै हाम्रो टोलीको मुख्य काम क्यानाडाको बाँध सुरक्षा सम्बन्धी नयाँ गाइडलाइनको तालिम दिनु थियो । २३ देशका इन्जिनियरहरूलाई बाँध सुरक्षा व्यवस्थापन, बाँधबाट हुन सक्ने जोखिम, त्यसको रोकथाम र न्यूनिकरण, आपतकालीन तयारी र उद्धार प्रक्रियामा तालिम दिनु पाउनु मेरा लागि गर्वको कुरा थियो ।

प्राविधिक पक्ष

मलेसियाली सरकारले यसरी अन्तर्राष्ट्रिय बाँध सुरक्षा विज्ञहरूसँगको सहकार्यमा गरेको यो कार्यक्रममा  ६५ देशको सहभागिता थियो । यो अन्तर्राष्ट्रिय भेलामा विकासोन्मुख एवम् विकसित देशहरूमा बाँध सुरक्षा व्यवस्थापन, बाँधबाट हुनसक्ने जोखिम, त्यसको रोकथाम र न्यूनिकरण, आपतकालीन तयारी र उद्धार प्रक्रियामा हालसालै के कस्ता आदर्श अभ्यास (बेस्ट प्राक्टिस) हरू प्रयोग भएका रहेछन् भन्ने जानकारी पाइयो । यहाँ “जानकारी पाइयो” भन्नुको अर्थ ती जानकारीहरू जस्ताको तस्तै पाठकसमक्ष पुर्याउने प्रयत्न गर्नु होइन, बरु ज्ञान र अनुभवको आदानप्रदानका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी हुने मौका सम्बन्धित विषयका विद्यार्थी र पेशाकर्मीहरूका कति महत्त्वपूर्ण हुन्छ भन्ने अनुभव बाँड्नु हो ।

धेरैजसो एसियाली देशहरूको सहभागिता भएको यस सम्मेलनमा अत्यधिक प्राकृतिक विपद्हरू ( भुइँचालो, बाढी, पहिरो) का कारण बढी जोखिमपूर्ण बाँधहरू भएका राष्ट्रका लागि उपगोगी हुने विषयहरूमा मन्थन गरियो । नेपालजस्तै उच्च भूकम्पीय  जोखिम भएका इन्डोनेसिया, चीन, कोरिया, भारत, पाकिस्तानले ठूला-ठूला बाँधका जोखिमलाई कसरी न्यूनिकरण गरेका छन् भन्ने जानकारी पनि उक्त सम्मेलनमा दिइएको थियो ।

चीनका विज्ञले हाम्रो जस्तो पहाडी मुलुकमा धेरैजसो सिल्टिङ रिभर बेसिनका नदीहरूले अधिक मात्रामा गेग्र्यान र बालुवा थुपार्ने हुँदा बाँध डिजाइनमा विशेष ध्यान दिनुपर्ने बताए, जसले मलाई हाम्रो कोसी बाँधको समस्याको सम्झना गरायो । लाओसका विज्ञले अन्तर्राष्ट्रिय सीमावर्ती बाँधका सबै नियमहरू पालना नभएकाले  लाओसमा बाँध भत्किँदा कम्बोडियासम्मै धनजनको ठूलो क्षति भएको बताए । यसै परिप्रेक्षमा विज्ञहरूले बाँध निर्माणमा अन्तर्राष्ट्रिय प्राविधिक एवम् सामाजिक क्षेत्रमा न्यूनतम मानकहरूको पालना एवम् राम्रो बाँध सुरक्षा व्यवस्थापन कार्यक्रम लागू गर्नुपर्ने कुरा उदाहणसहित पुष्टि गरे, जसले गर्दा सार्वजनिक सुरक्षामा वृद्धि हुनुका साथै बाँधको योजनादेखि सञ्चालनसम्म आउनसक्ने प्रतिकूल प्रभावका सम्भावना कम हुने गर्दछन् ।

