काठमाडौँ । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनका साथै जलविद्युत् आयोजना, प्रसारण लाइन र वितरण संरचनाहरूमा ठूलो क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
बाढीका कारण प्राधिकरणका उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित रसुवागढी, चिलिमे, त्रिशुली ३ 'ए', त्रिशुली ३ 'बी' हब २२० के.भी. सबस्टेशन, त्रिशुली तथा देवीघाट जलविद्युत् केन्द्र एवम् विभिन्न वितरण संरचनाहरू क्षतिग्रस्त भएका छन् । जसकाकारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ । प्राधिकरणले अवरुद्ध विद्युत् आपूर्ति सहज र नियमित बनाउन हरसम्भव प्रयास गरिरहेको जनाएको छ ।
प्राकृतिक प्रकोपका कारण बेपत्ता तथा प्रभावित भएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्राधिकरणले सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित भई सहयोग गर्न अनुरोध गरेको छ ।
साथै, बाढीको जोखिम अझै कायम रहन सक्ने भएकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन आग्रह गरिएको छ । प्राधिकरणले आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार र अफवाहको पछि नलाग्नसमेत सर्वसाधारणमा अपील गरेको छ ।