विद्युत अपडेट

  • प्राधिकरण : ७७९० मे.वा.घन्टा
  • सहायक कम्पनी : ७७८३ मे.वा.घन्टा
  • निजी क्षेत्र : २५७९१ मे.वा.घन्टा
  • आयात : ४०६८ मे.वा.घन्टा
  • निर्यात : २७७० मे.वा.घन्टा
  • ट्रिपिङ : ५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५९८२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१५७ मे.वा.
२०८३ ब‌ैशाख ३१, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
इपान नयाँ निर्वाचनको माहोलमा जुट्दै निजी क्षेत्र

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी जेठ २९ गते हुने नयाँ कार्यसमिति निर्वाचनका लागि उत्तम भ्लोन लामाले आफ्नो टिम घोषणा गरेका छन् । ऊर्जा उद्यमीहरूको साझा छाता संगठनको रूपमा रहेको इपानलाई थप गतिशील र संस्थागत बनाउने उद्देश्यसहित भ्लोनले वरिष्ठ उपाध्यक्षसहितको प्यानल सार्वजनिक गरेका हुन् ।

बुधबार (वैशाख ३० गते) आयोजित एक कार्यक्रमका बीच घोषित प्यानलमा ऊर्जा क्षेत्रमा लामो अनुभव सँगालेका उद्यमीहरू समेटिएका छन् । इपानको विधानअनुसार वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही बमोजिम डाँगीको नेतृत्वमा रहने आगामी कार्यसमितिका लागि भ्लोनले आफ्नो बलियो टिम मैदानमा उतारेका छन् । लामा पक्षमा उभिएका करिब ९० प्रतिशत उद्यमी वर्तमान कर्यसमितिभित्रकै छन् ।

लामाले प्यानल घोषणासँगै इपानले आगामी कार्यकालमा लिनुपर्ने कार्यदिशा, क्षेत्रगत सुधार र सुशासनलाई समेटेर 'इपान भिजन-२९' समेत सार्वजनिक गरेका थिए । इपान विधान अनुसार आगामी निर्वाचनबाट लामा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएमा अर्को कार्यकालका लागि उनी स्वतः अध्यक्ष हुनेछन् ।

टिम घोषणा कार्यक्रममा पूर्व-अध्यक्षहरू डा. सुवर्णदास श्रेष्ठ र कृष्णप्रसाद आचार्यले इपानको गरिमा र यसले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए । उनीहरूले निजी क्षेत्रका विद्यमान समस्या समाधान गर्न र सरकारसँग नीति निर्माणका तहमा प्रभावकारी समन्वय गर्न नयाँ कार्यसमिति सक्षम हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ग्रिन इनर्जी इन्टरप्रेनर्स नेपाल (ग्रीन) का अध्यक्षसमेत रहेका ऊर्जाविज्ञ सूर्यप्रसाद अधिकारीले विगतको तुलनामा इपानले आफ्ना मुद्दाहरू भुल्दै गएको टिप्पणी गरे । इपानलाई समग्र निजी क्षेत्रको हितमा केन्द्रित गर्दै अध्ययन अनुसन्धानमा समेत केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको धारणा थियो । आगामी कार्यसमितिका लागि घोषित प्यानलले त्यसतर्फ काम गर्न उनले सुझाव दिएका थिए ।

अघिल्ला निर्वाचनमा केही व्यक्तिको स्वार्थका कारण इपानको दायर खुम्चिएको, अधिकारी लगायत व्यक्तिहरू अलग्गिएर ग्रीन स्थापना गरेको विषयसमेत गम्भीरताका साथ लिँदै लामाले यसमा दुवै संस्थाको पुनर्मिलन र सहकार्यको प्रयास गरेका छन् । आगामी दिनमा निजी क्षेत्रका मुद्दा र अध्ययन अनुसन्धानका क्षेत्रमा ग्रिन र इपान मिलेर अगाडि बढ्न सकिने विषयमा समेत छलफल भएको थियो ।

निजी क्षेत्रको लगानी सुरक्षा र ऊर्जा विकासका अवरोध हटाउन इपानले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको धारणा थियो । इपान अध्यक्ष गणेश कार्कीले नयाँ प्यानल घोषण भए पनि सहमतिमै कार्यसमिति चयन हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा राजनीतिक ऐक्यवद्धता समेत देखिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीकृष्ण न्यौपानेले घोषित कार्यसमितिलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै ऊर्जा क्षेत्रको विकासका लागि संसद र नीतिगत तहमा आवश्यक सहयोग गर्ने बताए ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको हकहित संरक्षण गर्ने मुख्य उद्देश्य बोकेको इपानको यो निर्वाचनलाई ऊर्जा क्षेत्रले निकै चासोका साथ हेरेको छ । नयाँ कार्यसमितिले जलविद्युत, सौर्य ऊर्जा र समग्र ऊर्जा क्षेत्रको नीतिगत सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