उक्त कार्यक्रमको प्राविधिक सत्रमा कोरिया र चीनका विज्ञहरूले कसरी सुरक्षित बाँधहरूले देशको राष्ट्रिय समृद्धिमा टेवा पुर्याउँछन् भन्ने कुरालाई कूल गार्हस्थ उत्पादन (जिडिपी) को मापनबाट व्याख्या गरे । अन्य देशका विज्ञहरूले सुरक्षित बाँधहरूले जलविद्युत, खानेपानी, सिँचाइ, बाढी नियन्त्रण एवम् जलपर्यटकीय क्षेत्रमा कसरी सहयोग गर्दछन् भन्ने कुरा प्रस्ट पारे । अमेरिका, क्यानाडा र अस्ट्रेलियाका विज्ञहरूले असुरक्षित बाँध भत्किएर पर्न गएको अर्बौंको नोक्सानी एवम् मानवीय क्षतिको उदाहरणसहित बेलिबिस्तार लगाए । उनीहरूले आफ्नो देशमा भएका बाँध सुरक्षाको व्यवस्थापन र बाँधबाट हुने सम्भाव्य जोखिम न्यूनीकरणका अवधारणाहरू पनि प्रस्तुत गरेका थिए ।

ब्राजिलका विज्ञले सन् २०१९ मा बाँध भत्किएर २५० जनाभन्दा बढी मानिसको ज्यान गएपछि बाँध सुरक्षा  व्यवस्थापनमा हेलचक्र्याइँ गरेको भनेर संस्थाका केही जिम्मेवार उच्च अधिकारीहरूलाई प्रहरीले पक्राउ गरी आपराधिक अनुसन्धान गरिरहेको जानकारी गराए । क्यानाडाका विज्ञहरूको प्यानलले तालlम दिने विषय पनि यही नै थियो, जसमा हामीले माथिका कुराहरूलाई जोड दिँदै, सुरक्षित तरिकाले बाँध निर्माण र सञ्चालन हुन सकेमा राष्ट्र, जनता र लगानीकर्ता सबैले पर्याप्त फाइदा लिन सक्ने कुराको अन्तर्राष्ट्रिय अनुभव र उदाहरण सहित व्याख्या गर्‍यौँ ।

क्यानाडामा अभ्यास गरिने बाँध व्यवस्थापन चक्रका अनुसार यसका छ चरणहरू हुन्छन्, ती हुन्:

१) सुदृढ नीति र उद्देश्य

२) स्पष्ट योजना

३) अनुशासनपूर्ण कार्यान्वयन

४) निगरानी र मूल्याकन

५) परीक्षण, समीक्षा र प्रतिवेदन

६) निरन्तर सुधार

यसको व्याख्या गर्दा सरकारी वा निजी क्षेत्रका एसियाली  बाँध उद्यमीहरूले निकै उत्सुक भएर सुनिरहेका थिए । यस्ता जानकारीहरू कमलो भूभागमा नदीहरू बग्ने नेपालका लागि पनि त्यत्तिकै फाइदाजनक हुने देखिन्छ।

खुला र बन्द सत्रमा भएका विज्ञहरूका बहस र सम्मेलनबाहेक कार्यक्रम आयोजकहरूले मलेसियाली सरकारको प्रगति देखाउने तथा मनोरञ्जनात्मक एवम् प्राविधिक भ्रमणका कार्यक्रम पनि राखेका थिए। यसै क्रममा  हाम्रो टोली अयर इताम बाँधको  प्राविधिक भ्रमणमा निस्कियो । अन्तर्राष्ट्रिय ठूला-ठूला बाँध संयोजनका अध्यक्ष माइकल रजर्स सहितको  प्राविधिक टोलीले यो बाँधको बारेमा स्थानीय विज्ञहरूसँग धेरै नै रमाइलो र ज्ञानवर्द्धक अन्तरक्रिया गर्ने मौका पायो ।

पेनाङभित्र सुन्दर जर्जटाउन  शहरको शिरमा धेरै सावधानीपूर्वक बनाइएको उक्त बाँध कथंकदाचित् भत्किएमा पूरै शहर डुबानमा पर्ने र करिब ५ लाख बासिन्दाहरू घरबारविहीन हुनसक्ने भएकाले  त्यसको सुरक्षा चौबिसै घण्टा सेनाबाट गरिने रहेछ । पेनाङ टापुकै सबैभन्दा उचाईमा रहेको अयर इताम बाँध जर्जटाउन खानेपानीको महत्त्वपूर्ण पूर्वाधार रहेछ । त्यहाँ पुगेपछि मलाई हाम्रो कुलेखानी बाँधको सम्झना आयो । हाम्रो जस्तो भू-बनोट भएको देशमा पनि यहाँ जस्तै ठूला-ठूला बाँधको माथिल्लो तटीय क्षेत्रमा बाढी तथा पहिरो आउँदा, ठूलो भूकम्प जाँदा, हिमताल भत्किँदा तथा अन्य प्रतिकूल अवस्थामा विषम परिस्थिति उत्पन्न हुनसक्छ। त्यसैले बाँधको क्षेत्र र विशेषतः तटीय क्षेत्रमा विशेष निगरानी राख्नुपर्छ। त्यस अवस्थामा आवश्यक देखिनासाथ आपतकालीन उद्धार प्रक्रियामा जानुपर्छ, जसका लागि पूर्वतयारीको आवश्यकता पर्छ ।

विश्व बैंकको बाँध सुरक्षा व्यवस्थापनका सल्लाहकार रिचार्ड र म मिलेर लेखेको हाम्रो कार्यपत्रमा नेपालजस्ता दैवी प्रकोप बढी हुने पहाडी मुलुकहरूका बाँध सुरक्षाका बारेमा केन्द्रित थियो । यसको विषय थियो “रिस्क इन्फर्मड डिसिजन मेकिङ इन ड्याम सेफ्टी म्यानेजमेन्ट” अर्थात् बाँधको सुरक्षा व्यवस्थापनमा जोखिमको सूचना सहितको निर्णय प्रक्रिया । हामीले कार्यपत्र प्रस्तुत गरिसकेपछि सायद  जानकारी मूलक लागेर नै होला हाम्रो कार्यपत्र मलेशियाको राष्ट्रिय प्राविधिक पत्रिकामा प्रकाशित गर्न लिखित अनुमति नै मागे । यो हाम्रो लागि त अझ खुसीकाे कुरा भयो ।

नेपालका लागि आवश्यक पक्ष

मलाई कुनै पनि कार्यक्रमको अन्तिम सत्र अरू सबैभन्दा महत्त्वपूर्ण लाग्छ । अन्तिम सत्रमा हाम्रो टेबलमा क्यानाडाका विज्ञ टोली बाहेक  बेलायतबाट निस्कने बाँध सम्बन्धी प्रसिद्ध पत्रिका “द इन्टरनेसनल जर्नल अफ हाइड्रो पावर एन्ड ड्यामस्” कि चिफ एडिटर एलिसन बर्टेल पनि थिइन् । हामी हाम्रो पूरानो चिनापर्चीलाई पुनर्जीवित गर्दै अन्य मुख्य अतिथितिहरूको प्रतिक्षामा थियौं ।

सबै अन्तर्राष्ट्रिय सहभागी/प्रतिनिधिहरू र मलेसियाका जलस्रोतका  नीति निर्माताहरू आइसकेपछि एकातिर संस्कृतिक टोलीहरूले विभिन्न झाँकी सहित स्थानीयपन झल्काउने गीत, संगीत र नृत्यहरू प्रस्तुत गरेर सहभागी/प्रतिनिधिहरूलाई मन्त्रमुग्ध पार्दैथिए भने अर्कातिर व्यावसायिक  शेफहरूले  उम्दा खानाका परिकारहरू टेबल टेबलमा सजाउउदै थिए।  यसै क्रममा योजना अनुसार नै पेनाङका मुख्यमन्त्री र मलेसियाका जलस्रोत मन्त्री पनि आइपुगे । भारतीय मूलका जस्ता लाग्ने जलस्रोत मन्त्री डा. जेभियर जयकुमारले कार्यक्रमको  उद्घाटन सत्रमा नै बाँध सुरक्षा व्यवस्थापनमा आफ्नो दरो प्रतिबद्धता भएको बताएका थिए ।

युवा मुख्य मन्त्री याव तुवान चो कोन येओले पनि आफ्नो देशका जलस्रोत नीतिनिर्माताहरू, बाँध प्रोफेसनलहरू, आमन्त्रित बौद्धिक वर्ग एवम् अन्तर्राष्ट्रिय बाँध सुरक्षा सहभागी/प्रतिनिधिहरूलाई सम्बोधन गर्दै जलस्रोत र बाँध सुरक्षा व्यवस्थापनमा र जोखिम न्यूनिकरणमा आफूले सरकारी, गैरसरकारी एवं विश्वविद्यालय तहमा सक्दो सहयोग गर्ने घोषणा गरे । उनकै दरो समर्थनका कारणले आज मलेसियामा बाँध सुरक्षा व्यवस्थापनको पहिलो निर्देशिका तयार भएको र यस्तो ठूलो कन्फरेन्स सफल हुन सकेको कुरा कन्फरेन्सकी अध्यक्ष प्रोफेसर लारियाले बताइन्।

यही अन्तिम सत्रमा म भने मैले नेपालका लागि के सिकेँ भन्ने कुरा मनमा राखेर विभिन्न देशका प्रतिनिधि र विज्ञहरूसित कुराकानी गरिरहेँ ।