उत्तम भ्लोनद्वारा घोषित कार्यसमिति
•    वरिष्ठ उपाध्यक्ष: उत्तम भ्लोन लामा
•    उपाध्यक्षहरू: उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, सुसन कर्माचार्य, बलराम खतिवडा, विक्रम विष्ट
•    महासचिव: टि.एन. आचार्य
•    उपमहासचिव: कविता पोख्रेल
•    सचिवहरू: कुवेरमणि नेपाल, सुमनकुमारी जोशी, अभिज्ञा मल्ल, शंकर बस्याल, विजयमोहन भट्टराई
•    कोषाध्यक्ष: नरेन्द्रबल्लभ पन्त
•    सदस्यहरू: इशा श्रेष्ठ, कदम केसी, जगतबहादुर पोखरेल, बर्नाद लामिछाने, प्रतिभा ज्ञवाली

प्रतिबद्धतापत्र (इप्पान भिजन-२०२९) को मुख्य-मुख्य विषयहरू

१. सार

यस प्रतिबद्धतापत्रको मूल ध्येय इप्पानलाई एक सशक्त, निर्णायक र नीति अनुसन्धानमा आधारित संस्थाको रूपमा विकास गरी नेपाललाई आगामी दशकभित्र दक्षिण एसियाकै ऊर्जा केन्द्र (पावर हाउस) बनाउनु हो । साथै, सरकारले अघि सारेको १० वर्षमा ३०,००० मेगावाट विद्युत उत्पादनको लक्ष्यमा निजी क्षेत्रको योगदान सुनिश्चित गर्नु यसको अर्को महत्वपूर्ण उद्देश्य हो । 

२. नीतिगत तथा कानुनी सुधार

•    एकद्वार प्रणाली: वन, वातावरण र जग्गा प्राप्तिको प्रक्रियालाई सरलीकरण गर्दै एक वर्षभित्र सम्पन्न गर्ने गरी 'One-Window Clearance' प्रणाली लागू गराउन दबाब दिने । 
•    अनुमतिपत्रको अवधि: जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधिलाई ३५ वर्षबाट बढाएर ५० वर्ष पुऱ्याउन पहल गर्ने । 
•    नयाँ विधेयक र निर्देशिका: नयाँ विद्युत विधेयकलाई निजी क्षेत्रमैत्री बनाउन हस्तक्षेप गर्ने र अन्तरदेशीय विद्युत व्यापार निर्देशिका तयार गर्न सरकारलाई सहयोग गर्ने । 

३. विद्युत खरिद सम्झौतामा सुधार

•    अवरोध हटाउने: रोकिएका करिब १२,००० मेगावाट आयोजनाहरूको PPA तत्काल खुलाउन पहल गर्ने । 
•    लचकदार व्यवस्था: 'Take or Pay' को सुनिश्चितता गर्ने, स्टोरेज आयोजनाका लागि छुट्टै दर तोक्ने र मूल्य वृद्धिका आधारमा PPA दर पुनरावलोकन गर्न सरकारलाई दबाब दिने । 

४. लगानी तथा वित्तीय व्यवस्थापन

•    सहुलियत ऋण: ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रको रूपमा ७% भन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिलाउन पहल गर्ने । 
•    पुँजी बजार र रिफाइनान्सिङ: हकप्रद सेयर (Right Share) निष्कासनमा सहजीकरण गर्ने र रुग्ण आयोजनाका लागि विशेष पुनर्कर्जा प्याकेज ल्याउन भूमिका निर्वाह गर्ने । 

५. प्रसारण लाइन र बजार

•    निजी क्षेत्रको सहभागिता: सार्वजनिक निजी साझेदारी (PPP) मोडलमा निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माणको जिम्मा दिन पहल गर्ने । 
•    विद्युत व्यापार: निजी क्षेत्रलाई विद्युत व्यापार (Trading License) मा सहभागी गराउने र छिमेकी मुलुक भारत तथा बंगलादेशमा विद्युत निर्यातका लागि कुटनीतिक पहल गर्ने । 

६. संस्थागत सुदृढीकरण (इपान रूपान्तरण)

•    अनुसन्धान केन्द्र: इप्पानलाई केवल दबाब समूह मात्र नबनाई तथ्यमा आधारित 'नीति अनुसन्धान केन्द्र' (Research Center) को रूपमा विकास गर्ने । 
•    प्रादेशिक संरचना र पारदर्शिता: सातै प्रदेशमा इप्पानको उपस्थिति गराउने, सदस्यहरूको लागि कानूनी तथा प्राविधिक सहयोग उपलब्ध गराउने र इप्पानको आफ्नै भवन निर्माण गर्ने । 

७. सङ्कल्प

अबको नेतृत्वले "विरोध होइन-समाधान," "नारा होइन-संरचना," र "व्यक्तिगत होइन-संस्थागत नेतृत्व" दिने संकल्प गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३