हाम्रो जस्तै प्राकृतिक जोखिम बढी हुने पहाडी मुलुकमा बन्ने बाँधका लागि मलेसियाको उक्त प्राविधिक कन्फेरेन्समा आदानप्रदान भएका उपयोगी ज्ञान, अन्तर्राष्ट्रिय अनुभव एवम् आदर्श अभ्यासहरू सारांशमा यसप्रकार उल्लेख गरेकाे छु :

१) नेपालमा साना, मझौला एवम् ठूला सबैखाले जलस्रोतका आयोजनाहरू लागू भएमा देशको जिडिपीले तीव्र गति पकड्नेछ र जनताको समृद्धिको सपना चाँडै पूरा हुनसक्छ । तर, मझौला र ठूला बाँधहरू  बनाउदा भने बाँध सुरक्षा र जोखिम न्यूनिकरणका प्रक्रियाहरु सावधानपूर्वक लागू गरिनुपर्छ ।

२) हरेक राज्यले बाँध सुरक्षा व्यवस्थापन कार्यक्रम, नीति तथा नियमहरूको विकास गर्न र त्यसको कार्यन्वयन गर्न पूर्ण सहयोग गर्नु पर्छ।  यसो गर्दा विश्वभर उपलब्ध बाँध सुरक्षाका अवधारणा र मान्यताहरूलाई समेत आधार मान्नुपर्छ ।

३) देशको भू-बनोट र भौगोलिक अवस्थालाई अध्ययन गरेर बाँध सुरक्षा व्यस्थापन नीति तयार गरी बाँध जोखिम व्यस्थापन लागू गर्नुपर्छ, जसले गर्दा बाँधको सम्भावित दुर्घटनाको न्यूनिकरण र दुर्घटनाबाट हुने विपद्को असरलाई कम गर्न सकिन्छ ।

४) नेपालको भौगोलिक अवस्था र नदीका प्रकृति अनुसारको सुरक्षित बहुउद्देश्यीय ठूला बाँध डिजाइन गर्न सक्षम प्राविधिक जनशक्ति उत्पादनमा राष्ट्रले जोड दिनुपर्छ ।

५) बाँध निर्माणका विभिन्न चरणहरू जस्तैः योजना, स्थान छनोट, डिजाइन, निर्माण र सञ्चालनका प्रक्रियाहरू पारदर्शी हुनुपर्छ र यी सबै चरणहरूमा सार्वजनिक सुनवाई अनिवार्य गरिनुपर्छ।

६) दुई देशका सीमामा बन्ने वा दुई देशलाई असर पर्ने सीमावर्ती योजनाहरू दुई देशबीच सहमति गरी सहयोग, सहकार्य, साझेदारी, सूचना आदानप्रदान, न्यायोचित स्रोत परिचालन, क्षति शून्यता जस्ता अन्तर्राष्ट्रिय अभ्यास  र मान्यताको आधारमा गरिनुपर्छ।

७) सीमावर्ती योजनाहरू बन्नु पहिले नै दुवै सरोकारवाला देश र त्यसकाे फाइदा/बेफाइदाबाट प्रभावित हुने क्षेत्रका जनताको सन्तोषजनक मतबाट यसलाई पारित गरेर मात्र बन्न सुरु हुनुपर्छ ।

८ )  बाँधको जोखिमबाट प्रभावित हुन सक्ने जनता, एवम् बाँध सुरक्षा, आपतकालीन प्रक्रिया र उद्धारमा खटिने व्यक्तिहरू, बाँध सुरक्षासँग सम्बन्धित कर्मचारी र सैनिकहरूलाई जलविद्युत परियोजनासँग सम्बन्धित चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, आपतकालीन व्यवस्थापनको औपचारिक तालिम दिने, र नियमित पूर्वाभ्यास गराउनुपर्छ ।

९ ) नेपाल सरकारले अन्य सरकार एवं स्वदेशी प्राज्ञहरूसँग सहकार्य गरी विद्यालय र विश्वविद्यालय तहमा बाँध सुरक्षा, जोखिम न्यूनीकरण र आपतकालीन व्यवस्थापनका विषयहरू अध्ययन/अध्यापन गराउनुपर्छ।

१० ) देशका प्रोफेसनल संस्थाहरू जस्तो कि नेपाल इन्जिनियर्स एसोसियन, इन्जिनियरिङ परामर्शदाता, स्वतन्त्र विद्युत उत्पादक संघ जस्ता पेशागत समूहहरूले बाँध सुरक्षामा विदेशमा काम गरिरहेका विज्ञहरू तथा अन्तर्राष्ट्रिय बाँध सुरक्षा एजेन्सीहरूसँग सहकार्य गरेर विदेशमा सफल भएका बाँध सुरक्षा व्यवस्थापन एवम् जोखिम न्यूनीकरणका अभ्यासहरूलाई तीव्रताका साथ नेपालमा भित्र्याउनुपर्छ ।

यसरी, अत्यन्त ज्ञानवर्द्धक, मनोरञ्जक एवम् अविष्मरणीय हिसाबले कार्यक्रम सम्पन्न भयो । राजनीतिज्ञ, नीतिनिर्माता, लगानीकर्ता र विज्ञहरूबीच खुला र इमानदारीपूर्ण बहस र सहकार्य गर्ने  प्रतिबद्धताको यो एउटा उदाहरण नै बन्यो । यसले, इन्जिनियरिङको जटिल संरचना बाँधबाट हुन सक्ने सम्भाव्य खतरालाई उपयुक्त हिसाबले सम्बोधन र व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा सबैको आत्मविश्वास बढ्यो । यसले गर्दा, बाँध निर्माणका लगानीकर्ता अर्थात् बाँध उद्यमीहरूलाई पनि लगानीको जोखिम कम हुने र भएको बाँधका जोखिमलाई व्यवस्थापन गर्न पनि सजिलो हुने रहेछ ।

अन्त्यमा

यसरी ज्ञान विज्ञानमा रमाउने र योगदान गर्न सर्वथा रुचाउने एउटा नेपाली गाउँले ठिटो, जलस्रोत र बाँधसम्बन्धी ज्ञानको भोकमा हराउँदा हराउदै यहाँसम्म आइपुगेको हो । हुन त यसै ज्ञानको खोजीमा क्यानाडामा सरकारी जागिर खाने क्रममा यस विषयका विश्वप्रसिद्ध विशेषज्ञहरूसँग काम गर्ने अवसर पनि पाइयो । अत्याधुनिक बाँधहरू कसरी बनाउने, बाँधहरूबाट के कस्ता फाइदा लिने, जोखिम न्यूनिकरण कसरी गर्ने र आपतकालमा वरिपरिका बस्ती र बासिन्दालाई कसरी सुरक्षित पार्ने भन्ने जस्ता गहन विषयमा तालिम लिने र दिने दुवै अवसरहरू प्राप्त भए ।

अहिले विकसित देशका आदर्श अभ्यास तथा यस्ता अन्य अन्तर्राष्ट्रिय उदाहरणहरू साट्नु गर्नु मेरो भोक-प्यास बनेको छ । त्यसैले, यसरी विकसित देशमा संगालेको जलस्रोत र बाँधसम्बन्धी ज्ञान आफ्नो देशको जलस्रोतको नीतिनिर्माण, विकास र सुरक्षामा पनि प्रयोग होस् भन्ने मेराे चाहना रहेकाे छ ।  मलेसियको कार्यक्रमपछि बाँध सुरक्षामा यहाँको सरकारको गम्भीर प्रतिबद्धता, नीतिनिर्माता एवम् विज्ञहरूको चासो र प्रगतिको सन्देश नेपालमा पनि पुर्‍याउनुपर्छ भन्ने मलाई लागेको छ । अहिलेसम्म नेपालमा मानवनिर्मित ठूला बाँधहरू धेरै नभए पनि केही वर्षदेखि अरुण तेस्रो, बूढीगण्डकी, पश्चिम सेती जस्ता थुप्रै जलाशययुक्त बहुउद्देश्यीय बाँधहरू बनाउने योजना बनेकाे छ, त्यसैले नेपाललाई पनि मलेसियाको जस्तो  कार्यक्रमबाट निकै फाइदा हुन सक्ने कुरामा कुनै दुई मत देखिँदैन ।

(लेखक, बाँध इन्जिनियर हुन् उनी क्यानडाकाे प्रान्तीय सरकारकाे उच्च सरकारी सेवामा छन्)

याे लेख पहिलाे पटक सन् २०२१ मा हिमाल खबरमा प्रकाशित भएकाे थियाे । यसलाई ऊर्जा खबरले लेखकसँगकाे परामर्श तथा सहमतिमा केही सम्पादन गरेर यहाँ पुनः प्रकाशन गरेकाे छ ः सम्पादक

प्रतिक्रिया दिनुहोस

© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit